निजी क्षेत्रको सहयोग खोज्दै अर्थमन्त्री डा. महत

निजी क्षेत्रको सहयोग खोज्दै अर्थमन्त्री डा. महत


समयपथ
0
Shares

काठमाडौं । कर्मचारीको ब्रिफिङ लिनुअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका प्रतिनिधिहरुलाई भेटेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षको साथ खोजेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले बिहान कुराकानी गरेका हुन्। कर्मचारीहरुले ब्रिफिङ गर्नुअघि उनले निजी क्षेत्रसँग कुराकानी गरेका हुन्।

उनले यसअघि शुक्रबार पदवहाली हुनेवित्तिकै महासंघ अध्यक्ष गोल्छालाई टेलिफोन गरेर सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। त्यसैलाई निरन्तरता दिँदै महतले महासंघको प्रतिनिधिमण्डलसँग भेटेर सुझाव मागेका हुन्।

महासंघका अध्यक्ष गोल्छाले चार वटा विषयहरुमा तत्काल काम गर्नु पर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन्। गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याज दर घटाउनु पर्ने सुझाब दिएका थिए। उनले ब्याज घटाउनका लागि केन्द्रीय बैंकसँग पनि ठाउँ रहेको र सरकारले पनि तरलता प्रवाह गरेर ब्याजदर झार्नु पर्ने सुझाब दिए।

‘तरलता प्रवाह गर्न सबै खालका उपकरणहरुको प्रयोग गरौं भन्ने कुरा हामीले गर्‍यौं’ भेटपछि गोल्छाले बिजमाण्डूसँग भने। उनका अनुसार सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन आवश्यक देखिएको छ। गोल्छाले सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि सुझाव दिए। अहिले करिव २४ प्रतिशत मात्र सरकारी खर्च छ। यसलाई विस्तार गर्न उनले आग्रह गरेका हुन्।

अहिले सरकारसँग राजस्व कम उठेकाले खर्च गर्ने पैसा नरहेको सन्दर्भ जोडेर गोल्छाले बाहिरी ऋण उठाएर भएपनि खर्च गर्न भनेका हुन्। ‘यसरी लिएको ऋण सामाजिक सुरक्षा लगायतका अनुत्पादक क्षेत्रमा बाँड्नलाई होइन विकास खर्च गर्नलाई प्रयोग गर्नु पर्छ’ उनले भने।

उनले विगतमा सरकार र केन्द्रीय बैंकमार्फत आयात बन्द हुँदा अवैध कारोबार बढेको उल्लेख गर्दै अहिले आयात खुल्दा पनि अवैध कारोबार नघटेको बताए। ‘त्यसबेला सुरु भएको अभ्यास अहिले पनि जारी छ। अहिले पनि अवैध आयात भइरहेको छ’ उनले भने, ‘राज्य संयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुनै अवैध आयात रोक्नु पर्छ। त्यसपछि राजस्वमा पनि वृद्धि हुन्छ।’

अहिले नेपालमै उत्पादन भएर निर्यात हुने कतिपय बस्तुहरुको भारतबाट अवैध आयात भएर नेपालमा बिक्री भइरहेको छ। त्यसलाई संकेत गर्दै अध्यक्ष गोल्छाले अवैध आयात रोक्दा आन्तरिक उत्पादन पनि बढ्ने बताएका हुन्।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग कुरा गर्न पनि आग्रह गरेका छन्। दिन्छु भनेर प्रतिबद्धता जनाएकाहरुले पनि पैसा नदिएको भन्दै उनले शोधभर्नाको समस्याहरु समाधान गर्न आग्रह गरे। उनले स्थानीय दाताहरुको छुट्टै सम्नेलन गर्न पनि सुझाव दिएका छन्।

गोल्छाले निजी क्षेत्रको मनोबल गिरेको सन्दर्भ उल्लेख गर्दै त्यो उकास्न आग्रह गरे। उनले राजस्व उठाउने बाहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिएका छन्। अहिले राजस्व अनुसन्धान विभागले अनावश्यक दबाब सिर्जना गरेर पैसा उठाउने काम गरिरहेको छ।

निजी क्षेत्रमैत्री सन्देश प्रवाह गर्दै अगाडि बढे समस्याहरु समाधान गर्न सकिने गोल्छाको धारणा थियो । अर्थमन्त्री महतले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने बताए। धेरै बिषयहरु केन्द्रीय बैंकसँग सम्बन्धित भएको गोल्छाको भनाइमा डा. महतले नेपाल राष्ट्र बैंकका गभर्नरसँग कुराकानी भएको र सँगै अगाडि बढ्नेमा सहमत भएको बताए।

महतले निजी क्षेत्रको सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा बाक्लै संबाद गर्ने जानकारी गराएका थिए।