फागु पूर्णिमा

फागु पूर्णिमा


समयपथ
0
Shares

कृष्ण रासमा फागु मासमा
रङ्ग होलिका बाहु पाशमा
राधिकासँगै रम्य रागमा
फागु पूर्णिमा मग्न यादमा।१।

यौवना युवा प्यार प्रेरणा
भव्य नव्यता यार प्रेममा।
मेल मस्करी खेल सादगी
स्वच्छ तिर्सना वासना गढी।२।

गेय गायिका जेय माधवी
श्रेय नायिका ध्येय नायवी।
रङ्ग माझमा दङ्ग आँगनी
अङ्ग अङ्गमा श्रृङ्ग जागनी।३।

 

चिर्चिराउने मध्य बागमा
फुर्फुराउने पर्व माझमा।
मुग्ध मुग्धता विम्ब विम्बित
निर्घिनी घना धून धृष्टता।४।

क्या’छ होलिका चूर्ण पूर्णता
सप्त रङ्गले तुष्टि तुल्यता।
शून्य छ‌ैन रे दैन्य हैन रे !
उत्सवी उषा शीर्ष रेणुका ।५ ।

—–०—–

मादी,सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर।