भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७९-०८० को पहिलो चौमासिकको प्रगति समीक्षासहित सार्वजनिक सुनुवाइ गरेको छ । अघिल्लो कार्यकालमा कर्मचारी र जनप्रतिनिधिको मात्र सहभागीतामा सार्वजनिक सुनुवाइ हुने गरेको भन्दै व्यापक आलोचना सेलाउन नपाउँदै नयाँ नेतृत्वले भने खुला रुपमै सुनुवाइ गरेको हो ।
‘पहिला यसरी खुला रुपमा सुनुवाइ गरिएको थाहा थिएन, अहिले यो ठाउँमा आएर सुनुवाइ गरिएको छ, यो खुसीको कुरा हो’, नगरपालिकाले गरेको सुनुवाइ कार्यक्रम स्थल दुवाकोटस्थित न्यौपाने गाउँमा सहभागी एक व्यक्तिले भने, ‘जे होस् जनताको प्रश्न सुन्ने आँट नयाँ नेतृत्वले गरेको छ, यो आँटलाई मान्नुपर्छ ।’
जनताका दैन्दिनका समस्याका साथै नगरपालिकाले सम्पादन गरेका विभिन्न विकास निर्माणका योजनाबारे जनताको प्रतिक्रिया के र जनता नगरपालिकाको कार्य सम्पादनदेखि कत्तिको सन्तुष्ट छन् ? भन्ने निक्र्योल गर्नका लागि गरिएको सार्वजनिक सुनुवाइमा युवा, ज्येष्ठ नागरिक, महिला, किसान तथा आम जनताले प्रतिनिधिमूलक रुपमा सुनुवाइको अघिल्लो भागमा बसेका जजप्रतिनिधि र सेवा प्रदायक संस्थाका व्यक्तिलाई प्रश्न गरेका थिए, सुझाव दिएका थिए ।
स्थानीय सरकार सञ्चालन कार्यविधिमा हरेक स्थानीय तहले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय तहले आर्थिक पारदर्शिताका लागि पनि सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान अनुसार सो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
सोही प्रावधान अनुसार गरिएको सुनुवाइमा जनताले विभिन्न विषयहरुमा आफ्ना जिज्ञासा राखेका थिए । उनीहरुले नगर प्रमुख जीवन खत्री, तथा नगरपालिकाका विभिन्न शाखासँग सम्बन्धित जिज्ञासा राखेका थिए ।
सुनुवाइमा वडा नं. १ का स्थानीय माधवप्रसाद न्यौपाने नगरका वडाहरु भुगोलका आधारमा ठूलो भएको र यसले गर्दा सेवाग्राहीलाई सेवा प्राप्त गर्न समस्या भएको बताउँदैं वडा विभाजन गर्नुपर्ने सुझाव दिए । न्यौपानेले जग्गाको कित्ताकाट खुलाउनुपर्ने, नगरप्रहरी वडा वडामा पनि राख्नुपर्ने, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिनुपर्ने, मलको व्यवस्था हुनुपर्ने, कृषक समूह गठन गरी नगरपालिकाले किसानलाई सहुलियत दिनुपर्ने, सामूदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाउनुपर्ने, एक घर एक धाराको व्यवस्था हुनुपर्ने, सार्वजनिक यातायातको सेवा सुधार हुनुपर्ने, भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने, वीर अस्पताल र शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका निर्माणको कार्य शुरु हुनुपर्नेलगायतका माग राखे ।
सुनुवाइमा इन्जिनियर तुलसीलाल बासुकलाले नगरका पुराना बस्तीलाई नमूना बस्तीको रुपमा विकास गरी नगरपालिकाले भवन निर्माणका सहुलियत दिई परम्परागत शैलीको घर निर्माणमा प्रोत्साहन दिनुपर्ने, नगरका पोखरी, पाटी, ढुंगेधाराको संरक्षण गर्नुपर्ने, सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्ने, भवन निर्माण मापदण्ड पालना भए नभएकोबारे भवन निर्माण इजाजतपत्र दिई सकेपछि पनि निरन्तर अनुगमन हुनुपर्ने, भूमिगत पानी उपयोगको नीति बनाउनुपर्ने, चाँगुनारायण मन्दिर संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव राखे ।
नवराज काफ्लेले खानेपानी उपभोक्ता समितिलाई नियमन गर्नुपर्ने, ज्येष्ठ नागरिक मिलन केन्द्रको अनुदान नियमित गर्नुपर्ने, लक्षित वर्गका कार्यक्रममा लक्षित वर्गलाई नै सहभागिता गराउनुपर्ने, गुनासो पेटीकाको व्यवस्था हुनुपर्ने, सूचनाको हकको कार्यान्वयन गर्दै वडा वडामा सूचना प्रवाह सहज हुनुपर्ने, नेपाल ईञ्जिनियरिङ कलेजलाई नगरपालिका मातहत व्यस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।
ज्येष्ठ नागरिक सूर्यकान्त गेलालले सामाजिक सुरक्षा भत्ता बैंकसम्म गएर लिनजानु पर्दा असहज भएको भन्दै घरघरमा पुर्याउन माग गरे । वडा नं. ४ का जनार्दन केसीले बाटोको मापदण्ड स्पष्ट र सबैलाई समानरुपमा लागु गर्नुपर्ने बताए । वडा नं. ४ कै केशव खनालले जथाभावी गरिएका जग्गा प्लानिङले पुराना र परम्परागत पानीका मुहान तथा स्रोत नष्ट भएकाले अहिले नगरमा पानीको समस्या विकराल बन्दै गएको बताउँदैं त्यस्ता पानीका स्रोतको नियमित मर्मत हुनुपर्ने बताए ।
पर्शुराम गेलालले नापीमा भएको पुरानो नक्सा गायव बनाएको र विगतमा नगरपालिकामा समस्या लिएर जाँदा उल्टै धम्की आएको गुनासो गरे । वडा नं. २ का गणेश पौडेलले सहकारी दर्ता प्रक्रिया खुलाउनुपर्ने, केएमसी अस्पतालले विगतमा आईसीयुसहितको अस्पताल सञ्चालन गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराए भने वडा नं. ४ का लिलामाया पौडेलले सुस्मा कोइराला ट्रष्ट पछाडीको कृषि सडक खोल्नुपर्ने, मनोहरा खोलाको पुलमा सिसी क्यामरा र प्रहरी पोष्टको व्यवस्था हुनुपर्ने माग गरिन् ।
चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले चाँगुनारायणको जुन महत्व छ सो अनुरुप स्थानीय तहले महत्व नदिएको, आयस्रोत नहुँदा परम्परागत पूजा, जात्रापर्व रोकिने अवस्था आएको, पर्वपुजाको लागि गुठी संस्थानले दिने खर्च अपुग भएको, सम्पदा क्षेत्रमा जथाभावी निर्माण कार्य भएको गुनासो गरे ।
वडा नं. २ का हिम्मत सिं लेकालीले नगरका नदीनाला दुर्घन्धित भएकोले पर्यटन उद्योगलाई समेत असर गरेको बताए भने झौखेलका प्रेमबहादुर ध्वँजूलेले भुस्याहा कुकुरको बिगबिगी बढेकोले नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी अनिता न्यौपाने, उदय खड्का, दिलकुमार बालालगायतले नगरको वेभसाईट चुष्ट दुरुष्ट राख्नुपर्ने, खुल्ला क्षेत्रको व्यवस्था र बिस्तार गर्नुपर्ने, उपभोक्ता समिति वास्तविक उपभोक्ता समिति हुनुपर्ने, युवा बेरोजगारीको समस्या समाधानका लागि उद्यमशिलता कार्यक्रमलाई जोड दिनुपर्ने लगायत सुझाव दिए ।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले जनताले गरेका प्रश्नको जवाफ दिएका थिए । उनले नेपाल इन्जिनियरिङ कलेज, वीर अस्पताल, खानी सञ्चालन, नगरका विभिन्न ठाउँमा भइरहेका जग्गा प्लटिङ, सडकको दूरावस्था, स्वास्थ्य र शिक्षा, कुकुर आतंक तथा सम्पदा क्षेत्र र संस्कृति संरक्षण लगायतका विषयमा सोधेका प्रश्नको जवाफ दिएका थिए ।
जवाफको क्रममा नगरप्रमुख खत्रीले वीर अस्पताल निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने र त्यसका लागि आफू कटिवद्ध रहेको दोहोर्याउँदै दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा व्यवथापकीय विषयमा समस्या रहेको जानकारी दिए ।
उनले सो कलेज सञ्चालनका लागि नगरपालिकाको अघिल्लो कार्यकालले कार्यविधि बनाएको भने पनि जनप्रतिनिधिले नै यसमा बेवास्ता गर्दा अहिलेसम्म पनि कलेज सामुदायिक हुन नसकेको बताए । सो कलेजले हालसम्म पनि नगरपालिकालाई लेखापरीक्षण प्रतिवेन नबुझाएको र आफूले कागजात माग्दा समेत कलेजका प्रिन्सिपल भाग्ने गरेको जनाए ।
यस्तै नगरका कुनै पनि स्थानमा नगरपालिकाले माटो सम्माउन तथा डोजर लगाउन रोक लगाएको दाबी गर्दै उनले खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारीमा लागेको बताए । सुशासन,विकास र चुस्तदुरुस्त सेवा प्रवाहर र संमृद्ध नगर निर्माणमा आफ्नो सम्पूर्ण समय खर्चिने नगर प्रमुख खत्रीले बताए ।
सुनुवाइमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, सूचना अधिकारी निला कुमारी घिमिरेले स्थानीयले उठाएका गुनासोको जवाफ दिएका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू नेपाली काँग्रेसका नगर सभापति शिवहरि केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला, नेकपा माओवादी केन्द्रका नरेश खड्काले विकासमा कार्यगत एकता, नीति निर्माणमा ऐक्यबद्धताको नीति अनुरूप नगरपालिकाले गर्ने कार्यको गुण र दोषका आधारमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले सहजीकरण गरेको कार्यक्रममा महासङ्घले चाँगुनारायण नगरपालिकाका विभिन्न कार्यालयमा स्थलगत अनुगमन गरी सेवाग्राहीले दिएका प्रतिक्रियाका आधारमा तयार गरिएको सेवाग्राही बहिर्गमन अभिमत सन्तुष्टि र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन २०७९ शाखाका सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’ले प्रस्तुत गरेका थिए ।
महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रतिवेदन तयार गर्न महासङ्घले वडा वडामा स्वयम् सेवक खटाएर प्रतिवेदन तयार गरिएको बताए ।
प्रतिक्रिया