नगरकोटको गुरुयोजना र डीपीआर निर्माणमा चाँगुनारयण र मण्डनदेउपुर नगरपालिकाले लिए अग्रसरता

नगरकोटको गुरुयोजना र डीपीआर निर्माणमा चाँगुनारयण र मण्डनदेउपुर नगरपालिकाले लिए अग्रसरता


समयपथ
0
Shares

भक्तपुर । यसै आर्थिक वर्षभित्र पर्यटकीय स्थल नगरकोटको एकीकृत गुरुयोजना र डीपीआर बन्ने भएको छ । नगरकोटको एकीकृत गुरुयोजना र डीपीआर निर्माणमा भक्तपुरको चाँगुनारयण र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले लिए अग्रसरता लिएका छन ।

नगरकोटको एकीकृत गुरुयोजना र डीपीआर निर्माणमा चाँगुनारयण र मण्डनदेउपुर नगरपालिकाले १०/१० लाख बजेट विनियोजन गरी यसै अर्थिक वर्षभित्र कार्यसम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । नगरकोट नाल्दुम पर्यटन विकास समितिको बैठकमा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री र मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले उक्त प्रतिवद्धता जनाएका हुन ।

नगरकोटको विकासमा सधै चासो र चिन्ता प्रकट गर्दै आएका चाँगुनारायणका मेयर खत्रीले नगरकोटलाई नेपालकै प्रमुख पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
चाँगुनारायण र मण्डनदेउपुर नगरपालिकाबीचको जग्गाको सीमाङ्कन एकीन गरी सञ्चालनमा रहेका होटलका साथै अन्य व्यवसायीक क्षेत्रको समेत सीमाङ्कन कार्य दुवै नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक टोलीको सक्रियता र समन्वयमा दुई महिनाभित्र सम्पन्न गर्नुका साथै दुवै नगरपालिकामा पर्ने सार्वजनिक जग्गाको संरक्षणका लागि दुई नगरपालिकाका प्राविधिक परिचालन गरी रेखाङ्कन गर्ने निर्णय गरेको छ ।

समितिकाे बैठकले आगामी पुष २९ गते नगरकोटको समग्र विकासको खाँका निर्माणका लागि चाँगुनारायण नगरपालिका,मण्डनदेउपुर नगरपालिका,शंकरापुर नगरपालिका र बनेपा नगरपालिकाबीच छलफल गर्ने निर्णय समेत गरेको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अध्यक्षता बसेको बैठकमा चाँगुनारायण नगरपालिका मेयर जीवन खत्री,मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा,उपप्रमुख विष्णुमणी नेपाल, चाँगुनारायणका प्रमुख प्रशासकीय अधिकृत हिरामणी सुवेदी, मण्डन देउपुरका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर लोप्चन, चाँगुनारायण ८ का वडाध्यक्ष एवं नगरका प्रवक्ता जनक खत्री, वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामा, वडा नम्बर ७ का वडाध्यक्ष श्यामकृष्ण नयजु, मण्डन देउपुर २ का वडाध्यक्ष राजकुमार मल्ल, मण्डन देउपुर १ का वडाध्यक्ष शिवप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।