भक्तपुुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को नयाँ वर्ष एवं राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफू परिचित रहेको बताएका छन ।
आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डलसँग भेट गर्दै उहाँले नेपाल संवत्को नयाँ वर्ष तथा राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको बारेमा आफू परिचित रहेको बताएका हुन । प्रधानमन्त्री देउवालाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् र राष्ट्रिय विभूति साख्वाःको बारे जानकारी गराउँदै प्रतिष्ठानको गतिविधि समावेश भएको पुस्तिका प्रदान गरेका थिए ।
अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिनमा हरेक वर्ष नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखको हैसियतले माल्यार्पण गर्ने परम्परा रहेको र सो समारोहमा प्रमुख आतिथ्यताको लागि प्रम समक्ष आग्रह गरेका थिए ।
भेटमा प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठले प्रतिष्ठानको विगतका गतिविधिबारे प्रम देउवालाई जानकारी गराए । सो अवसरमा अध्यक्ष श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष सुरेश प्रधान, सहसचिव विनोद कोजुलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया