मोरङ-३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा,कसले मार्ला बाजी ?  

मोरङ-३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा,कसले मार्ला बाजी ?  


समयपथ
0
Shares

बेलबारी । मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । दसैँ, तिहारजस्ता मूख्य पर्व सकिएसँगै चुनावी कार्यक्रम र माहोल ह्वात्तै बढेको छ ।

प्रदेश नम्वर एकअन्र्तगत मोरङ जिल्लामा छ वटा निर्वाचन क्षेत्र रहेका छन् । यहाँका अन्य निर्वाचन क्षेत्र जस्तै क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा र गतिविधिलाई निकै उत्सकुतापूर्वक हेरिएको छ ।

गणतन्त्र घोषणपश्चात् विसं २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) बाट सावित्रीकुमार काफ्ले विजयी बनेकी थीइन । दोस्रो संविभानसभाको निर्वाचन, २०७० मा नेपाली कांग्रेसबाट दिलिप गच्छदार विजयी बन्न सफल भए । गत २०७४ सालको आमनिर्वाचनमा नेकपा (एमाले)बाट भानुभक्त ढकाल विजयी बनेका थिए । गत निर्वाचनमा एमालेका भानुभक्त ढकाल र नेपाली कांग्रेसका सुनिल शर्माबीच मुख्य प्रतिस्पर्धा रहेको थियो भने यसपटक पनि ढकाल र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । गत निर्वाचनमा खसेको ९१ हजार छ सय ६ मतमध्ये ढकालले ४२ हजार चार सय १३ मत ल्याई विजयी बन्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिल शर्माले ४० हजार पाँच सय छ मत ल्याउनुभएको थियो ।

सोही क्षेत्रको प्रदेशसभा अन्तर्गत–१ मा कांग्रेसका सूर्यमा राज राई विजयी भएका थिए । उनले २० हजार दुई सय ९९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गीता तिम्सीनाले १९ हजार तीन सय ९९ मत ल्याएकी थिएन । त्यस्तै सोही क्षेत्रको प्रदेशसभाअन्तर्गत खमा एमालेबाट राजकुमार ओझा विजयी बनेका थिए । ओझाले २२ हजार आठ सय २० मत ल्याउदा उनका प्रतिद्वन्द्वी कांग्रेसका ललित श्रेष्ठले २० हजार दुई सय ८७ मत ल्याएका थिए ।

मोरङको क्षेत्र नम्बर ३ मा सङ्घ र प्रदेशमा गरी ३३ जना उम्मेदवार चुनावी मैदानमा छन । तीमध्ये १९ जना स्वन्तन्त्र उम्मेदवार छन । नेमकिपाका ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले)का उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनका विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती पनि चुनावी मैदानमा छन ।

त्यसैगरी स्वतन्त्रमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन ।

आगामी निर्वाचनमा प्रदेश १ तर्फ कांग्रेसका शेखरचन्द्र थापा एमालेका दिलिपकुमार राई, राप्रपाका तिर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी रहेको छ भने दुईतर्फ एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा(एकिकृत समाजवादी)बाट लक्ष्मीकुमार श्रेष्ठ र राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाँउपालिका र पथरी शनिस्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । प्रदेश–१ मा ७५ हजार तीन सय ९३ कुल मतदाता सङ्ख्या रहेकोमा ३८ हजार छ सय १२ महिला मतदाता छन् । त्यस्तै प्रदेशसभाको २ तर्फ ७४ हजार दुई सय ४० कुल मतदाता सङ्ख्या रहेकोमा ३८ हजार छ सय २७ महिला मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताए । क्षेत्रभर ४८ मतदान केन्द्र रहनेछन् जसमध्ये सबैभन्दा बढी बेलबारीमा २८, पथरीशनिस्चरेमा १, सुन्दरहरैँचामा १२ र कानेपोखरीमा आठ स्थानमा रहने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार ४१० र जनता समाजावादी पार्टीको ४६३ मत आएको थियो । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई हजार १२१ मत छ । अर्कातर्फ कांग्रेसको ३६ हजार ९१६, माओवादीको सात हजार तीन सय ७३, एकीकृत समाजवादीको एक हजार ८५५ मत रहेको छ । सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ ।

कांग्रेसका उम्मेदवार सुनिल शर्मा ‘स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउछन । “अघिल्लो चुनावमा थोरै मतले मात्रै हारें, यसपटक गठबन्धनसमेतको साथ रहेकाले दोब्बर मतले जित्छु”, शर्मा बताउछन । एमालेका उम्मेदवार भानुभक्त ढकालले अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानुन बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको बताउँदै यस पटक पनि सहजै आफ्नो जित रहने बताए ।

यहाँ राप्रपाबाट नायिका रेखा थापाको उम्मेदवारी रहेको छ । अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उम्मेदवारी दिएको उनको भनाइ छ । उनी पनि घरदैलो र जनतासँग भेटघाट एवम घरदैलोमा व्यस्त छिन । आँउदो निर्वाचनमा पहिलो पटक भोट हाल्ने तयारीमा रहेका बेलबारी ११ का साभार श्रेष्ठ असल, भ्रष्टचार विरोधी अनि आम जनभावना बुझ्ने उम्मेदवारलाई भोट हाल्ने बताउछन । यस निर्वाचन क्षेत्रमा सुकुम्बासी समस्या मुख्य रहेकोले यसको दिर्घकालीन समाधान गरीदिन उम्मेदवारसँग माग रहेको पथरीशनिस्चरेकी माया राई बताउछिन  ।

विवेक मिश्र