संखुवासभा । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन२०७९ शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । जिल्लाको १ सय ८ मतदान स्थलका १ सय ६४ केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको हो ।
मतदान शान्तिपूर्ण भए पनि दुई मतदान केन्द्रमा केही समय मतदान स्थगन गरिएको थियो । चैनपुर नगरपालिका वडा नं.६ मा रहेको सरस्वती मावी चैनपुर हिटिटोलको केन्द्र ख मा १ सय ४१ मत खसेपछि प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा ४१ मत खसेको थाहा भएपछि मतदान कार्य रोकिएको थियो । प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फकै मतपत्र भुलवस प्रयोग भएपछि मतदान स्थगन भएको थियो ।
प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका उमेदार नेकपा (एकिकृत समाजवादी) सरिता थापा सहित अन्य पार्टी प्रतिनिधिहरुको सहमतिमा मतदान सञ्चालन भएको थियो । सहमतिमा प्रदेश सभाको अर्को मतपेटिका परिवर्तन गर्ने र सहायक मतदान अधिकृत उमाकान्त ढकालको हस्ताक्षरबाट सञ्चालन हुने गरी मतदान सञ्चालन भएको थियो । यसै गरी खाँदवारी नगरपालिका वडा नं.३ स्थित केन्द्र ख मा एकै मतपेटिकामा केन्द्र र प्रदेशको मतपत्र परेपछि मतदान केही समय स्थगन भएर पुन मतदान सञ्चालन भएको थियो ।
नजिकको मतदान स्थलबाट मतपेटिका आउनेक्रम जारी रहे पनि दुर्गम र टाढाका मतदान स्थलबाट आउन समय लाग्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामेश्वर निरौलाले जानकारी दिए । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ ।
प्रतिक्रिया