काठमाडौं । चीनसँग जोडिएको त्रिदेशीय व्यापारिक किमाथाङ्का नाका खुलाउन उच्चस्तरीय कुटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) लाई ज्ञापन पत्र बुझाइएको छ । पूर्वमन्त्री एवम् नेपाली कांग्रेस सङ्खुवासभाका सभापति एवम् प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको सर्वदलीय टोलीले आइतबार परराष्ट्रमन्त्री साउदलाई भेटेर किमाथाङ्का नाका चाँडो सञ्चालनका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको हो ।
भेटमा सांसद खड्काले संखुवासभाको किमाथांका नाका नेपाल र भरतबीचको छाटो व्यापार नाका हो । नाका बन्द हुँदा भोटखोला गाउँपालिकाबासीको जनजीवन प्रभावित बनेको छ । सामरिक महत्वको नाका भएकाले कोरोना महामारीबाट रोकिएको किमाथाङ्का नाकालाई दोहोर रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरिय कूटनीतिक पहल गर्न आग्रह गरे । ‘सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्का पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवननिर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गर्दछु’, सांसद खड्काले भने ।
‘किमाथांका नाकालाई खोली उचितरुपमा प्रयोगमा ल्याउनसके कोशी प्रदेशमा उत्पादन हुने रुद्राक्ष, अलैची, अल्लो, चिराइतो, यार्सागुम्बालगायतका वस्तुको निर्यात गरी पर्याप्त आर्थिक लाभ लिन सकिन्छ भने यसैको माध्यमबाट नेपाल सरकारको घोषित नीति आयात प्रतिस्थापन तथा निर्णत प्रवद्र्धनमार्फत मुलुकको बढ्दो व्यापार घाटालाई समेत न्यूनीकरण गर्न सकिने अवस्था हुन्छ । यस अर्थमा किमाथांका नाका सुचारु हुँदा संखुवासभा जिल्लाले मात्र होइन कोशी प्रदेश हुँदै समग्र मुलुकले नै पर्याप्त लाभ लिन सक्ने अवस्था बन्दछ । तसर्थ यस किमाथांका नाकालाई खोल्ने, सीघ्र सञलनमा ल्याउने वातावरण तयार गर्न उच्चस्तरीय कूटनीतिक पहल गरिदिनु हुन मन्त्रीसँग अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल सरकारको समेत यस विषयमा गम्भीर ध्यानाकर्षण होस । निर्माणाधीन कोशी–ल्हासा राजमार्गले यस किमाथांका नाकासँगको सहज पहुँचमा महत्वपूर्ण अर्थ राख्ने हुँदा सडकको समयमै गुणस्तरीय निर्माणको कार्य सम्पन्न गर्न र गराउने कार्यमा पनि मन्त्रीज्यूमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस भन्ने आग्रह गर्दछौं ।’
पूर्वराज्यमन्त्री तथा सांसद खड्काले किमाथाङ्का नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्ने बताए । सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले किमाथाङ्का नाका सञ्चालन नहुँदा छ हजार जनसङ्ख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए ।
उनले देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्न मन्त्रीसमक्ष आग्रह गरे । भेटमा परराष्ट्रमन्त्री साउदले सरकारले सङ्खुवासभाको किमाथाङ्का नाका सञ्चालन गर्न उच्च प्राथमिकता दिएको बताए । उनले दुईपक्षीय व्यापार सम्बन्धमा समेत यो नाकाले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै उक्त नाका चाँडो सञ्चालन गर्न आवश्यक पहल भइरहेको स्पष्ट पारे ।
भेटमा मन्त्रालयका सहसचिव लोकबहादुर थापाले नेपाल–चीन परराष्ट्रस्तरीय बैठकबाट चीनसँग जोडिएका हुम्ला, रसुवा र तातोपानी नाका सञ्चालन भइसकेको जनाउँदै किमाथाङ्का, ओलाङचुङगोला र मुस्ताङ नाकासमेत चाँडो सञ्चालनमा आउने बताए । भेटमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, नेपाली कांग्रेसका महासमिति सदस्य थलकुमार लिंखा, पूर्वपार्टी सभापति जनक थापा र सरोकारवाला पक्षको सहभागित थियो ।
प्रतिक्रिया