काठमाडौँ । नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिका बारेमा उच्चस्तरीय टोलीले आज जानकारी लिएको छ । मुख्यसचिव शङ्करदास वैरागी नेतृत्वको उक्त टोलीले परियोजनाको बाँधस्थल, विद्युत्गृह, प्रसारणलाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रियामा अरुण तेस्रो जलविद्युत् परियोजना र प्रसारणलाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयहरूमा छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
कार्यक्रममा मुख्यसचिव वैरागीले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषय समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएका थिए । उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजना तोकिएको समयमै कार्यान्वयन गर्न आग्रह गरे ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जलविद्युत् परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमूना परियोजना रहेको जनाउँदै बिना अवरोध प्रभावकारीरूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए ।
उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढङ्गले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आग्रह गरे। अनुगमन टोलीमा विभिन्न मन्त्रालयका सचिव, बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारी तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिको सहभागिता रहेको बोर्डका सूचना अधिकारी राजुप्रसाद गुरागाईंद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया