काठमाडौं । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाँदै छन् । उनी आज साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराउने तयारीमा छन् ।
चितवन जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं.२ बाट निर्वाचित भएका रवि लामिछानेकाे नेपालको नागरिकता अवैध ठहर भएकाे फैसला आएसंगै श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका हुन् ।
निर्वाचन सम्बन्धी कानूनले झूटो विवरण दिएर कायम रहेको उम्मेदवारीका कारण निर्वाचन परिणाममा फरक पर्ने भएमा त्यस्तो उम्मेदवारको निर्वाचन बदर हुने व्यवस्था गरेको छ ।
यो पढ्नुहाेस् : के छ कानुनी व्यवस्था ?
मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत चितवनको क्षेत्र नं २ मा उठेका उम्मेदवारहरु मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका अवैध उम्मेदवार रवि लामिछानेले ४९,३०० मत हासिल गरेर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४,९८८ मत ल्याएका थिए । नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोखरेलले १४,६५२ मत ल्याएर तेस्रो भएका थिए ।
अन्य प्रतिस्पर्धीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन अधिकारीले ९५५, मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २७७, हाम्रो नेपाल पार्टीका अमृत तामाङले १४९, स्वतन्त्र उम्मेदवार भास्कर चन्द्र न्यौपानेले ८२, स्वतन्त्र उम्मेद्वार देविका कुँवरले ६३, जनता समाजवादी पार्टी नेपालका मुस्तफा अलीले ६२, जन समाजवादी पार्टी नेपालकी प्रभा त्रिपाठीले ५८, नेपाल मजदूर किसानका ज्ञानेन्द्र प्रजाले ५५,स्वतन्त्र उम्मेद्वार अंगुर पन्तले ४६ र स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले २६ , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्रीले २०, सुदर्शन प्रधानले १६ र खेमराज भट्टराईले ४ मत ल्याएका थिए ।
प्रतिक्रिया