मेलम्ची। सिन्धुपाल्चोक क्षेत्र नं २ को निर्वाचन रोचक बन्दै गएको छ । प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका कारण यो पटकको निर्वाचन रोचक बनेको हो ।
यस क्षेत्रमा २०७० र २०७४ मा निर्वाचित एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तामाङ यसअघिको जीतलाई कायम राख्ने दाउमा छन भने बस्नेत यो क्षेत्रमा खाता खोल्ने दाउमा छन । नेकपा (एमाले)को तर्फबाट तामाङ एक्लै चुनावी मैदानमा होमिएका छन भने बस्नेत लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन ।
सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नका लागि अग्निप्रसाद सापकोटा र मोहन बस्नेत दुवैको बलियो जिकिर थियो । सभामुखसमेत रहेका सापकोटा २०७४ मा बस्नेतलाई पराजित गरेर माओवादी केन्द्रबाट निर्वाचित हुएका थिए ।
सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक- १ पायो भने नेपाली कांग्रेसले सिन्धुपाल्चोक-२ पायो । माओवादीले माधवप्रसाद सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।
गत स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सिन्धुपाल्चोक–२ मा एमाले पहिलो दल बनेको थियो । एमालेले ३१ हजार सात सय ७६ मत पाउँदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २९ हजार तीन सय दुई मत ल्याएका थिए । नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले पाँच हजार नौ सय ३२ र नेकपा एकीकृत समाजवादीले एक हजार छ सय ६३ मत पाएको थियो ।
लामो समय माओवादीबाट राजनीति गरेका र हालै मात्र एमाले प्रवेश गरेका चौतारा साँगाचोकगढीका अमानसिंह तामाङलाई सिन्धुपाल्चोक २ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाइएको छ । गठबन्धनकातर्फबाट नेकपा माओवादीका युवराज दुलाल साझा उम्मेदवार छन । दुलाल यसअघि विसं २०७४ मा पनि यसै प्रदेशबाट निर्वाचित सांसद हुन ।
यस्तै सिन्धुपाल्चोक २ को (ख) बाट प्रदेशसभाका लागि एमालेले हस्तबहादुर पण्डितलाई उम्मेदवार बनाएको छ । पण्डित २०७४ को निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पासँग पराजित भएका थिए । उता सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा कृष्णकुमार तामाङलाई अघि सारेको छ ।
गठबन्धनका नेताहरुले भने टिकट वितरण र विगतको राजनीतिमा जेजस्ता अनुभव भए पनि अब टिकट पाउनेलाई जिताउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । देशभर एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा रहेकाले प्रतिस्पर्धीका रुपमा जिल्लामा पनि नेताहरुले आ–आफ्ना तर्फबाट भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति जङ्गबहादुर लामाले बताए ।
एमालेका नेताले पनि सिन्धुपाल्चोक–२ को चुनावी नतिजा पार्टीकै प्रतिष्ठासँग जोडिएको बताउँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा भएको मत नियाल्दा पहिलो दल एमाले भए पनि गठबन्धनमा रहेका दलको मत जोड्दा एमालेको मत केही कम देखिन्छ । एमालेका जिल्ला अध्यक्ष कमल नेपालले भने आत्तिनुपर्ने अवस्था नरहेको बताउछन ।
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट चुनावी प्रतिस्पर्धामा भाग लिँदै आएका थिए । विसं २०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका बस्नेतले २०५६ मा उनै बोहरालाई नै हराएर सांसद बने। विसं २०६४ मा टिकट पाए पनि हार बेहोर्नुपरे पनि २०७० मा चुनाव जितेर बस्नेत मन्त्रीसमेत भए । अघिल्लो संसदीय चुनावमा उनी माओवादी नेता अग्नी सापकोटासँग पराजित भए।
एमाले उम्मेदवार शेरबहादुर तामाङले सुरुका दुई चुनाव हारे भने पछिल्ला दुवै चुनाव जित हात पारे । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बनेका उनले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु परेको हो । विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जितेका थिए । तीन वटा निर्वाचन क्षेत्र घटेर अहिले दुईवटामा झरेपछि तामाङ २०७४ सालमा क्षेत्र नं २ बाट विजयी भए ।
किरण थापा
प्रतिक्रिया