विज्ञान कर्म हो कर्म गर्नुपर्छ, गरिन्छ त्यो,
परन्तु बुद्धिमानी हो ज्ञानी निस्काम पाउनु
त्यो कर्ममा । छ विज्ञान आफूबाहिर, ज्ञान छ
आफूभित्र, उ टाढा छ, खोजिमा हिँड्नुपर्दछ ।
–बालकृष्ण सम
बालकृष्ण सम (१९५९–२०३८) आधुनिक नेपाली साहित्यको परिष्कारवादी धारामा देखा परेका ख्यातिप्राप्त साहित्यकार हुन् । उनको जन्म पिता समरशम्शेर र माता किर्तिराज्यलक्ष्मी जङ्गबहादुर राणाको कोखबाट वि.स.१९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको हो । उनी जन्मदा देशको प्रधानमन्त्री चन्द्रशम्शेर राणा थिए । राणा परिवारमा जन्मेको हुँदा समका शिक्षा, दिक्षा र लालन पोषण राम्रै थियो । उनी बालककाल देखिनै स्वतन्त्रताको पक्षमा वकालत गर्ने बानी थियो । उनका बाजे डम्बरशम्शेर जवरा सामन्ती संस्कार प्रवृत्तिका थिए । आफ्ना नोकरचाकरलाई कोराले हिर्काउथँे । घरमा रँहदा पनि उनका बाजेले कोरा लिएर बस्थे । सम हिटलर शैलीका बाजेको प्रवृतिप्रति रूष्ट थिए ।
उनी भन्दा १३ महिना अघि जन्मेका दाजु पुष्करशम्शेर राणा एक हात र एक खुट्टा नचल्ने लुला थिए । अपाङ्गलाई घर परिवारमा सबैले माया गर्थे । समलाई बाल्यकालमा के लाग्थ्यो भने परिवारबाट माया ममता नपाई आफू अपहेलित भएँ । आफू पनि दाजु जस्तै बिरामी भएको भए सबैले माया गर्थे भन्ने सोच राख्थेँ । उनी बालक कालमा नै विरत्तिएर एकान्तमा बस्ने, मानसिक चिन्ता र कल्पनाको संसारमा डुब्ने गर्नाले नै साहित्य लेखनमा प्रेरणा मिलेको हुन सक्छ ।
उनले दरवार हाईस्कूलबाट शिक्षा लिने क्रममा मेट्रिक परीक्षा कलकत्ताबाट उर्तीण गरे । किनकी त्यस बेला मेट्रिक परीक्षा नेपालमा हुँदैनथ्यो । त्रिचन्द्र क्याम्पसमा आई.एस्सी. सम्मको अध्ययन गर्दा गर्दै किताब–कापी फ्याली हतियार समाई यिनी आर्मीका कर्णेलसम्म भए । सानो उमेर देखिनै सम शालिन स्वभावका साथै प्रगतिशील सोच राख्ने हुँदा राणा शासकको अाँखामा कसिङ्गर भएका थिए । नेपालमा सात सालको क्रान्तिपछि आफ्नो थरको शेर निकाली सम मात्र लेख्ने गरे ।
यसरी राणाकालमा जन्मेर पनि नेपाली साहित्यमा आठ वर्षको उमेरदेखि लेख्न थालेका सम विशेषत ः १९७५–१९९० सम्म अमूर्त रूपमा उपस्थिति थिए ।
साहित्यमा लाग्दै गर्दा आफ्नो विचारलाई प्रवाह गर्न कत्तिको सफल भए वा नभएको भन्ने सन्दर्भलाई यिनको भनाई–‘‘यसमा यस्तै भयो भन्न म सक्तिनँ, किनभने कवि पूरा स्वतन्त्र भए उनीहरूको काव्य–रचना धेरै उच्चस्त्तरको हुन्छ । स्वर्गीय देवकोटाज्यूमा हामी यही गुण पाउँछौ । साहित्यिक जीवनको वीच बाटोमै म मानवताद्वारा नियन्त्रित भएँ । यी त्रुटिहरू हटाउने भरसक प्रयोग गर्न थालेँ, फलस्वरूप म मुक्त हुन पाइनँ । दार्शनिक भएँ–उड्न सकिनँ, राष्ट्रवादी भएँ– घेरा नाघ्न सकिनँ । नातिजा स्वरूप हरेक साहित्यिक कृतिमा आफ्नो सिद्धान्त घुसाउन खोजे–तर कतै सफल भएँ, कतै असफल ।’
वि.स.२००४ सालमा शारदा पत्रिकामा उहाँले ‘स्वर्ग र देवता’ शीर्षकको कविता छपाएका थिए । गद्य भाषामा लेखिएको यस कवितामा १५९ वटा पङ्तिमा रचिएको कविता हो । यसमा १७ पङ्क्ति संस्कृतमा लेखिएको छ । यस कवितामा विश्व मानवतावादी भावना र प्रतीकात्मक शब्द शब्दावलीहरूको प्रयोग गरेका छन् । अध्यात्मवादी पूर्वीय दर्शन र भौतिकवादी पाश्चात्य चिन्तनको संयोजन गरी कविता लेखेका छन् । उनको कवितामा देशभक्ति, मानवतावाद र राष्ट्रियताप्रति कलम चलाएका छन् । परिस्कृत भाषाका प्रयोग गरेर लेखेका समका कविताहरूको मुख्य गुण नै बौद्धिकता हो ।
समले लेखेका अनगिन्ति कवितामध्ये २००१ सालमा प्रकाशित ‘‘इच्छा’’ शीर्षकका कविता ज्यादै लोकप्रिय छ । शार्दूलबिक्रिडीत छन्दमा चार÷चार वटा हरफे चारवटा श्लोकहरू लेखिएका कविताको भाव देशभक्तिले ओतप्रोत छन् । स्वतन्त्रता र समृद्ध मुलुकको परिकल्पित यस कवितामा जन्म र मृत्यु नेपालमा नेपालीहरूसँगै होस् भन्ने जाहेर गरिएको छ :
इच्छा यो छ महेश ! अन्तिम जसै त्यो मृत्यु शैया जली
मेरो रक्त सुकाउला म गरूँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरू परून् नेपालकै केवल
जेजेमा हिमशैलको छ मधुरो मिठो चिसो चुम्वन् ।
यो नेपाल स्वतन्त्र भै फुलिरहोस् राजाप्रजामा सधै
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐश्वर्यको
यो सन्देश म व्रहनाल तकिया पारी पठाऊँ वहाँ
साक्षी शङ्कर छन् श्मशानपछिका आशा रहेका जहा !
बज्ला मन्दिरमा तथास्तु जब त्यो घण्टा दिदै उत्तर
हाँस्तै, शान्त भई उही समयमा नेपाली हेरी मरूँ,
मेरो लास पबित्र चन्दन घसोस् कात्रो मलाई बनोस्,
नेपाली सुकुमार हातहरूले खस्रा बुनेका लुगा !
नेपाली बनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाटतटको साजा चितामा जलूँ
पाऊँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा
नेपालीहरू छन् मरीकन सबै जन्मीरहेका जहाँ ।
समका आगो र पानी (खण्डकाव्य) त्यत्तिकै चर्चा योग्य नै छ । यस खण्डकाव्यमा इतिहास, ज्ञान विज्ञानको वर्णन गरिएको छ । सृष्टिको शुरूवातदेखि आगो र पानीको उल्लेखनीय भूमिका रहन जान्छ । आगो क्रोध, हिंसा हो भने पानी शान्ति, अहिंसा हो । मनुष्यको चिन्तनमा आगो र पानीले गर्दा नै हिंसा, हत्या, दया, मायाको गहिरो छाप रह्यो । उनले आगोलाई सिकन्दर र पानीलाई बुद्धजस्ता पात्रहरूको संज्ञा दिएका छन् ।
जङ्गली चिच्याई भन्छ
आगो अत्याचार गर्छ,
पानी बेइमानी गर्छ
मैले साँच्ची भनेको
तिनका कुरै नसुन
नेपालीद्वारा एसियालाई
एसियाद्वारा विश्वलाई भन्छु,
यो मेरो शिक्षा होइन,
पुकार होइन, विलाप सुन
आगो र पानीको झगडामा हामी
अशान्ति मात्रै देख्छौ,
आगो आगोमा मृत्यु देख्तछौ
पानी पानीमा मसानको शान्ति,
पानीको रस र आगोको आचँमा
मात्रै जीवन ढुकढुक गर्छ ।
स्वर्ग र देवता’ शीर्षकको कवितामा समले धर्तीलाई स्वर्ग र मानवलाई देउताको प्रतीकात्मक शब्द शब्दावलीहरूको प्रयोग गरेका छन् । स्वर्गरूपी भूमिमा हिंसा व्याप्त रहेको भाव प्रस्तुत गर्दै शान्ति, मेलमिलाप, सहकार्य, एकता गरेमा मात्र मानव संसारमा सुख समृद्धि आउछ ः
पृथ्वी तिमी चाउरी परेकी छौ, छ्याकटी छौं, उचाहिँ
मखमली आरूको सतह भएकी पोटिली चिल्ली होली
तिम्रो अनुहार कच्याककुचुक छ, उ अत्यन्त राम्री होली
० ०
मन्दिर, मस्जिद, गिर्जा भन्दै
विभिन्न ममता बोकी भक्त भै
झगडा गर्छन्
(स्वर्ग र देवता)
त्यसो त बालकृष्ण समले लेखेका अनगिन्ति कविताहरू मध्ये ‘स्वर्ग र देवता’ लाई उत्कृष्टको रूपमा लिन सकिन्छ । यस कवितामा परिष्कृत–परिमार्जित र प्रयोगधर्मी भाषाशैलीमा विश्व मानवताको अभिव्यक्ति भएका छन् ।
बालकृष्ण समले छोटा कविताको अलवा लामालामा कविता पनि लेखेका छन् । जसलाई खण्डकाव्य र महाकाव्य भनिन्छ । धेरै पृष्ठ भएकालाई महाकाव्य र थोरै पृष्ठ भएकालाई खण्डकाव्य । उनले लेखेका खण्डकाव्य धेरै छन् भने महाकाव्य एउटै छन् ती हुन् ‘चिसो चुल्हो’ । खण्डकाव्य र महाकाव्य लेख्दाको सन्दर्भलाई उहाँ यसरी स्मरण गर्नु हुन्थ्यो ‘‘मैले सोह्र वर्षको उमेरमा महाकाव्य लेख्नलाई पहिलो कलम चलाएको हुँ, त्यसको नाम ‘एक प्रभात स्मरण’ राखेँ तर त्यो प्रभात जस्तै छोटा भएर रह्यो, फेरि अठार वर्षको उमेरमा ‘आर्यघाट’ नाम दिएर अर्को काव्य प्रारम्भ गरे, त्यो पनि आर्यघाटको सेरोफेरोभन्दा विशेष फैलिन सकेन, फेरि ‘अवतार दर्शन’ प्रारम्भ गरेँ, त्यसको फैलिने लक्षण थियो, तर एक सर्ग लेखेसकेपछि मेरो दर्शन आदि सिद्धान्त बद्लियो, अनि नियमित आकस्मिकता लेखेर विचारको रूपरेखा ठीक पार्न खोजेँ । त्यहँबाट पचपन्न वर्षको उमेरमा यो ‘चिसो चुल्हो’ लेखेको हुँ, यति वर्ष लाएर गुम्स्याको भावना पाठकवर्गको समक्ष खोलेर राखेको छु । मैले यसलाई मोटो पार्न आफूलाई धेरै दुब्लो बनाएको तथ्यतालाई पनि म यहाँ प्रकर गर्दछु ।’’
‘चिसो चुल्हा’ महाकाव्य धेरै ठूलो महाकाव्य हो । यस्मा जम्मा बत्तीस सर्गहरू छन् । नेपाली समाजमा ब्याप्त गरिबीको कारणले खान नपाई भोकभोकै बस्नु परेको पीडालाई उजागर गर्ने प्रयास भएको छ । ‘चिसो चुल्हो’ को मुख्य पात्र गौरी र सन्ते हुन् । यी दुई पात्रबीच अस्वभाविकता र अतिशयोक्तिलाई अँगाल्नु उपयुक्त नरहेको सन्दर्भले नै यो महाकाव्यको धेरै चर्चा रहन गयो । समको प्रेम नै दर्शन भएको सावित भएको छ ।
सन्ते सदैव आखाँले भिक्षा निस्तब्ध भइकन थाप्दथ्यो
अलगबाटै आखाँले गौरी नीरव भई भिक्षा दिन्थी
उ के दिन्थी उ के पाउँथ्यो जान्दैनथे त्यो उनीलाई
न रात न दिन त्यो जान्न सक्तथे त जान्दथे त्यो उनीहरू ।
(चिसो चुल्हो)
नेपाली साहित्यमा कविता, निबन्ध, कथा र नाटकजस्ता विधाहरूमा कलम चलाउनु भएका समलाई शीर्षस्थ र सम्मानित रूपमा पु¥याउने विधा नाटक नै हो । सङ्ख्यात्मक र गुणात्मक हिसावले उनका नाटकहरूले नेपाली नाट्य साहित्य र सिङ्गो साहित्यको प्रतिनिधित्व गरेका छन् भने कृतिहरूमा सत्–असत्, निच–उच, अध्यात्मक, भौतिक आदिको बीच द्वन्द्व देखाएका छन् । उहाँका नाटकहरू ऐतिहासिक, पौराणिक र सामाजिक तीनै क्षेत्रका विषयबस्तुमा लेखिएका छन् ।
वि.स. १९७७ मा मिलिन्दा नाटक लेखेर नेपाली नाट्य विधामा कलम चलाउन सुरूवात गरेका समले वि.स. १९८५ मा ‘मुटुको व्यथा’ लेखी नेपाली नाट्य विधामा आधुनिकताको थालनी गराए । त्यसपछि ध्रुव (१९८६), मुकुन्द इन्दिरा (१९९४), प्रल्हाद (१९९५), अन्धबेग (१९९६), भक्त भानुभक्त (२०००), म (२००२), प्रेमपिण्ड (२०१९), अमरसिंह (२०१०), भीमसेनको अन्त्य (२०१२), तलमाथि (२०२३), तानसेनको झरी (२०२६), विरामी कुरूवा (२०२७), अमित वासना (२०२७), स्वास्नी मान्छे (२०३३), मोतीराम (२०३३), ऊ मरेकी छैन (२०३५) आदि प्रशस्त नाट्य कृतिले नेपाली साहित्यलाई समृद्धिशाली बनाएको छ । यसका अतिरिक्त भतेर, स्वास्नी, महाराज रणदुल्लभ, बोक्सी, राजेन्द्रलक्ष्मी, नालापानीमा, विमान पण्डित, नयाँ प्रण आदि अनेक नाट्य कृतिहरू छन् । समले आफ्नो जीवनकालमा प्रकाशित र अप्रकाशित गरी ३० भन्दा बढी पूर्णाङ्की नाटक र २४ भन्दा बढी एकाङ्की रचना गरेका थिए ।
गद्य, पद्य र गद्यपद्य तीनै शैली प्रयोग गरेका नाटक विषयका दृष्टिले पनि पौराणिक, ऐतिहासिक र सामाजिक छन् । समले पौराणिक विषयबस्तुलाई समेटिएर लेखिएको नाटक ध्रुव र प्रल्हाद हुन् । उनले ऐतिहासिक विषय बस्तुलाई समेटेर धेरै नाटकहरू लेखे । ऐतिहासिक नाटकहरू भीमसेनको अन्त्य, भक्त भानुभक्त, अमरसिंह, रणदुल्लभ, नालापानीमा र माटोको ममता आदि हुन् । नालापानी शीर्षकको नाटकले देशप्रेम झल्काउने काम गरेको छ ।
भतेर, बुहार्तन, तपोभूमि र अत्याधुनिकजस्ता नाटकले नेपाली समाजमा देखा परेका समस्याहरूलाई प्रस्तुत गरेका छन् । भने अमित वासना, तलमाथि र बोक्सी जस्ता नाटकले भने मनोविश्लेषणात्मक रूपमा बेजोडले चित्रण गरिएको छ ।
संवाद, अभिनय, रङ्गमञ्च, पात्र तथा चरित्र उद्देश्य र विषयवस्तुको कलात्मक प्रस्तुति पनि समको नाट्य विशेषता हो । उनले गद्य भन्दा पद्य शैलीमा लेखेका नाटकहरू धेरै छन् । पद्य नाटकमा अधिकांश अन्त्यानुप्रास नभएको वर्ण मात्रिक अनुष्टुप छन्दको प्रयोग गरेका छन् । अङ्ग्रेजी नाटककार विलिसम शेक्सपियरले नाटक लेखनीको क्रममा प्रयोग गरेका ब्ल्याङ्क भर्स र बालकृष्ण समका लेखनशैली मिल्दोजुल्दो देखिन्छ । तसर्थ समलाई नेपाली सेक्सपियरको उपनाम पनि दिइन्छ ।
शेक्सपियरको प्रभावबारे उनी यसो भन्छन्–‘‘हैन, मलाई प्रभाव पार्नेमा शेक्सपियर एक जना मात्र हैनन् । विदेशका वाल्ट हिव्टम्यान, डायलन थोमस, इलियट, रवीन्द्रनाथ ठाकुर, बाइरन, होमर, किट्स, शोली , बर्नाडशा, सफोक्लिज, युरिपाइडस्, स्काइलस्, समरमेट माम, इब्सेन, बाल्मिकि, ब्यास आदि र स्वदेशका कालीदास र लक्ष्मीप्रसाद देवकोटा मेरा अति प्रिय लेखकहरू हुन् । अनि भानुभक्तको भाषा र लेखनाथको शैली चौपट्टै मन पर्छ । स्वभावत ः आफ्ना प्रिय लेखकहरूबाट प्रभावित भएको छु – यिनीहरूबाटै प्रेरणा पाएको छु बेदबाट पनि धेरै प्रभावित भएर आफ्नो कृतिमा ज्यादाजसो अनुप्रासहीन अनुष्टुप छन्दकोप्रयोग गर्दछु ।’
बालकृष्ण समले लेखेका नाटकमध्ये रणदुल्लभ सफल दुखान्त एकाङ्की नाटक हुन् । ऐतिहासिक विषयवस्तुलाई लिएर लेखएको उक्त नाटकमा गोरखा राज्यका राजा रणदुल्लभ शाहको सत्यतामा आधारित घटनाक्रमलाई सार खिचेको छ । मूलपाठ अनुष्टुप् छन्दमा लेखिएको एकाङ्की कविता– नाटकको संज्ञा दिइएको छ । नाटकमा समाबेश भएका संवादका नमुना ः
हुन ता माहिलो हो त्या् हुर्केका सातमा पनि
परन्तु कलिलो ठान्छ त्यसैलाई सधै मन
मेरो, किन भने लड्छ सधैँ बालक झै त्यही,
चोट लाग्ला त्यसैलाई भन्ने जगजगी पनि
त्यसैले लाग्छ लोट्ला कि त्यो कुनै दिन भुइँमा
फेरी उठ्न नसक्नी भै
० ०
भाइ, खान बिचरी ती ढोन्यालीको कुरा म त
कहिल्यै पनि बिर्सन्न– बिद्या, बुद्धि, पराक्रम
तीनै तिमीमा देखेर– उनले सबको अगि
भने–साक्षत तिमी नारायणका अवतार रे ।
साहित्य लेखनको दौरानमा बालकृष्ण समले कथा थोरै लेखे । जति लेखे गुणस्तरीयतालाई नै ध्यान दिए । उनले जम्मा जम्मी बाह्र थान कथाहरू मात्रै लेखे । ती हुन्– देवराली, यौवन र सुन्दरता, खुकुरी, कैकेयी, हरिसिद्धि, टाँगन घोडा, नौली, तलतल, पराईघर, शरण, रूपको मूल्य र फुकेको बन्धन ।
विशेषत : समले नेपाली समाजमा नारी जीवनका व्यथाहरूलाई उजागर गरेका कथाहरूलाई प्रतीकात्मक, मनोविश्लेषणात्मक, सामाजिक र समस्यामूलकको रूपमा विभाजित गरेर हेर्न सकिन्छ ।
त्यस्तै गरी बालकृष्ण समले कवितातर्फ आगो र पानी (खण्डकाव्य २०११), चिसो चुल्हो (महाकाव्य २०१५), बालकृष्ण समका कविता (कवितासङ्ग्रह २०३८) र निबन्धतर्फ नियमितता आकस्मिकता (२००५), मेरो कविताको आरधान उपसना १(२०२३), मेरो कविताको आरधान उपसना २(२०२९) जस्ता कृतिहरू प्रकाशन गरे ।
बालकृष्ण समले नेपाली साहित्यमा लेखनीको क्रममा १९८७ साल तिर दरवार स्कूल र त्रिचन्द्र कलेजमा प्राध्यापन समेत गरेका थिए । यसपछि उहाँले नेपाली भाषा प्रकाशिनी समितिका अध्यक्ष (१९९०), रेडियो नेपाल निर्देशक (२००८), गोरखापत्रका सम्पादक (२००२), रोयल नेपाल एकेडेमीका सदस्य (२००४), नेराप्रप्रका उपकुलपति (२०२६), राजसभा स्थायी समितिका सदस्य (२०३०) मा रही कार्यअनुभव बटुले ।
नेपाली भाषा–साहित्य क्षेत्रमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै उहाँलाई विभिन्न पदक र पुरस्कारबाट पनि सम्मान गरिएको थियो । जस्तै ः गोरखा दक्षिण बाहु तेस्रो (१९९९), दोस्रो (२००९), रत्न स्वर्णपदक (२०२३), साझा पुरस्कार (२०२९) र पृथ्वी प्रज्ञा पुरस्कार (२०३५) आदि ।
नेपाली साहित्यका आलोक बालकृष्ण समको मृत्यु वि.स. २०३८ साउन ६ गते काठमाडौँ पशुपति क्षेत्रको आर्यघाटमा हुन गयो । बालकृष्ण समको नाट्यकारिताभित्र अन्र्तनिहित राष्ट्रप्रेम, मानवीय प्रवृत्तिहरूको जीवन्त चित्रण, सामाजिक समस्या, मनोवैज्ञानिक विश्लेषण, दर्शनको सूक्ष्मताबाट सबैले आफ्नो व्यवहार परिवर्तन गर्दै जानु नै उनीप्रतिको सच्चा प्रेम हुनेछ ।
प्रतिक्रिया