शङ्खधर साख्वाको बाटोमा प्रतिवद्ध भएर हिँड्न सके मुलुकबाट गरिवी असमानता, विपन्नता अन्त्य गर्न सकिन्छ् : प्रधानमन्त्री देउवा  

शङ्खधर साख्वाको बाटोमा प्रतिवद्ध भएर हिँड्न सके मुलुकबाट गरिवी असमानता, विपन्नता अन्त्य गर्न सकिन्छ् : प्रधानमन्त्री देउवा  


समयपथ
0
Shares

भक्तपुर। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले मङ्सिर ४ गतेको आमनिर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ भने  । उनले आगामी निर्वाचन मुलुकको संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्थाका लागि भएकाले निर्वाचनलाई सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताएका हुन । “आमनिर्वाचन मुलुकको संविधानको रक्षा, लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक समृद्धि, नागरिकको लोकतान्त्रिक र अभिव्यक्ति स्वतन्त्रताको लागि महत्वपूर्ण रहेको छ । त्यसैले मङ्सिर ४ गतेको आमनिर्वाचन सबै मिलेर सफल बनाउनुपर्छ”, उनले भने  ।

उनले लोकतान्त्रिक सरकारबाट मात्रै मुलुकका भाषा, धर्म, सँस्कृतिको समान संरक्षण गरी विकास र विस्तार कार्य अघि बढ्न सक्ने बताउँदैं निर्वाचनमा सबै सक्रियताका साथ सहभागी भई मुलुकमा लोकतान्त्रिक सरकार स्थापनामा सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले गरिवी र असमानताको अन्त्यका लागि नेपाली जनताको आर्थिकस्तर वृद्धि गरी जनतालाई सुखी र समृद्ध तुल्याउन शङ्खधर साख्वाको उदाहरणीय कार्यबाट सबैले प्रेरणा लिनुपर्ने धारणा राखे । “साख्वाको बाटोमा सबैले प्रतिवद्ध भएर हिँड्न सके मुलुकबाट गरिवी असमानता, विपन्नता अन्त्य गर्न सकिन्छ,” उनले भने ।

उनले साख्वाको कार्य सबैको गौरवको विषय भएकोले साख्वाको व्यक्तित्वबाट व्यक्तिगतभन्दा सामूहिक हितलाई आत्मसाथ गरी अघि बढ्ने प्रेरणा मिल्ने बताए । “ नेपालको सामाजिक इतिहासलाई उचो राख्न साख्वाको जस्तो महान व्यक्तित्वबाट व्यक्तिगतभन्दा सामूहिक र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढन् सके मात्र मुलुकको हित हुन्छ । साख्वाको जीवनीबाट सबैलाई यही प्रेरणा मिल्नेछ”,उनले भने ।

नेपाल सम्वत् नेपालको मौलिक सम्वत् भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपाल सम्वत्ले राष्ट्रिय मान्यता पाएसँगै यसको प्रयोगबारे व्यापकता पाएको र यसको व्यवहारिक प्रयोगका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आधारभुत विद्यालयको पाठ्यक्रममा राष्ट्रिय विभुति शङ्खधर साख्वाको बारेमा अध्ययन अध्यापन गराउने व्यवस्था गरिएको जानकारी समेत दिए ।

देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उनको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताए । उनले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइसकेको बताए  ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै नगरपालिकाले शङ्खधरको विविध योजना सञ्चालन गर्न एक करोड २० लाखको बजेट विनियोजन गरेको बताए । नगरपालिकाले सुरु गरेको शङ्खधर पार्क निर्माण कार्यको बाँकी कामलाई नगरपालिकाले पूर्णता दिने बताए  ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सरकारले राष्ट्रिय परस्कारको घोषणा गर्नुपर्ने बताए । उनले प्रतिष्ठानले साख्वाःको नाममा मिनि सङ्ग्रहालयको रुपमा विकास गर्ने बताउँदै अहिले देखापरेको तिथिमितिको विवाद र फरकलाई एकरुपता दिन विज्ञ टोली लाग्नुपर्ने बताए । प्रतिष्ठानले यसवर्ष विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीलाई शङ्खधर सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री देउवाले गुठीका महेन्द्रगोपाल कर्माचार्यलाई उक्त सम्मान प्रदान गरे भने प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरलाई पनि ‘शङ्खधर सम्मान’ प्रदान गरे ।

त्यसैगरी प्रधानमन्त्री देउवाले काठमाडौंँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, साहित्यकार तिलकप्रकाश कायस्थ, गीतकार पवित्र कसाः र पत्रकार सुगतरत्न सिन्दुराकारलाई शङ्खधर पदक प्रदान गरे ।