काठमाडौं । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पुर्याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।
कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो ।
चलचित्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्ने बताउनुभयो ।
“हामीले हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरेका छौँ । योसँगै गाउँको परिस्थिति, सामाजिक सचेतना पनि समेटेका छौँ । वैदेशिक रोजगारीमा रहेकाले यसलाई नजिकबाट महसुस गर्नु हुनेछ”, निर्देशक सापकोटाले भन्नुभयो ।
उहाँले नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँ आफ्नो चलचित्रलाई पूर्णरूपमा व्यावसायिक भन्न रूचाउनु हुन्छ । यद्यपि ‘हल्कारा’ लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ । निर्देशक सापकोटा श्रेणीगत भिन्नतामा सहमत हुनुहुन्न ।
“नेपालमा व्यावसायिक चलचित्रको परिभाषा फेरिएको छ । मनोरञ्जन जसरी पनि लिन सकिन्छ । एउटा गीत, एउटा द्वन्द्व र हास्य दृश्यलाई मात्र मूलधारको चलचित्र भनेर व्याख्या गरिनु सही होइन”, निर्देशक सापकोटाले भन्नुभयो, “मेरो चलचित्रमा ठूला दृश्य, चलचित्र भवनमा अनुभव गरिने ध्वनि छन् । यसले दिने मनोरञ्जनको शैली भने फरक हुन सक्छ ।”
चलचित्रमा शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुभएको छ । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो ।
“निर्देशकले दिनुभएको पटकथाले मेरो बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ”, अभिनेता त्रिपाठीले भन्नुभयो, “यो पात्रले आफ्नो अव्यक्त चाहना, सामाजिक दायित्व र आर्थिक पाटोलाई सबल बनाउन सङ्घर्ष गरिरहेको छ । हल्काराको आँखाबाट त्यो समय, परिस्थितिलाई सहजै देख्न र महसुस गर्न सकिन्छ ।”
अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको थियो । उहाँसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको अभिनेता त्रिपाठीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले मौलिक विषयलाई उठान गरेर चलचित्रमा ल्याएका छौँ । तर हामीलाई विदेशीले राम्रो छ भनेर प्रमाणित गरेपछि मात्र एक वर्गले विश्वास गर्नु हुन्छ । नेपाली मौलिक विषयलाई पर्दासम्म ल्याउन प्रोत्साहित गर्ने दायित्व दर्शकको पनि हुन्छ ।”
चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गर्नुभएको छ । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुग्नुभएकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया