राष्ट्रिय राजनीतिमा मादीबाट प्रथम नायक : लीलानाथ दाहाल

राष्ट्रिय राजनीतिमा मादीबाट प्रथम नायक : लीलानाथ दाहाल


समयपथ
0
Shares

सिरिसेदेखि सिंहदरवारसम्म

तत्कालीन मादीविर्ता नगरपालिका १, सिरिसे(मादी न.पा. ६) मा बाबु शिवप्रसाद तथा आमा पद्मकुमारी दाहालको कोखबाट दोश्रो सन्तानको रुपमा लीलानाथ दाहालको जन्म भएको थियो वि.सं. १९७५ साल वैशाखमा । उहाँका जेठा दाजु जीवप्रसाद दाहाल र भाइहरूमा क्रमशः साइला ईश्वरीप्रसाद, काईला भक्तिवार अन्तरे महीन्द्रप्रसाद र कान्छा केदारनाथ । उहाँका बहिनीहरू शोभादेव चापागाईं, चुडादेवी भण्डारी र रेणुका रेग्मी गरी तीन जना । उहाँका दुई पत्नी जेठी नरनाथ चापागाईंकी छोरी बसुन्धरा र कान्छी नन्दीकेशर पराजुली (हेलौंछा, भोजपुर) की छोरी पुण्यकुमारी । उहाँका भाइ छोरामा जेठा सुनिल र कान्छा योगेन्द्र विजय । उहाँका छोरीहरूमा जेठी सीता खनाल, माइली अम्बिका काफ्ले, साइली मञ्जु चौलागाई र कान्छी पीयूष भट्टराई गरी ४ बहिनी ।

देशमा २००७ सालमा नेपाली काङ्ग्रेसको अगुवाइमा आएको राजनीतिक परिवर्तन सँगसँगै लीलानाथ दाहालमा पनि उक्त पार्टिको प्रभाव पर्न गयो । उहाँका दाजु जीवप्रसाद र उहाँ दुवैजना यस पार्टिका समर्थक कार्यकर्ता हुनु भयो । त्यसबेलाको राजनीतिक परिवर्तनको मौका छोपी खुकुरी दल र गोरखा परिषद आदिका नाउँमा गाउँ गाउँमा लुटपाट र आतङ्क मच्चाउदै हिंड्नेहरूलाई असफल तुल्याउन उहाँको अग्रगण्य भूमिका थियो । यस क्रममा २००८ सालमा मादी विर्ता राम्बेनी माया पिलुवा खोला दोभानमा उहाँलाई मृगेन्द्र शमसेर पक्षधरले रक्ताम्मे पारी घाइते समेत बनाएथे। २००९ सालमा लीलानाथ दाहालकै अध्यक्षतामा मादीमा नेपाली कांग्रेस पार्टीको गठन भयो । सहायक सचिवमा शारदाप्रसाद दाहाल र बल्लभमणि रहनुभएछ ।

२०११ सालमा उहाँ र बल्लभमणि दाहालको नेतृत्वमा किसान जागरण अभियान अघि बढेको थियो । २०१३ सालमा राजा महेन्द्रको पैदल भ्रमणका सिलसिलामा धनकुटाको लेगुवा रामरिठ्ठामा पुगी मुलुकमा समयमै आम निर्वाचन गराउनका लागि उहाँले जोड दिनु भएको जनताकोतर्फबाट स्वागत गरी विभिन्न माग राखी जिल्लाको विकास गर्न र मुलुकमा समयमै आम निर्वाचन गराउका लागि उहाँले जोड दिनुभएको थियो । २०१४ सालमा भएको पार्टिको भद्र अवज्ञा आन्दोलनमा उहाँ आफैले चैनपुर बजारमा बसी आन्दोलनको नेतृत्व गर्नु भयो । २०१५ सालको पहिलो आम निर्वाचनमा उहाँलाई नै नेपाली काङ्ग्रेस पार्टिले टिकट दिई उमेद्वारी गराएको थियो । यसरी निर्वाचन क्षेत्र नं. २२ बाट उहाँ भारी मतले विजय हाँसिल गरी प्रतिनिधि सभा सदस्य बन्न सफल हुनु भएको थियो ।

राजा महेन्द्रद्वारा २०१७ सालमा बहुदलीय शासन व्यवस्था अपदस्थ गरी राष्ट्रघाती कदम अपनाएपश्चात् उहाँलाई गिरफ्तार गरियो । केही वर्ष जेलजीवन बिताएपछि उहाँले भारततर्फ गै निर्वासित जीवन बिताउनु प¥यो। पञ्चायती शासन व्यवस्थाका हिमायतीहरूले उहाँलाई पटक पटक अनेकौ प्रलोभन देखाई पञ्चायतको समर्थन गर्न लगाउन नखोजेका होइनन् तर नेपाली काङ्ग्रेस हुनुमा नै जीवनको परमानन्द संझेर जीवन पथमा अविचलित हुनुहुन्थ्यो उहाँ भन्ने कुरा लीलानाथ दाहालको स्मृतिग्रन्थमा दमननाथ ढुङ्गानाले आफ्नो लेखमा उल्लेख गर्नु भएको भनाइबाट अवगत हुन्छ ।
राजाबाट २०३६ सालमा सुधार सहितको पञ्चायती व्यवस्था कि बहुदल ? भनी घोषणा भएको जनमत सङ्ग्रहमा उहाँ बहुदलको पक्षमा सक्रियतापूर्वक लाग्नु भयो, जिल्ला भित्रका हरेक गाउँघरमा प्रचार प्रसार का क्रममा दौडनु भयो । २०४२ सालमा नेपाली काङ्ग्रेसको सत्याग्रह आन्दोलनमा समेत उहाँ क्रियाशील हुनु भयो यद्यपि उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । क्यान्सरबाट पीडित हुँदाहुँदै पनि पक्राउ परी उहाँले जेलको यातना भोग्नु परेको थियो ।

२०४५ सालमा उहाँ क्यान्सर रोगद्वारा ग्रसित भै मृत्यु शैय्यामा छट्पटाइ रहनुभएको अवस्थामा उहाँका भतिजा मन्त्री परिषदका सचिव शारदाप्रसाद दाहाल उहाँलाई भेट्न जानु भएको मौकामा उहाँले भन्नु भएछ– ’नानी ! देशमा प्रजातन्त्र चाँडै आउँदैछ, तर मैले देख्न नपाउने भएँ’भन्दै उहाँका आँखामा आँसु छचल्किएको दृश्यबारे शारदाप्रसाद दाहालले लीलानाथ दाहालको स्मृति ग्रन्थमा उल्लेख गर्नु भएबाट लीलानाथ दाहाल प्रजातन्त्रका खातिर कहाँसम्म चिन्तित हुनुहुन्थ्यो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । उहाँको मृत्यु २०४६ भाद्र ६ गते हुँदासम्म उहाँ नेपाली काङ्ग्रेस पार्टिको केन्द्रीय सदस्य रहिरहनु भएको थियो ।

लीलानाथ दाहाल एक जना समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व हुनुहुन्थ्यो । मादी हाई स्कुल खोल्ने काममा प.नन्दिशङ्कर दाहाल र पं. अनन्तराम दाहालहरू जति सक्रिय हुनुहुन्थ्यो त्यत्तिकै लीलानाथ दाहाल पनि एक जना सहयोद्धा र सहयात्री व्यक्तित्वका रूपमा हुनुहुन्थ्यो । विद्यालय स्थापना काल (२००८ भाद्र १२) मा उहाँ विद्यालय संचालक समितिको सदस्य रहनु भएको थियो भने २००९ सालमा दोस्रोचोटि सञ्चालक समितिको पुनर्गठन हुँदा उहाँ नै सभापति पदमा रही २०१४ सालसम्म निरन्तररूपमा सोही पदमा रही काम गर्नु भएको थियो । २०१४ देखि २०१६ सालसम्म पुनर्गठित सञ्चालक समितिमा उहाँ प्रचारमन्त्री भै काम गर्नु भयो । २०१७ देखि २०२१ सालसम्म ४ वर्ष लगाएर निर्माण गरीएको पक्की विद्यालय भवन निर्माण समितिको अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँले विद्यालयलाई आफ्नो नाउँमा जग्गासमेत प्रदान गर्नु भै जग्गादाता सदस्यका रूपमा पनि हुनुहुन्थ्यो । २०२५ सालमा मादीमा एस.एल.सी. परीक्षा केन्द्र ल्याउने कार्यमा पनि उहाँको नितान्त पहल रहेको थियो । ओखरबोटेमा साप्ताहिकरूपमा हाट लगाउनु पर्छ भन्ने चिन्तन र सोच निकाल्नु हुने र स्थान छनोट गर्नु हुने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसबेला अहिलेको जस्तो औषधी उपचार गर्ने व्यवस्था थिएन, त्यसैले घरायसी आयुर्वेदिक औषधी मुलो गरीदिनका लागि उहाँ आफै जडिबुटी र औषधी धुलो मुलो बोकी गाउँघर वारिपारिसम्म परामर्शसमेत दिने हिसाबले जानु हुन्थ्यो । यस प्रकार लीलानाथ दाहाल सर्वसाधारण मानिसहरूको स्वास्थ्य हेरचाह गर्ने र मानवसेवामा समेत समर्पित व्यक्ति हुनुहुन्थ्यो, भन्नै पर्दा उहाँ एक जनप्रिय सामाजिक प्रतिष्ठा बोकेका व्यक्तिका रुपमा चिनिनु भएको थियो ।

नैतिकवान् नेता, प्रतिबद्ध कार्यकर्ता, आदर्शवान् समाजसेवी व्यक्तित्व एक असल बाबु भएकै नाताले उहाँको सिङ्गो घर परिवार त्यसमा पनि उहाँका छोरा सुनिल दाहाल समेत निरङ्कुश पञ्चायती शासन व्यवस्थाका विरुद्धमा आजीवन लागिरहनु भयो । विद्यार्थी समुदाय माझ सक्रिय भै सङ्गठन निर्माणमा लानु हुन्थ्यो, नेपाली काङ्ग्रेसको व्यापक प्रचार, प्रसार गर्नु हुन्थ्यो। जेठी छोरी सीता, नेपाल महिला संघमा आबद्ध तथा प्रतिबद्ध मानिनुहुन्छ । कान्छी छोरी पीयूषले पिताजी लीलानाथकै पार्टिप्रतिको बफादारिताको कदरस्वरूप २०५१ सालमा सङ्खुवासभा क्षेत्र नं. २ को प्रतिनिधि सभाको आम निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टिकोतर्फबाट उमेद्वारी पाउनु भएको थियो तर विजय प्राप्त गर्न भने सक्नु भएन ।

प्रजातन्त्रका लागि एउटा निर्भिक सिपाहीका रूपमा रहनु भएका लीलानाथ दाहालले २०४६÷४७ मा मुलुकमा बहुदल पुनर्स्थापना भएको देख्न पाउनु भएन, तर पनि उहाँ जस्ता तपस्वी, त्यागी, लगनशील कार्यकर्ता भएकै कारणले देशमा बहुदलीय प्रजातन्त्रको पुनर्वहाली हुन सक्यो भन्न हिच्किचाउनु पर्दैन । पञ्चायती शासनले तीसवर्ष पछि घुँडा टेक्न पुग्यो । आखिर २०४६ साल भाद्र ६ का दिन क्यान्सर रोगबाट थलिएर उहाँको जीवन लीला समाप्त हुन पुग्यो । मुलुकमा प्रजातन्त्रको बहाली भएको देखन चाहने उहाँको सपना भने अधुरै रह्यो।

संखुवासभाका २७ राजनीतिक योद्धाहरूबाट