काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभएको छ ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यक्तालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताउनुभयो ।
उहाँले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएकाे बताउँदै असफल हुने छुट नरहेको उल्लेख गर्नुभयो। उहाँले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले केही समयदेखि संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौं कोणबाट प्रश्न उठाउने कोशिषहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताउनुभयो ।
उहाँले फेरी एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपील गर्नुभयो । प्रधानमन्त्री दाहालले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिटै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु गर्ने बताउनुभयो । नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकंक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया