नेपाल जनजातिको दृष्टिकोणले अन्य राष्ट्रको तुलनामा धनी रहेको छ । परम्परादेखि आफ्नै रीतिरिबाज, संस्कृति र संस्कारहरूको अनुसरण गर्दै आ–आफ्नो जातित्वको पहिचान गरी राष्ट्रलाई नै सिँगारिएको छ । नेपालमा रहेको अनेकन जातिमध्ये माझी पनि एक हो । माझी जाति अन्य जनजातिको दाँजोमा पछि नै परेको छ ।
यी जाति मुख्यतः रामेछाप, वाग्लुङ, तनहुँ, पाल्पा, गुल्मी, नुवाकोटका साथै सुदूर पश्चिम तथा भित्री मधेसमा बसोबास गर्दै आएका छन् भने अहिले फाटफुट बसाइँ सर्ने क्रममा ४० वटा जिल्लामा छरिएर रहेका छन् । यस जाति नेपालको भूमिमा आदिम कालदेखि बसोबास गर्दे आएको हुनाले आदिवासी हुन् ।
बोटेहरूको उत्पत्ति स्थल कुन हो र यिनीहरू कुन जातिसँग सामीप्य राख्दछन् भन्ने कुरा खोजीकै विषय रहेको छ । बोटेहरू नदीकिनाराका छेउछाउ र पहाडका वंशीहरूमा बस्ने तथा घटुवारे जीवन यापन गर्ने गर्दछन् । त्यसैले काम गर्ने दायित्व लिएका माझी र यिनीहरू एकै वर्गका हुन भनी धेरै लेखकहरूले वर्णन गरेका छन् । ह्यामिल्टनले आफ्नो पुस्तकले An Account of the kingdom of Nepal मा माझीबारे वर्णन गरेका छन् । उक्त वर्णन रायमाझी भनिने अर्को क्षत्रिय जातिको वर्णन हो अथवा यिनै बोटेलाई माझी भनी उनले पनि वर्णन गरेका हुन, अहिलेसम्म थाहा लाग्न सकेको छैन । कसैकसैले यिनीहरूको नाउँ अङ्ग्रेजी भाषाबाट आएको पनि सोचेका छन् । नदीमा डुङ्गा (Boat) चलाउने हुँदा यिनीहरूलाई बोटे भनिएको हो भन्ने पनि अनुमान कसैकसैको रहेको पाइन्छ ।
‘बोटे जाति एक परिचय’ नामक पुस्तकमा यिनीहरू र माझी एउटै जात हुन् भनी भोजराज थपलियाले वर्णन गरेका छन् । जनकलाल शर्माले बोटेको नाउँ उनीहरूले बोट (रूख) को फेदबाट ढुङ्गा बनाउने हुँदा बोटे भन्ने गरिएको हो भनी बताएका छन् । यिनीहरू थारूहरूबाट छुट्टिएको एउटा सानो वर्ग हो भन्ने पनि कसैकसैको कथन छ । सामाजिक र सांस्कृतिक प्रचलनका कतिपय लक्षणहरू मिल्दाजुल्दा देखिए तापनि बोटे र माझीहरू थारूबाट आएका हुन भन्ने कुरा आधारहीन हो भनि सुरज सुब्बाले आफ्नो पुस्तकमा बताएका छन् ।१
जातीय परम्पराअनुसार यस जातिलाई पहिलो पानी बोटे र दोस्रो पाखेबोटे भनिन्छ । यिनीहरूको जातीय विभाजन हुनुमा एउटा रोचक किंवदन्ती यस्तो पाइन्छ–माझी बूढाहरूका अनुसार प्राचीन समय मस्र्याङ्दी नदीको तीरमा दुई दाजुभाइ डुङ्गा तार्ने काम गर्दथे । यसै क्रममा एक दिन गोरखकाली देवीमाईले पारि तारिदेऊ भनिछन् । पारि तारिदिएबापत भाडा थाप भनिछन् । तर त्यस बेला उनीहरूसँग त्यस्तो थाप्ने कुनै राम्रो भाँडो नभएकाले माछा मार्ने जाल अर्को शब्दमा बलियो धागोबाट तयार गरिएको माछा राख्ने (प्वाल–प्वाल भएको जाल) थापेछन् । गोरखकाली माईले भाडास्वरूप बगरको बालुवा जालमा हालिदिइछन् । अकस्मात् उक्त बालुवा सुनमा परिवर्तन भई जालबाट छिरेर नदीमा खसेछ । सुन छोप्न एक भाइ नदीको तीरैतीर दौडिएछन् भने अर्को भाइ पाखामा बसी यो रमाइलो दृश्य हेरिरहेछन् । त्यस बेलादेखि नै पाखामा बस्नेलाई पाखेबोटे र सुन खोज्न दौडिनेलाई पानीबोटे भनिँदै आएको परम्परा पाइन्छ । यस जातिले प्राचीन कालदेखि नै डुङ्गा खियाएबापत राजारजौटाहरूद्वारा बकसस्वरूप अन्नपात तथा पैसा पाउने गर्दथे र त्यसैबाट नै सामान्य जीवन गुजारा गर्दथे र त्यसैबाट नै सामान्य जीवन गुजारा हुन्थ्यो । यस जातिमा आफ्नो निजी जमिन नभएकाले मेहनत मजदुरी गरी परिवार धान्दथे । तर पछि गोरखाका राजा राम शाहका पालामा आएर प्रत्येक माझीले प्रशस्तै जग्गा जमिन पाएका थिए ।२
यो जातिको पुख्यौली बसोबास सप्तकोसी र यसका सहायक नदीकिनार हुन् । सिन्धुपाल्चोकको इन्द्रावती, रामेछाप र दोलखाको तामाकोसी, रामेछाप र ओखलढुङ्गाको लिखु, ओखलढुङ्गा र खोटाङको दूधकोसी, भोजपुर, सङ्खुवासभा र धनकुटाको अरुण, धनकुटा पाँचथर र तेह्रथुमको तमोर नदीको आसपासका क्षेत्रमा माझी जाति बस्छन् । यसै गरी सिन्धुपाल्चोकको सुनकोसी किनारको कपिङमाझी गाउँदेखि काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर र सुनसरीका मधुवन, सुनकोसी र सप्तकोसीको वरिपरि, वाग्मतीको आसपास, मकवानपुर, काभे्र, सिन्धुली, सिन्धुलीको मरिनखोला, कमला र उदयपुरको त्रिपुगा नदीको वारिपारि यो जातिको बसोबास छ । नेपालमा पुख्र्यौली थलो भई विभिन्न स्थानमा फैलिएका माझी यहीको एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेका पाइन्छ । यसका साथै भारतको विहार राज्यको पूर्णिया जिल्लाको मकनहा र हरिपुर, दार्जिलिङ, आसाम र भुटानका गलेफू, चिराहाडमा समेत यिनै कोसीकिनारबाट बढीमा सात–आठ पुस्तापहिले मात्र बसाइँ सरी गएको र आएको माझी बूढापाका बताउँछन् । नेपालको दक्षिण मधेस भाग भारत र भुटानका माझी बूढापाका पुख्र्याैली थलो यिनै कोसीकिनारका घाट र गाउँको नाम बताउँछन् ।३ फिदिम र नुवाकोट जिल्लामा यिनीहरूकै जातिबाट अर्थात् बस्तीको नाम नै माझीटार राखिएको छ ।
राष्ट्रिय जनगणना २०६८ मा माझी जातिको जनसङ्ख्या ४०, ००५ महिला र ४०, ७२२ पुरुष गरी जम्मा ८३, ७२७ उल्लेख गरेको छ । यस जातिको परम्परा, भाषा, लोकसंस्कृति, सामाजिक संस्कार, रीतिरिबाज र जीवनशैलीको छुट्टै मौलिकता र पहिचान रहेको छ । बाह्य र आन्तरिक रूपमा हुने सांस्कृतिक आक्रमणको बाबजुद माझी जाति पनि आफ्नो सांस्कृतिक, धार्मिक र परम्परादेखि चलिआएको रीतिरिबाज एवम् परम्परा ओझेलमा पर्दै माझी जातिको अस्तित्व जोगाउन नसकी लोप हुने अवस्थामा पुगेको छ ।
आजकल सबै जातजातिका संस्कार र संस्कृतिमा बिस्तारै परिवर्तन हुँदै छ । विशेषतः विश्वव्यापीकरण, आधुनिकीकरण र सहरीकरणको प्रभावले मानिसका आफ्ना मूल्यमान्यता, विश्वास र आस्थामा क्रमशः परिवर्तन भइरहेको छ भने बसाइँसराइ र कामको खोजीमा यत्रतत्र जाँदा पनि मानिसमा मौलिक चालचलनमा हेरफेर भएको देखिन्छ । तर पनि मानिस आफूलाई एउटा विशेष जातजातिको भनेर अरूबाट भिन्न देखाउन तत्पर रहन्छ । उनीहरू कुन भौगोलिक क्षेत्रमा बसोबास गर्छन् ? के भाषा बोल्छन् ? कस्ता पोसाक पहिरन्छन् ? कस्ता गरगहना लगाउँछन् ? जन्मेदेखि मृत्युसम्म केकस्ता संस्कार मान्दछन् ? यी सबै कुराले एक जात अर्को जातसँग र एक जनजाति अर्को जनजातिसँग फरक छन् ? कति नजिक छन् भन्ने पहिचान गराउँछ ।४
सोझो, मिलनसार, हँसिला अनुहार, हृष्टपुष्ट र जस्तोसुकै अन्याय परे पनि प्रतिरोध गर्न मन नपराउने खालका माझी जातिको अनुहार शारीरिक बनोट व्यवहार र पेसालाई हेर्दा कुमाल, दनुवार, दमाई र थारूसँग जीवनसंस्कार र शैलीहरू एकआपसमा मिल्दोजुल्दो देखिन्छ । माझीहरू आफूलाई भगवान् रामको छोराको सन्तान मान्छन् ।
आजभन्दा तीन सय वर्षअघि मिसवा बजार र यस वरिपरिका फाँट सिसौ वृक्षहरूले ढाकिएको कुञ्ज थियो । मादी र सेती गण्डकी नदीहरूको सङ्गमस्थलनिर स्थित दमौली वा कास्कीको डाँडा तथा स्याङ्जाबाट आउने यात्रीहरू यस ठाउँबाट भएर यात्रा गर्दा यसको वन सिसौकुञ्ज देखेर नै यस ठाउँलाई सिलवा भनी सम्बोधन गरेको हुन सक्दछ । यसै सिसैवादेखि करिब सवा कोस उत्तर–पूर्वपट्टि पञ्च भैयाको डाँडो छ । वेगनास डाँडो तथा पञ्च भैयाबाट वेगनास तालको पूर्वी तटको समेत माझी कुनो भन्ने सानो बस्ती प्रस्ट देखिनेछ । यही कुनो आजभन्दा तीन शताब्दीअघि उसताकका तालवासीहरूले (माझीहरू) आबाद थियो । तर आज ती तालवासीहरूका वंशजहरूको नामनिसान यहाँ खोजेर पाइँदैन । उनीहरू कता बिलाए ? कता कुन ठाउँमा गए र बस्ती सारे ? यसबारे ऐतिहासिक, आर्थिक एंव सांस्कृतिक मनोवैज्ञानिक अध्ययन र अन्वेषण अपेक्षित छ ।५
नेपालको नदीकिनारका छेउछाउ र पहाडी क्षेत्रमा बसोबास गर्दै आएका यिनीहरू नदीमा डुङ्गा चलाउने हुनाले नै माझी जाति भनिएको हो । घामपानी, वर्षा, बाढी, पहिरोदेखि खासै नडराउने हुनाले नै यिनीहरूलाई जलचर वा जलजीवी जातिको रूपमा पनि लिइन्छ । त्यस्तै, जीवजन्तुसँग पनि भीडन्त गर्न सक्ने क्षमता माझीहरूमा भएकाले बहादुरको संज्ञा पनि दिइन्छ । बोटेका पुर्खाहरू भूतप्रेतसँग मीत लगाएर प्रशस्त मात्रामा धनसम्पत्ति आर्जन गर्दथे भन्ने कथन पनि छ ।
सुनधुँवा, कछारे, थरबोटे, कुसर, मुसर, दनुवार, कुमाले, बातर आदि थरहरू रहेका माझी जातिको नेपालमा आगमन कहाँबाट भएको हो भन्ने सम्बन्धमा प्रचलित भनाइअनुसार नदीका आसपासमा बस्ने, नदीमा माछा मार्ने तरिका भारतको पूर्वी क्षेत्रमा पाइने जातिसँग मिल्दोजुल्दो रहेको अड्कल गरिएको छ । माझी जातिको मुख्यः पेसा यात्रुहरूलाई डुङ्गा तारिदिने, माछा मार्ने र खेती गर्ने भए तापनि खेतीका निम्ति त्यति जग्गाजमिन हुँदैन । हिउँदका दिनहरूमा समूह–समूह भई त्रिशूली, मस्र्याङ्दी र बूढीगण्डकी नदीहरूको तीरमा ससानो छाप्रो बनाई बालुवामा सुन खोज्ने काम गर्छन् भने पहाडी इलाकामा बस्ने यी जाति अहिले आधुनिक तरिकाले खेतबारीमा तरकारी उत्पादन गरी आय आम्दानी गरिरहेका छन् । महिलाहरू गलैँचा बुन्ने काममा देशको विभिन्न सहरहरूमा गएको भेटिन्छ ।
देवघाटका अधिकांश बोटेहरू दिनदिनै जाल बुन्ने, बल्छी थापेर माछा मार्ने, डुङ्गा खियाउँदै जाल फालेर माछा तान्ने र नदीका कुनाकाप्चामा ढडिया थाप्ने गर्दछन् । यिनीहरू यात्रीहरूलाई डुङ्गाबाट नदी वारपार तार्ने र बैता लैजाने पनि गर्दछन् । यिनीहरू टाढाटाढा वनकिनाराबाट घाँस, खर, काठ, दाउरा र सामानका भारीहरू पनि नदीनदी खियाउँदै ओसारपसार गर्छन् । यिनीहरू बाढीले बगाएर ल्याएको मुढा, दाउरा नदीबाट थुतेर चिरचार पारी चाङ लगाएर राख्छन् र दाहसंस्कारका लागि ल्याएका लास पोल्न विक्री गर्छन् । पहाड र तराईका यात्री, तिनका डोका–डाला, थुन्चे, नुन–तेलका ढाकर आफ्ना डुङ्गामा राखेर बहाना खियाएर नदीवारपार गरिदिनु यिनीहरूको सयौँ वर्षदेखि चल्दै आएको पुख्र्यौली पेसा हो । डुङ्गा तार्दा प्रतियात्री १ पैसादेखि भाग लिँदै आएका यी बोटेले अचेल प्रतियात्री २० रुपियाँसम्म भाडा लिने गर्दछन् । डुङ्गा तार्ने यात्री नपाएका बखत यिनीहरू डुङ्गा लिएर जाल डोरीले समातेर नदीको माझमाझै फाल्दै नदीको शिरपुछार गरिरहन्छन् । यिनीहरू रातको समयमा कतै जाल त कतै ढडिया थापेर माछा मार्छन् । यो जात माछा भनेपछि भुतुक्क हुन्छ । पानीभन्दा एक दिन जेठो मानिएको बोटे यस ठाउँमा पानीले बगाएर र नदीमा डुबेर मरेको थाहा पाइएको छैन । १९९० सालको महाभूकम्पको धक्का राम्ररी थाहा पाएका नन्दे बोटे भन्छन्— “२०२७ सालमा ६० किलोको माछो बल्छीमा पारेँ, बल्छीबाट तानेर डुङ्गामा हालेको त्यो माछो दुई पटकसम्म नदीमै हामफाल्यो । देवघाटमा अहिलेसम्मकै फेला परेको सबभन्दा ठूलो माछो, तेस्रो पटक तानेर फेरि डुङ्गामै हालेँ, फेरि त्यसलाई फुत्कन दिइनँ । उति बेला त भाउ पनि थिएन, आफूले समातेको माछा छ रुपियाँ धार्नीमा भाग लगाएर बेचेँ । आधा बल्लबल्ल विक्री भयो । आधा घरकै जहानले खाए ।”
देवघाटका बोटेहरूको के अनुभव छ भने चैत महिनादेखि माछाहरू नदीको शिरतर्फ लाग्छन् र भदौ महिनादेखि नदीपुछारतर्फ फर्कन थाल्छन् । माछाहरू पनि थितिमा रहन्छन्, बेथितिमा बस्दैनन् । यिनीहरू जाडो–गर्मी, आहारा पाइने वा नपाइने विचार गरेर आफ्नो बस्ती बदल्छन् । देवघाटका नदीहरूमा असला, गर्दी, ठेडो, लहरी, सहर, जलकपुर, रहु, बुदुना, बाम, झिङ्गे, जुँगे, ट्याङ्गर जातका माछाहरू पाइन्छन् । यिनै माछाहरूको खोजीमा यहाँका अधिकांश बोटेहरूले समय खर्चने गर्छन् ।
देवघाटका बोटेहरू सिमल, कोरम, चाँप, आँप र मत्र्याङको रूख काटेर डुङ्गा बनाउँछन् । यिनीहरू सालको काठ काटेर डुङ्गा खियाउने बहाना बनाउँछन् । यिनीहरूको निजी सम्पत्ति भनेको डुङ्गा, बहाना, जाल, बल्छी, बन्चरो र खुर्पा हुन् । यो श्रमजीवी समूह प्राकृतिक वातावरण रमाउँछ । यिनीहरू नदीवरपरका पाखोपखेरामा काठ, चिर्पट, रूखका बोक्राले, खर–सेउलाले छाएर ससाना बुकुरा बनाउँछन् र त्यहीँ बास बस्ने गर्छन् । यिनीहरू आफ्नो बुकुराको भुइँमा गाईगोरुको गोबर र माटो मुछेर लिपपोत गर्दछन् । कसौँडी, ताप्के, डाडु, पन्यू, थाल जस्ता दैनिक प्रयोगमा आउने भाँडाकुँडाबाहेक यस जातिमा पाहुनापाछाको लागि, चाडबाड मनाउन भनेर थप भाँडाकुँडा, लत्ताकपडा र अन्न सञ्चित गरेर राख्ने चलन छैन । जाडो मौसममा सबै जना थाङ्नाहरूमा गुटमुटिएर सुत्छन् । यिनीहरू कुटीभित्रको अगेनामा र आँगनमा दाउरा–मुढा जोरेर धुनी जगाएर जाडोमा आगो ताप्छन् ।६
माछाको सिकार गर्ने र कृषि समुदायमा माछा उपलब्ध गराउने तथा नदीनालाहरूलाई डुङ्गाबाट यात्रीहरूलाई तथा बस्तीवालाहरूलाई तारिदिने यो प्राचीन महत्वपूर्ण आर्थिक प्रक्रिया परम्परागत तथा चलाउँदै आइरहेका नेपालका माझीहरूको सङ्ख्या कुल राष्ट्रिय जनसङ्ख्याको अनुपातमा एकदमै न्यून छ । अनि आधुनिक, सामाजिक र सांस्कृतिक विकासको वायुमण्डलबाट यिनीहरू अझै टाढै रहेको पाइन्छ । यद्यपि चेपाङझैँ यिनीहरू आधुनिक सभ्यताको परिस्थितिबाट एकदमै अलग्गिएका छैनन् तथापि समयभित्रै यिनीहरूलाई शिक्षित र विकसित गर्न सकिएन भने निकट भविष्यमा यिनीहरूको रहेसहेको सङ्ख्या पनि लोपिने डर छ । आजको जस्तो चर्को प्रतिस्पर्धा र भौतिक विकासको युगमा उहिलेउहिलेका आदिम युगका आर्थिक र सांस्कृतिक प्रक्रियाहरूको आडमा कुन जाति वा मानव समुदाय कति दिन पो अडिग रहन सक्ला र ? प्राचीन र मध्ययुगमा माझीहरूले श्रम विभाजनअन्तर्गत निकै महत्वपूर्ण ऐतिहासिक आर्थिक भूमिका निर्वाह गरेका थिए । चेपाङ, मगर, कुमाल समुदायहरूसित यिनले आर्थिक विनियम गर्दथे ।पछि उर्वरा फाँटहरू र नदीतालको आसपासका जग्गाहरूमा ब्राह्मणहरूको आधिपत्य बढ्दै गयो । क्षत्रीहरू पहिले त डाँडाहरूमै बस्ती गरी बसे तर पछिपछि पाटनहरूतर्फ बढ्न थाले । आर्य संस्कृतिको प्रभाव माझीहरूमाथि पर्न गयो । अनि हुँदाहुँदै यिनीहरू केवल नदी–पारवहन र माछा मार्ने व्यवसायमाथि निर्भर नगरी कुमालझैँ कृषि प्रक्रियामा लागे । आजको माझी बस्तीले यिनैका मिश्रित व्यक्तिहरूलाई अभिव्यक्त गर्दछ ।७
माझीहरू हिन्दूधर्म नै मान्छन् । धार्मिक कार्य गर्दा ब्राह्मणद्वारा गरिन्छ । विशेषतः दसैँ, तिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, पितृऔँसी, एकादशी पर्व मान्ने यिनीहरूको मुख्य ठूलो पर्वका रूपमा कुलपूजा हो । कुलपूजालाई माझी भाषामा भुइँबाबा भनिन्छ । कुलदेवतालाई बलिका रूपमा सुँगुर काटिन्छ । कुलपूजामा नाचगान गर्छन् । पुरुषहरू महिलाको पहिरनमा नाच्छन् । प्रायशः यी जातिका पुरुषहरू गीत गाउँछन् भने महिलाहरू कम्मर मर्काईमर्काई नाच्छन् । कुलपूजा सकिएपछि नातागोता आफन्तहरूलाई डाकी जाँडरक्सी, माछामासुका साथ भोज खान दिन्छन् । त्यसै गरी पितृआँैसी पनि महत्वपूर्ण चाडका रूपमा मान्दछन् । यो चाडमा झैझगडा, रिसराग सबै बिर्सेर एकले अर्कालाई सम्मान गरी हर्षोल्लासका साथ मान्छन् । प्रकृति जस्तै ः सूर्य, वायु र देउरालीको पूजा गरिने भएको हुँदा माझीहरूलाई प्रकृतिपूजक पनि भनिन्छ ।
भीमसेन माझीहरूको सबभन्दा ठूलो देवता हो । योबाहेक प्रत्येक माझीको घरमा कुलदेवता हुन्छ । सो देवता भएको ठाउँमा परिवारका सदस्यबाहेक अरूलाई प्रवेश निषेध गरिएको हुन्छ । बडादसैँमा ज्वाइँ वा बूढापाका मान्छेबाट कुलदेवताको पूजा गर्न लगाउँछन् । यिनीहरूमा राँगो, बोका, कुखुरा, भेडा, हाँससमेतको ‘पञ्चबलि’ भीमसेनलाई चढाएर पूजा गर्ने चलन छ । असार महिनामा यिनीहरू ‘वरदेउ’ पूजा गर्दछन् । त्यसै गरी भूमिपूजा वा ‘जखनी’ पूजा पनि गर्दछन् । शिवारात्रि गीत यिनीहरूको प्रख्यात गीत हो, जुन शोक मनाउँदा र भैलो खेल्दा पनि गाइन्छ । यिनीहरूको नाच पनि विशेष प्रकारको हुन्छ । माझीहरू गाउँछन् र माझिनीहरू नाच्छन् । घुम्दा खुट्टा मिलाउने, पिठ्यूँ जुधाउने र हात माथि उठाउने नाचको विशेषता हो ।८
प्रकृतिपूजकका रूपमा लिइने माझीहरू आफ्नो परिवारको कुनै सदस्यलाई रोगव्याधि लाग्नासाथ वायुको पूजा गर्ने गर्छन् । सामान्यदेखि ठूलो रोगव्याधि लागेमा भूतप्रेत पिचासको कैफियतले गर्दा हो भनेर धामीझाँक्रीलाई झारफुक गराउन लगाउँछन् । यद्यपि सहरीकरणको प्रभावले गर्दा अहिले स्वास्थ्योपचारका लागि स्वास्थ्य केन्द्रहरूतर्फ पनि जाने गर्दछन् । अन्य जातिको कुलदेवता घरको कुनै निश्चित ठाउँमा राख्ने चलन भए तापनि यिनीहरूले चुलाको पछाडि राख्दछन् । अन्य समुदायको पुरोहित भएजस्तै यिनीहरूको पनि आफ्नै पुरोहित हुन्छन् । पुरोहित खास गरेर भानिज, ज्वाइँ अर्थात् समाजको कुनै पाको मान्छे हुन्छन् ।
माझी जाति बाक्लै रहेको सिन्धुपालचोक जिल्लामा कहीँकतै नगरिने विधि गीत एक पर्वका रूपमा गर्दै आएका छन् । उक्त गीत सोह्रश्राद्धमा गाइन्छ । सोह्रश्राद्धका दिन यिनीहरू गाउँघरनजिक रहेको खोलानालाको किनारमा जम्मा हुन्छन् । केही व्यक्तिहरू जोडले ढोलक बजाउँदै आफ्नै भाषाबाट पितृलाई पुकार्छन् । उपस्थित कुनै एकलाई पितृ चढ्छ र सो व्यक्तिले त्यतिखेर जोखना हेर्ने काम गर्दछ ।
घाटुनाच माझी जातिमा प्रसिद्ध छ । पहाडी क्षेत्रमा चण्डीपूर्णिमाको दिन घाटु नचाइन्छ । आफ्नो गाउँघरमा रोगव्याधि नलागोस् भनेर धेरै अघिदेखि घाटुनाच नचाउँदै आएको छ । घाटुनाच रजस्वला नभएका कन्याबाट नचाइन्छ । कन्याको उमेर पाँचदेखि तेह्र वर्षको हुनेछ र लगातार ३ वर्षसम्म कन्याहरू नाच्छन् । घाटुनाचका कन्यालाई साडी, चोलो, हातमा बाला, घाँटीमा माला, कम्मरमा सेतो पटुका, अनुहारमा विभिन्न रङ लगाइन्छ । यस नाचका लागि बिनायो, मुरली, बाँसुरी र जम्घार आदि अत्यावश्यक वाद्यवादनका सामानहरू हुन् । घाटुनाचमा गीत गाउनेले हिन्दू संस्कारअनुसार ३३ कोटी देवतालाई पुकारेर गीत गाएर नचाइन्छ । वैशाख पूर्णिमाको अघिल्लो पञ्चमीको दिनबाट सुरु हुने घाटुनाच तृतीयाको दिन बिहान देवीदेउरालीमा कुखुरा र दोबाटोमा बोकाको बलि दिएर सकिन्छ ।
यस क्षेत्रका माझीहरूको ‘विधि गीत’ पनि उल्लेखनीय छ । यो गीत सोह्रश्राद्धमा विशेष रूपमा गाइन्छ । कम्मरमा ढोलक भिरेका माझीहरू खोलानदीको किनारमा गई यो गीत गाएर आफ्ना–आफ्ना पितृलाई बोलाउँछन् । भेला भएकाहरूमध्ये कुनै कन्या वा केटालाई पितृ चढ्छ भन्ने विश्वास गर्छन् र पितृ चढ्यो भने त्यस्तो व्यक्तिको हातमा अलिकति अछेता राखिदिएर जोखना हेर्न लगाउँछन् ।
अरू प्रचलित गीतहरू जुवारे र थोसो हुन्, जसमध्ये पहिलो माझी बोलीमा र दोस्रो नेपालीमा गाइन्छ । जुवारे गीत साधारणतः दसैँतिहारको बीच गाइन्छ र कम्मरमा ढोलक भिरेर पुरुषहरूले पहिले गाएपछि नारीहरूले त्यसैलाई दोहो¥याउँछन् । आँगनमा गाडिएको खाँबाको वरिपरि पुरुष र नारीहरू बेग्लाबेग्लै हूल बाँधेर फनफनी नाच्ने गर्दछन् ।९
यी जाति शिक्षामा उन्मुख भएको देखिँदैन तर मुलुकमा प्रजातन्त्रको पुनर्बहाली भएयता यी जातिमा बालबालिकाहरू पनि शिक्षामा अग्रसरता भएको देखिन्छ । उच्चशिक्षा हासिल गर्नेको सङ्ख्या पनि केही मात्रामा बढेको देखिन्छ ।
बोटे जातिका अधिकांश घरहरू कच्ची भुइँतले हुन्थे भने आजकल ढुङ्गामाटोमा गारोबाट पनि बनाइदिन्छन् । सहरबजारको नजिक बस्न पुगेका बोटेहरूका सिमेन्टबाट बनेका पक्की कङ्क्रिटका घरहरू पनि देखिन थालेका छन् । बोटेहरूको मुख्य खाना दाल, भात नै हो भनिन्छ तापनि अरूहरूझैँ दाल, तरकारी अचारका परिकार प्रायः बनाउँदैनन्, जे पकाए पनि झोल राखेर तिहुनसँग भात खाने गर्दछन् । तर खानामा माछाको परिकार अधिकांश समय रहेको हुन्छ । यात्रुहरूलाई घाटमा डुङ्गा तारिदिन मात्र होइन तिनै नदीमा माछा मार्ने व्यवसाय पनि गर्ने हुँदा उनीहरूको खानामा माछा प्रायः टुट्दैनन् । जाल हानेर, बल्छी थापेर, खुँगा राखेर अथवा दुवाली थुनेर हरेक दिन धेरैथोरै माछा जम्मा गरेकै हुन्छन् । कोही विपन्न बोटेहरू माछा बेचेर पनि चामल, नुनतेल र तरकारीको जोहो पनि गर्छन् । मासु, भात, जाँड रक्सी बोटेको घरमा प्रायः टुट्दैन । बिहान, बेलुकाको खानासँगै र दिउँसो खाजाका रूपमा पनि जाँड बोटेको घरमा अनिवार्य रूपमा तयार गरी राख्ने खाद्य परिकार हो । पाहुनालाई सत्कारमा जाँडरक्सी नभई नहुने मानिन्छ । विवाह र संस्कारमा बोटेका घरमा अत्यधिक जाँडको खपत हुने गर्दछ । नदीका छेउछाउ बस्ने बोटेहरू खान मिल्ने विभिन्न खालका जङ्गली कन्दमुल तथा सागपात चिन्न र बटुल्न सिपालु हुन्छन् । रक्तारो, पानीतरूल, बनतरूल, तेगुना, जस्ता कन्दमुल र तरकारीका रूपमा प्रयोग गरिने निउरो, सिप्लिगान, जलुको, गुर्बो जस्ता सागपात बटुलेर दालभात अथवा ढिमडोसँग खाने गर्छन् । त्यसैगरी बोटेहरू बोडी, गहत र मस्यामजस्ता गेडागुडीको आत्याधिक प्रयोग गर्छन् ।१०
आफ्नै भाषा रहेको माझी जातिको भाषामा नेपाली, संस्कृति, थारू, भोजपुरी, दनुवारी आदि भाषाका शब्दहरू मिश्रित रहेका छन् । पहाडमा बस्ने माझीहरूले समाजमा अरू समूदायसँग बोल्नुपर्दा नेपाली भाषा नै प्रयोग गर्छन् तर तराईमा बसोबास गर्ने माझीहरू अधिकांशले थारू भाषा बोल्ने गर्छन । केही माझीहरू मैथली र भोजपुरी भाषा पनि बोल्छन् । काभ्रेपलान्चोक जिल्लामा बसोबास गर्ने माझीहरू आफ्ना समाजमा बातचित गर्दा केही मात्रामा आफ्नो भाषा प्रयोग गर्छन् ।
मगर, नेवार, थारू आदि जातिको आफ्नै निजी भाषा भए जस्तै यिनीहरूको पनि आफ्नै भाषा छ । सामान्य रूपमा हेर्दा बोटे भाषामा ४० प्रतिशत बोटे भाषा, २० प्रतिशत कुमाल भाषा, १५ प्रतिशत नेपाली भाषा, १५ प्रतिशत हिन्दी भाषा र १० प्रतिशत अन्य भाषा मिसिएर बोटे भाषा बनेको पाइन्छ । अझै पनि बोटे जातिका बृद्ध आइमाईहरूमध्ये कुनै–कुनैले बोटे भाषाबाहेक अरू भाषा बोल्न सक्दैनन्, तर अचेल बोटेहरूमानै बोटे भाषा बोल्ने चलन पनि कम हुँदै गएको छ । जसले गर्दा साना–साना केटाकेटीहरू बोटे भाषा बोल्न जान्दैनन् ।११
विभिन्न क्षेत्रमा छरिएर बसोबास गर्ने माझीको भाषामा समेत एकरूपता पाइदैन । माझी भाषा लेखनका लागि वर्णसमेत निर्धारण भएको छ । यस अनुसार ११ स्वर र २९ व्यञ्जन वर्ण छन् । यो भाषामा लेखन पद्धतिको सुरुवात भएको पाइन्छ भने शब्दको समेत निर्माण भएको पाइन्छ ।१२
तराईमा बस्ने माझीहरूले आफन्त जनाउने शब्दलाई के भनिन्छ । तल हेरौँ :
नेपाली भाषा माझी भाषा
बुवा बाबा
भाइ भैया
स्वास्नी जन्नी
भिनाजु भान्टु
बहिनीज्वाइँ भैने
माझी जातिमा पाखे माझी र पानी माझी गरी दुई थरमा बिभाजित भएको देखिन्छ । डुङ्गा चलाउने, माछा मार्ने र बालुवामा सुन खोज्ने काम गर्ने माझीलाई पानी माझी र खेतीको काम गर्ने माझीलाई पाखे माझी भनी नामकरण गरिएको भेटिन्छ । पहाडमा माझीलाई पानी माझी र पाखे माझीले चिनिए जस्तै तराईमा बोटे र कुसहरले चिनिन्छ । तराईमा यस जाति सुनधुवा, कछारे, थरबोटे, कुशहर र मुसर थरहरूमा बिभक्त छन् । सैनिक, प्रहरी, शिक्षण, निजामति सेवामा पनि के ही सङ्ख्यामा माझीहरूको संलग्नता रहेको देखिन्छ । त्यस्तै, नगण्य सङ्ख्यामा व्यापार व्यवसायका साथै के ही युवापुस्ता वैदेशिक रोजगारमा पनि गएको देखिन्छ । पहिलाको तुलनामा अहिले यिनीहरूको आर्थिक स्थिति मजबुद हँुदै गएको देखिन्छ ।
यी जातिमा पुरुषहरू सेतो कपडा, कछाड, लगौँटी, भोटो र इस्टकोट लगाउँछन् भने महिलाहरू सेतो चोलो र कालो गुन्यू लगाउँछन् । समाजका अन्य समुदायको रहनसहन र वेशभूषाबाट प्रभावित भई आधुनिक रङ्गीचङ्गी लुगाहरू पनि लगाउन थालेका छन् ।
महिलाहरूले गर्भधारणा गरेपछि जङ्गलको बाटो र नजोतेको खेतवारीमा हिँड्न हुँदैन भन्ने जनविश्वास रहेको छ । यदि हिँंडेमा जन्मने बच्चाले दुःख दिन्छ भन्ने धारणा रहेको छ । सुत्केरी गराउन अनुभवी महिला तथा सुडेनीद्वारा सहयोग गरिन्छ । गर्भवती महिलाको स्वास्थ्य परीक्षण खासै गरिँदैन ।
बच्चा जन्मँदा छोरा भएमा विशेष किसिमले लिने गर्दछ भने छोरोको बुवालाई माला र टीका लगाईदिने चलन छ । जन्मेको छैटौँ दिनमा छैँटीको प्रचलन भब्य रूपमा गरिन्छ । त्यसबेला छरछिमेक र इष्टमित्रहरूलाई डाकी सत्कार र सम्मानपूर्वक जाँडरक्सी, माछामासु खान दिन्छन् । बच्चाको न्वारन ३, ५, ७, ९ र ११ दिनमा सुडेनीले बच्चाको हातपाउँ र कम्मरमा पहेलो धागो बाँधीदिई नाम राखिदिने गर्छन् । नाम राख्दा जुन बारमा जन्मेको हो त्यही बारबाट राख्ने चलन छ । बच्चाको न्वारन बच्चाको कुटुम्बहरूबाट गराइन्छ । न्वारन गर्दा चोख्याउने क्रममा गाईको गहुत खाने काम हुन्छ सबै परिवारले । सुत्केरी महिलाको दुध आउने विश्वासमा पकाएर राखिएको जाडँ प्रशस्त मात्रामा खुवाईन्छ ।
माझीहरूको विवाह पनि माझी र पाखे माझीबीच हुने चलन छैन । तराईमा बसोबास गर्ने माझीहरू खास गरेर थारू र दनुवार जातिसँग बैवाहिक सम्बन्ध रहेको हुन्छ । भने बैवाहिक सम्बन्धमा मामा चेला र फुपू चेलीको युवायुवती बीच एक आपसमा मन्जुरी नगरेमा अन्यत्र विवाह गर्न भने पाइन्छ । मेलापात, घाँस दाउँरा गर्न जादा युवायुवती बीच एक आपसमा मन परे पश्चात् विवाह गर्न मिल्छ । यसरी प्रेम विवाह गर्दा उनीहरूका आमाबुवाले मन्जुरी दिएर दस्तुर लिएपछि मात्र सो विवाह बैध हुन्छ । प्रेम विवाहको साथसाथै आयोजित विवाह पनि ज्यादा रुचाउँछ ।
विवाह माघ फागुनको महिनामा गरिन्छ भने विवाह मङ्गलबार र बुधबारको दिन गर्ने चलन छ । युवायुवतीको विवाहका कुरा चलाउनको लागि लमीको साथ केही युवाहरू युवतीको घरमा रक्सी लिएर जान्छन् यदि रक्सी स्वीकारेमा विवाहको कुरा टुँगिन्छ । बिहेको दिनमा दुलाहको ब्रतबन्ध गराईन्छ । मामाद्वारा भान्जा (दुलाहा ) को केश मुण्डल गरी ब्रतबन्ध गराईन्छ । विवाह हुनु भन्दा दुई साता अगाडि विवाह गर्ने केटाको हात, खुट्टा र गलामा पशु बाँध्ने दाम्लोले बाधी कुटुम्वहरूबाट अर्ती उपदेश दिइन्छ । यसो गर्दा केटा परिपक्क हुने जनविश्वास छ । दुलाहा सेतो पगरी र जामा लगाएर जन्तीहरू दुलाहाको घर तीन पल्ट घुमेर दुलहीको घरमा प्रस्थान गर्छन् । दुलहीको आमाले दुलाहालाई सगुनको रूपमा दुध ख्वाउने चलन रहेको छ । आमाको दुधको भारो तिर्नको लागि भेटी राखी तीन पटक परिक्रमा गर्छन् । जन्ती दुलाहा घर फर्कनु अघि पुनः चण्डी मन्दिरतिर फर्केर कालो भाले काट्ने गर्दछ । यसो गर्दा भूतप्रेतले दुःख दिँदैन र रोगब्याधी लाग्दैन भन्ने जनविश्वास रहेको छ ।
चोरी विवाहमा भने केटीको अभिभावकलाई कुनै जानकारी नै नदिई फकाईफुल्याइ वा राजीखुसी पारेर भगाउने प्रचलन छ भने जारी विवाहमा अरूसँगै विवाह भइसकेकी महिलालाई पत्नीका रूपमा ग्रहण गर्ने गरिन्छ । माझी जातिमा यदाकदा भाउजू स्वीकार्ने चलन पनि रहेकाले कुनै कारणबाट दाजुको मृत्यु भएमा देवरसँग उमेर र मन मिले विवाह गर्ने प्रचलन छ । यसलाई बिधवा विवाह भनिन्छ । माझी जातिकाले अन्य जातिसँग विवाह गर्ने प्रचलनलाई अन्तरजातीय विवाह भनिन्छ भने केटीको मन्जुरी बिना अन्य व्यक्तिको सहयोगमा बल प्रयोग गरी घर भिœयाउने चलनलाई जवर्जस्ती विवाह भन्ने गरिन्छ ।१३ यसरी हेर्दा माझी जातिको परम्परागत संस्कार अनुसारचाहिँ मागी विवाह हुने गर्छ । विधवा र जवर्जस्ती विवाह अहिले खासै प्रचलनमा छैन । माझी जातिका छोरालाई पहिले–पहिले सानै उमेरमा बिहे गरिदिने गरे पनि अहिले भने त्यस्तो चलन कम हुँदै जान थालेको छ । अहिले धेरै जसो १६ वर्ष उमेर नाघेपछि मात्र विहे गरिदिने चलन छ । यो जातिमा सट्टापट्टा बिहे निकै चल्तीमा छ । जुन घरबाट बुहारी ल्याइयो त्यही घरमा आफ्ना दिदीबहिनी पनि दिने चलन बढी छ । केटा र केटीले एक आपसमा मन पराएपछि अभिभावकले मागि बिहे गरिदिने गर्छन् ।१४
आधुनिकतर्फ बल्ल अग्रसर हुन खोजेको माझीहरूको मृत्यू संस्कार अरू जातिसँग मिल्दोजुल्दो नै छ । यस जातिमा कसैको मृत्यू भएमा मलामीले नदीको किनारामा लगी खाल्डो खनी गाड्ने तथा जलाउने दुवै चलन छ । लासको अन्त्योष्टि गरी घर फर्कने बेलामा बुर्की छर्दै फर्कन्छन् । गाउँघरमा भूतप्रेत नआओस् भन्नाले कोदाली अथवा हँसियाले हिँड्ने बाटोको छेउँमा रेखा बनाई काँडाले छोपी थिच्ने परम्परा रहेको छ । मृतआत्माले पाउँछ भनी मरेको दिनदेखि १२ दिनसम्म टपरीमा भात, माछामासु राखी दोबाटोमा राख्ने चलन छ । यी जातिको किरिया कार्य गर्दा चौथों, एघारौँ र तेह्रौँ दिन महत्वपूर्ण मानिन्छ ।
चौँथो दिनमा काँचो केरालाई पकाउन राख्छन् भने एघारौँ दिन इष्टमित्र एवं छरछिमेकीहरूले भात, अदुवा र घ्यू किरियापुत्रीको घरमा लाने चलन छ भने तेह्रौँ दिनमा किरियापुत्री खोलामा स्नान गरी बालुवाले मृतकको मूर्ति जस्तो आकार बनाइन्छ । यसरी मूर्ति बनाइसकेपछि साथमा गएको ब्यतिmहरू पनि खोलामा नुवाइधुवाई गर्ने गर्दछन् । किरियापुत्रीको घरमा तेह्रौँ दिनमा मलामी इष्टमित्र र आफन्त नातेदारहरू डाकी सुँगुर, कुखुरा, माछा, बोकाको मासुको साथमा भोज खान दिन्छन् । किरिया बस्नेले आमा मरेको भए घटस्थापनादेखि फुलपातीसम्म दुध र मासु खाँदैनन् भने बुवा मरेको भए माछामासु, दही, भटमास खाँदैनन् । पितृको मृत आत्माको शान्तिका लागि घरको भित्तामा अविरकेशरीको दुईचार वटा टीका लगाइन्छ । त्यस माथि माटोले लिपपोत गरिन्छ । यदि लिपपोत गर्दा पनि टीका देखिएमा पितृले चित्त नबुझाएको मान्यता राख्दछ । तसर्थ पितृलाई खुसी पार्न वर्षको एक दिन र साउने सक्रान्तिमा पूजाआजा गर्नुको साथै पिण्डदान गरिन्छ । कसैले पिण्डदान गर्दा पुरोहितलाई आमन्त्रण गरी गर्छन् भने कसैले खोला, पधँेरामा लगी सेलाउँछन् ।
पाद टिप्पणी
१, कैनी, प्रभादेवी, बोटे जातिको सामाजिक तथा सांस्कृतिक अध्ययन, प्रज्ञा, सोधमूलक चौमासिक, वर्ष २५÷२६, पूर्णाङ्क ८२, २०५१, पृष्ठ–११५, ११६ ।
२, मिश्र डिल्लीराम, गण्डकीका माझी जाति, गरिमा, वर्ष ७, अङ्क ५, वैशाख २०४६, साझा प्रकाशन, काठमाडौँ, पृष्ठ–४५ ।
३, माझी, धनबहादुर, माझी भाषाको वर्तमान अवस्था, नेपाली मातृभाषा, भाग–१, सम्पादक कुमार योञ्जान तामाङ ।
४, कैनी, डा.प्रभाकर, नेपाली सामाजिक संस्कार खण्ड ४, (ने.प्र.प.), काठमाडौँ, २०६३, पृष्ठ–२३० ।
५, पाण्डे, नन्दलाल, मधुपर्क, वर्ष ९, अङ्क ११, चैत्र, २०३३, पृष्ठ–५७ ।
६, प्रज्ञा अर्धवार्षिक, पूर्णाङ्क १०५, २०६८, ने.प्र.पं.काठमाडौँ, पृष्ठ–१२२ ।
७, पाण्डे पूवर्वत, पृष्ठ–६३ ।
८, शर्मा, नगेन्द्र, नेपाली जनजीवन, सा.प्र., काठमाडौँ, २०६३, पृष्ठ–९१ ।
९, ऐजन, पृष्ठ–९२ ।
१०, कैनी, पूवर्वत, पृष्ठ–२३३ ।
११, बश्याल, खगेन्द्रप्रसाद, मधुपर्क, गो.प.२०३८, वैशाख, पृष्ठ–५२ ।
१२, नेपाली मातृभाषा, भाग १, ने.प्र.प्र., पृष्ठ–१८३ ।
१३, माझी धनबहादुर, माझी जातिको संस्कृति, पृष्ठ–२१ ।
१४, गुरुङ, शानप्रकाश, समथिङ, माझी जातिको परिचय, पृष्ठ–२८ ।
प्रतिक्रिया