नयाँ मुलुक, नयाँ आवादी

नयाँ मुलुक, नयाँ आवादी


समयपथ
0
Shares

राप्ती नदी जब चुरेपहाड छिचोलेर दक्षिणतर्फ बग्न सुरु हुन्छ, त्यो ठाउँभन्दा पश्चिमको तराई भूभाग नयाँ मुलुकका नामले चिनिन्थ्यो । अहिले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला रहेको यो भूभागलाई राणा शासनका संस्थापक जंगबहादुर कँुवरले नयाँ मुलुक नाम दिएका थिए । राजा रणबहादुर शाहको पालामा नेपालले युद्ध हारेपछि अंग्रेजको अधिनमा पुगेको यो भूभागलाई तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो कूटनीतिक चातुर्यताद्वारा फिर्ता गरेका थिए । त्यसैले यो भूभागलाई नयाँ मुलुक भनिएको हो । नयाँ मुलुक भनिने यो क्षेत्र  नेपाल एकीकरण हुनुभन्दाअघि तत्कालीन दैलेख र डोटी राज्यअन्तर्गत थियो । अर्थात् कर्णाली नदीभन्दा पूर्व अहिलेको बाँके, बर्दिया, दैलेख राज्यअन्तर्गत र  कर्णालीभन्दा पश्चिम अर्थातु अहिलेको कैलाली र कञ्चनपुर डोटी राज्यअन्तर्गत थियो । तत्कालीन डोटी र दैलेख राज्यको सिमाना दक्षिणतर्फ घाघरा नदीसम्म रहेको इतिहासविद्हरू बताउँछन्, तर नेपाल एकीकरणका क्रममा तराईको उत्तरी क्षेत्र मात्रै मिसाइयो ।

 

नयाँ मुलुक भनिने यो क्षेत्रमा मानव बसोबास कहिलेदेखि थियो ? भन्ने प्रश्नको उत्तर अझै निरूपण हुन सकेको छैन । कैलाली र कञ्चनपुरमा आदिवासी राना थारुहरूको बसोबास पहिलेदेखि नै हो । बाँके र बर्दियामा राना थारुहरूको  बसोबास खासै देखिन्न । थारु जाति त छन्, तर पछि दाङबाट बसाइँ सराई गरेर गएका । उनीहरूलाई दगौरा थारु भनिन्छ ।

परापूर्वकालमा मानव बसोबास रहेको, कालान्तरमा कुनै महामारी भएर मासिएको हुनसक्ने इतिहासविद्हरूको अनुमान छ । यो क्षेत्रमा ११औं शताब्दीका तेलिया इँटाहरू यदाकदा भेटिने गरेका कारण कुनै बेला मानव सभ्यताको विकास भइसकेको अनुमान लगाउन सकिन्छ ।

 

नयाँ मुलुकमा नयाँ आवादी सुरु भएको जंगबहादुर राणाकै पालादेखि हो । आफ्नो चातुर्यताबाट फिर्ता ल्याएका कारण श्री ३ जंगबहादुरले श्री ५ को लालमोहर लगाई  कर्णालीदेखि राप्तीसम्मको क्षेत्र आफू र आफ्ना सन्ततीका नाममा विर्तास्वरूप लिएका थिए । इतिहासविद् योगी नरहरिनाथको भनाइअनुसार जंगबहादुरले यो क्षेत्रमा लखनउकै नक्कल गर्दै सहर स्थापना गर्ने योजना बनाएका थिए । उनको कम उमेरमै रहस्यमय मृत्यु भएपछि मुलुकको शासन सत्ता भाइ धीरशमशेरका छोराहरूले कब्जा गरे । कब्जासँगै जंगबहादुरका छोरा, नातिहरूलाई खोजीखोजी मारे । उम्कन सफल हुनेहरू कोलकाता पलायन भए । यसरी जंगबहादुरको सबै सम्पत्ति स्वतः शमशेर खलकमा आयो । बाँके, बर्दिया पनि शमशेर खलककै  विर्तामा परिणत भयो ।

 

राणाशासनको अन्त्यसम्म पनि बाँके र बर्दियामा अत्यन्त न्यून बसोबास थियो ।   २०१५ सालको आमनिर्वाचनमा पहाडका अधिकांश जिल्लामा दुईवटा निर्वाचन क्षेत्र थियो भने बाँके र बर्दियामा एउटा एउटा निर्वाचन क्षेत्र थियो ।

बाँकेबाट ललित चन्दले सात हजार २६३ मत ल्याएर चुनाव जितेका थिए भने बर्दियाबाट राधाकृष्ण थारुले ८९४५ हजार मत ल्याएर चुनाव जितेका थिए । जबकि दैलेखमा २०१५ सालको निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र थियो । अहिले दैलेखमा एउटा मात्रै निर्वाचन क्षेत्र छ । बाँके र बर्दियामा ३–३ वटा निर्वाचन क्षेत्र छन् । योे आँकडाले पनि नयाँ मुलुकमा सघन बसोबास सुरु भएको २०२१ सालमा औलो उन्मूलनपछि मात्रै हो भन्ने स्वतः पुष्टि हुन्छ ।

 

जंगबहादुरले नयाँ मुलुकका रूपमा जंगल मात्रै फिर्ता लिएका थिए कि त्यो भूमिमा आवादी पनि थियो ? भन्ने प्रश्नको एकीन उत्तर प्राप्त गर्न निकै जटिल छ । यस क्षेत्रको भारतीय सिमाना दशगजादेखि केही किलोमटिर दक्षिणसम्म अहिले पनि  पुरानै घनाजंगल यथावत छ । यो घनाजंगल छिचोलेर त्यतिबेला दक्षिणतर्फका मानिसहरू यो अनकन्टार क्षेत्रमा बसोबास गर्न आए होलान् भन्ने कुनै आधार छैन । त्यतिबेला दक्षिणतर्फ नै पर्याप्त आवादी भूमि रहेकाले उनीहरूलाई जंगलको बीचमा आएर आवादी गर्नुपर्ने आवश्यकता सायद थिएन होला । जंगल फाँडेर काठ बेच्ने र त्यहाँ आवादी गरी सम्पत्ति जम्मा गर्ने अभियान राणाहरूले सुरु गरेका हुन् । यही क्रममा बाँके क्षेत्रमा दक्षिणतर्फबाट मुसलमानहरू र पूर्वतर्फबाट थारुहरूलाई कृषि मजदुरका रूपमा प्रवेश गराएको अनुमान धेरैको छ ।

 

यसैगरी, जंगबहादुर राणाले लखनउ विद्रोह दबाउन अंग्रेजलाई गरेको सहयोगलगत्तै बाँके जिल्लाको आवादी सुरु भएको पनि इतिहासविद्हरू बताउँछन् । इतिहासमा उल्लेख भएअनुसार लखनउका अपदस्थ राजाको नेतृत्वमा भएको सिपाही विद्रोह दबाउन नसकेपछि अंग्रेजहरूले नेपालको सहयोग मागे । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नै नेतृत्वमा फौज लिएर गई सिपाही विद्रोह निस्तेज पारे ।  यो विद्रोह निस्तेज पारेबापत अंग्रेजहरूले खुसी भएर सुगौली सन्धिमा गुमेको भूभागमध्ये राप्तीभन्दा पश्चिमको तराई फिर्ता गरे । तर जंगबहादुरलाई यतिले चित्त बुझेन । लखनउका पराजित राजपरिवार तथा भाइभारदारप्रति उनमा दया जाग्यो । यत्तिकै छोड्दा अंग्रेजहरूले मारिदेलान् भन्ने ठानेर उनले राजपरिवार तथा भाइभारदारहरूलाई नेपालमा शरण दिने सर्त राखे । उक्त सर्त अंग्रेजले स्वीकार गरेपछि तत्कालीन महारानी हजरत बेघम मलसहित केहीलाई काठमाडौं ल्याए । यसक्रममा उनीहरूका सुसारेहरू पनि आए, तर बाँकी रहेका सुसारेहरूलाई नयाँ मुलुककै राप्ती आसपासको क्षेत्रमा बसोबासको प्रबन्ध मिलाए । त्यतिबेला मेघम हजरत मलले थुप्र्रै सुनचाँदी, हीरामोती जुहारतहरू ल्याएकी थिइनु । त्यो बेचेर प्राप्त हुने रकमले नयाँ मुलुककै क्षेत्र (वर्तमान नेपालगन्ज) मा लखनउकै नक्कल गरी भव्य सहर निर्माण गर्ने र त्यहीँ आफू आराम साथ जिन्दगी बिताउने बेघम हजरत मलको इच्छा थियो । उनको यो इच्छाप्रति जंगबहादुर सकारात्मक पनि थिए । तर योजना कार्यान्वयन हुन नपाउँदै जंगबहादुरको मृत्यु भयो । हजरत मलको सपना साकार हुन पाएन ।

बाँके जिल्लाको नामाकरण :

 

बाँके जिल्लामा बाँके नाम गरेको छुट्टै गाउँ छ । यही गाउँको नामबाट जिल्लाको नामाकरण गरिएको हो । तर बाँके गाउँको नामाकरणका विषयमा अनेकथरी मतहरू छन् । बाँकी शब्दबाट बाँके बनेको कुरामा धेरैको एउटै मत छ, तर बाँकी शब्दको विषयमा भने भिन्नभिन्न मतहरू छन् । जंगबहादुर राणाले लखनउको राजपरिवारलाई काठमाडौंमा शरण दिने क्रममा बाँकी रहेका सुसारेहरूलाई त्यहीँ बसोबास गराएका कारण बाँके भनिएको एकथरी मत छ । तर बाँकी सुसारेहरूलाई त्यहीँ छाडेको भन्ने लिखित प्रमाण पाउँन सकिएको छैन । त्यतिबेला औलो तथा जंगली जनावरको ठूलो प्रकोपका कारण धेरै गाउँहरू रित्ता भए, एउटा गाउँ मात्रै बाँकी रह्यो । यही बाँकी रहेको गाउँलाई बाँके भन्न थालियो । यही बाँके गाउँको नामबाट जिल्लाको नामाकरण भएको पनि एकथरीको भनाइ छ ।

 

यसैगरी, चन्द्रशमशेर राणाले दास प्रथा उन्मूलन गर्ने क्रममा मुक्त दासहरूलाई मध्य तथा पूर्वी तराई र भित्री मधेसका केही क्षेत्रमा बसोबास गराए, तर पश्चिम नेपाल क्षेत्रमा केही कमाराकमारीहरू बाँकी रहे । बाँकी रहेका यिनै कमाराकमारीलाई बसोबास गराइएकाले त्यो गाउँलाई बाँके भनिएको पनि केहीको तर्क छ ।

यसैगरी, नयाँ मुलुकमा अवादी सुरु भइसकेपछि त्यस क्षेत्रको कुत बक्यौता रहन गयो । बाँकी बक्यौता उठाउन राणहरूले यस क्षेत्रमा कार्यालय नै राखे । जसलाई बाँकी अड्डा भनियो । बाँकी अड्डा वरिपरि मानिस बस्न थालेपछि गाउँ नै भयो, यो गाउँलाई बाँके भनिएको पो हो कि ? भन्ने एकथरीको तर्क छ । सत्ययुगमा सतीदेवीको जिब्रो पतन भर्इ त्यस ठाउँमा वाक्यस्वरी देवी उत्पन्न भई स्थापित वाक्यश्वरी हाल बागेश्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा ‘वाक्य’ भनिँदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ । परापूर्वकालमा यहाँका मानिसहरूले घामपानी, हुरी, बतास आदिबाट सुरक्षित रहन वरिपरि घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे । अधिकांश बाँके घरहरू रहेको बस्तीलाई ‘बाँके बस्ती’ भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ । कतैकतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरेको पाइन्छ ।

 

तर बाँके भन्ने गाउँको नाम प्रचलन कहिलेदेखि सुरु भएको हो ? भन्ने कुराको एकीन नगरी यी माथिका तर्कहरूमा विश्लेषण गर्न सकिन्न । जसरी गण्डकी क्षेत्रमा कुनै राज्यको पनि अधीनमा नभएका गाउँलाई गर्खा भनिन्थ्यो । त्यसरी नै पश्चिम कर्णाली क्षेत्रमा कुनै पनि राज्यको अधीनमा नभएका गाउँलाई बाँकी भन्ने गरिएको पनि हुनसक्छ । न दैलेख राज्यको, न डोटी राज्यको, न दक्षिणको लखनउ राज्यको अधिनमा पो थियो कि यो क्षेत्र भन्ने अनुमान लगाउन पनि सकिन्छ ।