नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज


समयपथ
0
Shares

काठमार्डौ । बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशम चौधरी र कैलाली–५ मा उम्मेदवारी दिएका लक्ष्मण थारूको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी र थारुविरूद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतले उनीहरुको उम्मेदवारी खारेज गरिदिएको हो।

रेशम चौधरी २०७४ जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। चौधरीलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका छन्। उनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार लक्ष्मण थारुले अझै २१ वर्ष कैद भुक्तान गर्नुपर्ने देखियो, निजले सर्वोच्च अदालतमा पुनरावेदन गरेको भए पनि उनी अदालतमै उपस्थित नभएका कारण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को दफा ३१(६) बमोजिम उनको उम्मेदवारी खारेज गरिन्छ ।’

नाबालक सहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरी विरुद्ध उजुरी दिएका थिए ।