यति बिघ्न नहेपौँ न हो !

यति बिघ्न नहेपौँ न हो !


समयपथ
0
Shares

बोली प्रष्ट छैन,प्रतिवाद गर्न सक्दैन भन्दैमा यति विघ्न त नहेपन है युवा भनाउँदाहरु ! वीपी कोईरालालाई राजाले सत्ताच्युत गर्दा प्रजातन्त्रको हत्या हुने,शेरबहादुरलाई घोक्र्याउंदा दरवारलाई वुझायो भन्ने ?
तात्कालिन माओवादी आतंकलाई निस्तेज गर्नका लागि संकटकाल घोषणा गर्दा सिटिङ प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट नै च्युत गर्दा देशभरिका साथीहरु बोलाएर कारवाही फिर्ताका लागि दवाब दिंदा ,अपिल गर्दा सुनुवाई नभएपछि पार्टी गठन गरेर अस्तित्व रक्षा गर्न खोज्दा पार्टी फुटाको एकोहोरो आरोप उस्ले मात्र व्यहोर्नु पर्ने ?

गणतन्त्र स्थापना पश्चात् ‘सुशील दा’ को समयसम्म तदर्थवादमा चलेका भातृ संस्थाहरुको अधिवेशन गराउदा एक थोपो जस उहाँले नपाउंने ? त्यसै गरि पार्टीको विधानलाई पूर्ण प्रजातान्त्रिक (सबै पदहरु निर्वाचनबाट टुंगिने,मनोनितको एकाधिकार अन्त्य गर्ने)निर्माण गरेर ‘कदमजम’को आरक्षण सिर्जना गरेवापतको अलिकति पनि जस दिनु नसक्नु कति व्यवहारिक कदम हाे ।नेपाली कांग्रेसबाट छुट्टिएर गएका विजय गच्छदारले नेतृत्व गरेको मधेश केन्द्रित पार्टी,राप्रपाबाट सुनिल थापा ,अखण्ड पार्टीबाट कुमार खड्का,उद्योगपति विनोद चौधरीलगायतलाई पार्टीमा भित्र्याउनुलाई कुनै कमाई नठान्ने पनि हुन्छ ।

तात्कालिन सत्ता साझेदार दलहरुसँग गरिएको समझदारी तोडेर संविधान निर्माता ‘सुशील दा’ लाई उचालेर पछारे पछि पूर्णरुपमा कांग्रेस सत्ता बिहिन बनेर आजसम्म त्यो परिपूरण हुन सकेको छैन। एमाले र माओवादीको त्यो गठबन्धन भत्काएर कांग्रेस र माओवादी र नेकपा समाजवादी(एस)सरकार संञ्चालन,संविधान बमोजिमको तीनै तहको निर्वाचन गराएको कार्यले कुनै मूल्य पाउनु नपर्ने ?
२०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर  निर्वाचनमा जादा धुवाधार विरोध गर्ने,फेरि संघ र प्रदेश सभामा माओवादीलाई थेग्न सकिनस भनेर उछितो काड्ने ? आफू हार्ने अनि हारको जिम्मेवारी उहाँले लिनु पर्ने ? क्या सजिलाे कुरा ।

केपी ओलीले संसद भङ्ग गरेर निर्वाचन घोषना गरेका थिए । संविधानमा नलेखिए पनि लोकतान्त्रिक संसदीय पद्धतिमा यो अधिकार प्रधानमन्त्रीलाई हुन्छ,हुनु पर्छ । देउवा नजानिदो निर्वाचन स्वीकार गर्ने पक्षमै थिए ।उनलाई उछिनेर बाह्रहात माथि सडक आन्दोलनमा उफ्रन थाले हाफ्नै नेताहरु । उनीहरुकै नीतिमा घिस्रिएका देउवाले २३ सिट हुदापनि कांग्रेसलाई नेतृत्व दिनै पर्ने बाध्यता सृजना गराए । कांग्रेस नभए त देश नचल्ने रैछ भने भाव जनमानसमा छरिएकै कारणले देउवालाई धारेहात लाउनेहरुले जितेर आएका हुन् । यो २३ बाट बढेर ५७ सिट भएकोचाहिं जस उस्ले पाउनु नपर्ने ?

कार्यसम्पादनको बैठकमा केवल हाम्रै नेतृत्वमा सरकार गठन गर्नु पर्छ भन्ने,राष्ट्रपति र प्रधानमन्त्री छोडौला खवरदार भन्ने । यता अन्तिम समयसम्म कसरत गर्ने । प्रचण्ड नमाने छोड्नु परे पनि अन्तिममा छोड्ने मनस्थितिमा बसेका देउवालाई असफल बनाउन पूर्व योजना मुताविक षडयन्त्र गर्ने उत्तरी बतासलाई छेक्न नसकेको एकलौटी आरोप उस्ले व्यहोर्नु पर्ने ?

अघिल्लो पटक गगन थापालाई स्वास्थ्य मन्त्री बनाएर,विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर,प्रदीप पौड्याललाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेद्वार बनाएर नयाँ पुस्तालाई पनि कदर गर्दै पुस्तान्तरणको प्रक्रिया थालनी गरेकोमा कठैवरा एक चिम्टी जस छैन ।

अन्तराष्ट्रिय राजनीतिमा नेपालको र पार्टीको विश्वसनीयता कायम गर्न महकाली सन्धी,एमसीसी सम्झौताका विषयमा कम्युनिष्टहरुलाई समेत सहभागी गराउन सकेकोमा प्रशंशाको एक शब्द कसैले उच्चारण गर्नु नपर्ने।
तथाकथित युवा नेता भनाउदाहरु बा लहैलहै र भ्रमपूर्ण प्रचारवाजीका सिकार भएका देशधरिका युवा पुस्ता जो उनीहरुलाई देवत्वकरण गर्न उद्धत छन । उनीहरुलाई दुरुपयोग गरि विद्युतीय संञ्चारमाध्यम र सामाजिक संञ्जालमा आफ्नै पार्टी नेतृत्वप्रति घृणा फैलाउने,कुप्रचार र दुष्प्रचार गर्ने कार्यमा रमेका छन । यस्ता मर्यादाहीन सस्कृतिले नरहे बाँस नबजे बांसुरी हुने कुरा पक्कापक्की छ । त्यसैले इतिहासको निर्मम समीक्षा गरेर गल्ति कमीकमजोरीलाई सच्चयाएर अगाडि बढौ‌ं ।