अभिभावककै सहमतिमा बाल विवाह

अभिभावककै सहमतिमा बाल विवाह


समयपथ
0
Shares

दाङ । दाङमा अभिभावकै सहमतिमा बालविवाह हुने गरेको पाईएपछि प्रहरीले बिवाह गर्ने र गराउने दुवै पक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न थालेको छ । बालबिवाहलाई गाउँघरमा सामान्य रुपमा लिने प्रबृत्ति नरोकिएपछि विवाह गर्ने र गराउने दुबै पक्षलाई कानुनी कार्वाही गर्न थालिएको प्रहरीले जनाएको छ ।

बालविवाहले भविष्यमा पर्ने समस्याका बारेमा धेरै अभिभावकलाई ज्ञान नहुँदा यस्ता विवाह हुने गरेका छन् । तर सरकारको नीतिअनुसार यी घटना नियन्त्रण गर्न प्रहरीले बिवाह गर्ने र गराउने दुवैलाई पक्राउ गरी कानुनी कारवाही थालेको छ ।

केहीदिन पहिले विवाह मण्डपबाटै बेहुला र बेहुली पक्राउ परे । उनीसँगै बिबाह गराउने बेहुला र बेहुलीका आमा, बा र केही आफन्तलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत दाङमा मुद्धा दर्ता गरी कानुनी कारबाही थाल्यो ।

प्रहरीले दाङको बंगलाचूलीमा बालबिवाह हुन लागेको खबर थाहा पाउँदा उक्त विवाह रोकिदियो । तर गाउँघरमा यस्ता बालविवाह हुने दर बढ्दै गएको छ । गाउँघरमा सामान्य मानिने बालबिवाहका घटनाले भविष्यमा बालबालिकामाथि आईपर्ने समस्यालाई आंकलन गर्न नसक्दा यस्ता घटना दैनिक घट्दै आएका छन् ।

गरिबी, अशिक्षा र बुबा आमाको माया ममताबाट टाढा रहँदा बालविवाहका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतम बताए ।

बालबिवाहका कारण घरेलु हिंसा, बहुविवाह, कुटपिट, बैदेशिक रोजगारमा विस्थापित, चोरी, डकैती लगाएत जघन्य प्रकृतिका अपराधिक घटना घट्ने गरेको प्रहरीको तथ्याङले देखाउँछ । स्थानीय निकाय गठन भएसँगै बालविवाह नियन्त्रणका लागि सामाजिक विकास र जनचेतनामुलक कार्यक्रम हुने गरेपनि त्यसले खासै सफलता पाएको देखिंदैन ।

महिला बालबालिकाको क्षेत्रमा उल्लेख बजेट ब्यबस्थापन गरेर काम थालेपनि गरिब र बेरोजगारका समस्या हल नहुँदा बालबिवाह नियन्त्रण नहुने घोराही उपमहानरपालिका प्रमुख नरुलाल चौधरीको अनुभव छ ।

युनिसेफका अनुसार बालविवाह धेरै हुने मुलुकहरूमध्ये नेपाल विश्वकै शीर्ष दशमा पर्दछ । त्यसमध्ये प्रत्येक बर्ष १ सय ५० देखि २ सय जना नवजात शिशु र आमाको कम उमेरमा विवाह गर्दा ज्यान जाने गरेको देखिन्छ ।