काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन । मतदानमा कुल ८९ मत खसेको थियो । त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरेकाे कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहेका थिए । सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका छन। यस अघि उहाँ विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए । कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन । उनी पार्टीको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन । विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका थिए। नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन। विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।
प्रतिक्रिया