सम्पति र लगानीको सुरक्षा गर्न एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माका दुई विकल्प

सम्पति र लगानीको सुरक्षा गर्न एनआरएनए उपाध्यक्ष डा. हेमराज शर्माका दुई विकल्प


समयपथ
0
Shares

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले प्रवासी नेपालीहरुको सम्पति र लगानीको सुरक्षा गर्न दुईवटा विकल्प अघि सारेका छन् । उनले विदेशी नागरिकता लिएकै समयमा नेपालमा गरिएको लगानी र सम्पतिको सुरक्षाका लागि ती विकल्प अघि सारेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष डा. हेमराज शर्माले रवि लामिछानबिरुद्धको फैसलाले सबै नेपालीहरुलाई प्रभाव नपारे पनि केही गैरआवासीय नेपालीहरुको सम्पतिमा जोखिममा रहेको बताए । उनले विदेशी नागरिकता लिएर जानी नजानी नेपालको नागरिकता प्रयोग गरेर नेपालमा कारोवार गरेका थुप्रै नेपाली रहेको बताउँदै प्रष्ट कानुन नबनेको अवस्थामा बाध्यात्मक रुपमा घर जग्गा लिने, लगानी गर्ने नेपालीहरुमा त्रास रहेको बताए ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाको आयोजनामा आइतवार भरर्चुल अन्तरक्रियालाई सम्बोधन गर्दै डा शर्माले विदेशी नागरिकतावाहाल रहेकै बेलामा नेपाली नागरिकता प्रयोग गरी जोडेको सम्पति तथा लगानीलाई कानुनसम्मत बनाउन दुईवटा विकल्प अघि सारे ।

उनले गैरआवासीय नेपालीहरुको लगानी र सम्पतिलाई कानुन सम्बत बनाउन यसअघि नेपाली नागरिकता प्रयोग गरेर नेपालमा जोडेको सम्पति र लगानीलाई आम माफी मार्फत कानूनी दायारामा ल्याउन सकिने बताए ।

उनले अर्को विकल्पमा गैरआवासीय नेपालीहरुलाई कम्तिमा दुई वर्षभित्र स्वघोषित रुपमा आफ्नो सम्पति तथा लगानी कानुनको दायारामा ल्याउन अवसर दिनुपर्ने सुझाव दिए ।

नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता मुद्दाका विषयलाई लिएर विदेशमा बस्ने नेपाली तरंगीत हुन नपर्ने बताएका छन् ।

ज्ञवालीले लामिछानेको मुद्दा संविधानको धारा १३ सँग नागरिकता प्राप्ति र पुनर्रप्राप्तिसँग जोडिएको बताउँदै गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्था संविधानको धारा १४ मा व्यवस्था गरिएको प्रष्ट पारे ।

मन्त्री ज्ञवालीले विदेशमा नेपालीहरुले सिकेको ज्ञान सिप नेपालको सम्पति भएको बताए । उनले भने ‘विदेशमा आर्जन गरेको स्रोतलाई नेपालीमा लगानी गर्नुस्, विदेशमा गरिएको लगानी भन्दा नेपालको लगानीमा बढी मुनाफा पाइन्छ, युरोप एकैपटक होइन, नेपालमा समुन्नत बन्ने बाटो छ ।’

पूर्वमन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराईले देश आर्थिक सामाजिक रुपन्तरणको लागि समनतामुलक नेपाली समाज निर्माको दिशामा अघि बढ्ने बताए । उनले भने, संविधानले राजनीतिक अधिकार स्थापित गरेको अवस्थामा अबको मुलभुत अजेण्डा आर्थिक र सामाजिक हुनुपर्छ, बिभिन्न विभेद हटेपछि मात्र समाज समुन्नत हुन्छ ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाले पूर्वगृहमन्त्री रवि लामिछानेबिरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले विदेशमा रहेका नेपालीमा पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय समितिका अध्यक्ष संजय थापाले विदेशमा बस्ने नेपालीले अर्थतन्त्रलाई सहयोग गरेको बताउँदै सरकारले नागरिकता र मताधिकारको व्यवस्था गर्न आग्रह गरे । बाबाराजेश्वरी थापाले सञ्चालन गरेको कार्यक्रममा प्रवासी नेपाली मंच युरोप संयोजक मुक्त गुरुङले धन्यवाद मन्तव्य दिए ।