भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई लक्षित गरी गृहजिल्ला रुपन्देहीमा सक्रियता बढाएका छन ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खाणले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन । सोही लक्षित उनले अहिले निर्वाचन क्षेत्रमा प्रचारप्रसार कार्यालयहरूको उद्घाटन, कार्यकर्ता भेटघाट एवं सभाहरूमा सक्रियता बढाएका हुन ।
यसैबीच उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयवासीलाई प्राथमिकता दिइने बताएका छन । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमासमेत स्थानीयवासीले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री खाणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयवासीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।
“स्थानीयवासीले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागि पुस्तौँदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरूले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ”, उनले भने , “स्थानीयवासीले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि बिर्सिनुहुँदैन ।”
गृहमन्त्री खाणले विमानस्थलले यस क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको जनाउँदै यहाँ हुने हरेक गतिविधिसँग स्थानीयवासीलाई जोडेर आत्मनिर्भर र रोजगाररत बनाउनु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।
गृहमन्त्री खाणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे । त्यस्तै विमानस्थलमा कार्गो सञ्चालनका लागि पहल भइरहेको भन्दै उनले कार्गो सञ्चालनमा आएपछि यहाँको कृषि तथा औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुुर्याएर स्थानीयवासीलाई रोजगारी बढाउने योजना सरकारको रहेको जनाए ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, सङ्घीयताको रक्षा गर्दै मुलुकको समग्र विकासमा लाग्ने बताए ।
प्रतिक्रिया