‘इसारा’ मुक्तककार राजेन्द्र घिमिरेको मुक्तक सङ्ग्रह हो र यो हालै प्रकाशित भएको पुस्तकाकार कृति हो । नेपाली साहित्यमा मुक्तक विधालाई लोकप्रिय विधा नै मानिन्छ । मुक्तकप्रतिको रुची सर्जक र सिर्जनाका पारखी पाठकहरू दुबैमा व्यापक देखिन्छ । साना, छोटा र सरल तरिकाले बुझ्न सकिने झट्किलो विधा भएकाले पनि मुक्तकप्रति पाठकको आकर्षण छ । मुक्तकलाई लेख्न, पढ्न, सुन्न र बुझ्न कत्ति पनि समय खर्चिनु नपर्ने हुनाले पनि यो सबैका लागि रोचक, घोचक र मनोरञ्जक विधाका रूपमा नेपाली साहित्यमा स्थापित छ । मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा हो । पूर्वीय काव्यग्रन्थहरूमा एक श्लोकको रचनालाई ‘मुक्तक’ भन्ने गरिएको उल्लेख छ । नेपाली कविता परम्परामा यो अत्यन्त लोकप्रिय र शक्तिशाली काव्यविधाका रूपमा परिचित छ । मुक्तक मूलतः सूत्रात्मक नै हुन्छ यसकारण कि यो कविताको लघुतम रूपअन्तर्गत पर्दछ । केही स्थापित साहित्यकारहरूले मुक्तकलाई सङ्क्षिप्त, मितव्ययी, चुड्किलो र सूत्रात्मक भावकथन हो, यसमा भावको विस्तार र फैलँदोपन अपेक्षित रहन्न भनी परिभाषित गरेका छन् । मुक्तक अनुभूतिको चुड्का अभिव्यक्तिका रूपमा कवितात्मक शिल्पमा प्रस्तुत गरिन्छ, यो टुक्रा संवेदनाको उन्मुक्त अभिव्यञ्जना पनि हो । । मुक्तक बाह्य रूपमा एक श्लोकको रचना हो भने आन्तरिक रूपमा प्रवल भाव र गतिशील तरंग पैदा गर्नसक्ने, झड्का दिन सक्ने क्षमता भएको लघु रचना हो ।
पाणिनीय व्याकरणअनुसार प्रमोचने अर्थमा प्रयोग हुने ‘मुच्’ धातुमा ‘क्त’ प्रत्यय जोडिएर बनेको ‘मुक्त’ शब्दमा पुनः ‘कन्’ प्रत्यय लाग्दा ‘मुक्तक’ शब्दको निर्माण हुन्छ । यसको शाब्दिक अर्थ नै स्वतन्त्र रचना भन्ने हो । पूर्वीय काव्यशास्त्रहरूमा नै मुक्तकको परिभाषा उल्लेख भइसकेको हुनाले यसलाई अन्य सन्दर्भहरूसँग जोडेर सैद्धान्तिक व्याख्या र विश्लेषण गरिरहनु आवश्यक पर्दैन । प्रायः पहिलो र दोस्रो हरफका अन्त्यको शब्द अनुप्रासमय हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र चौथो हरफ फेरि अगाडिजस्तै अनुप्रासबद्ध हुनु ‘मुक्तक’ को संरचना मानिन्छ । तर, गहिरो भावको सूत्रात्मक अभिव्यक्ति छ भने अनुप्रासलाई ख्याल नगरे पनि त्यसलाई ‘मुक्तक’ मान्न सकिन्छ । नेपाली काव्य परम्परामा चाहिँ चतुष्पदी संरचना, अनुभूतिको एक झिल्का, भावनाको मितव्ययी अभिव्यक्ति, संवेदनाको खिरिलो प्रस्तुति र जीवनको विशिष्ट क्षणको खारिएको अभिव्यञ्जना नै मुक्तकको स्वभाव र परिचय बन्दै आएको छ ।
संरचनात्मक रूपमा मुक्तकलाई मुल्याङ्कन गर्ने हो भने मुक्तकमा चार हरफको संरचना अनिवार्य हुनुपर्छ र तिनमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रासको प्रयोग अनिवार्य छ । तेस्रो हरफचाहिँ स्वतन्त्र हुन्छ । मुक्तकका चार हरफहरूमा भावगत विकास उत्तरोत्तर गतिमा हुनुपर्छ र अन्तिम हरफमा लेखकीय अभिमत चोटिलो रूपमा आएको हुनुपर्छ भन्ने मान्यता मुक्तकको सैद्धान्तिक छलफल गर्नेहरूले उल्लेख गरका छन् । मुक्तकको प्रस्तुति अभिधाको तहमा नभएर व्यञ्जनाको तहमा हुनुपर्ने र विम्ब, प्रतीक, अलङ्कार, ध्वनि र वक्रोक्तिको प्रयोग अन्य रचनाका तुलनामा बढी नै हुनुपर्छ भन्ने मान्यता रहेको छ । जुनसुकै विषयमा पनि मुक्तक रचना गर्न सकिने भएपनि ‘ए, ए, बी, ए’ को संरचना यसका लागि अनिवार्य मानिन्छ । तर खँदिलो विचार, आनुप्रासिक संरचना, चोटिलो प्रहार र अद्भुत विद्युतीय झड्का नभएसम्म मुक्तक जीवन्त हुन सक्दैन भन्ने मुक्तक अध्येताहरूको मत रहेको पाइन्छ ।
नेपाली साहित्यमा मुक्तकको जन्म नेपाली कवितासँगै भएको हो । नेपाली कविताको प्राथमिक काल (१८२६—१९४०) मा नै नेपाली मुक्तकको पनि जन्म भएको देखिन्छ । नेपालका प्रथम कवि मानिएका सुवानन्द दासकै समकक्षी शक्तिवल्लभ अज्र्याल नेपालका प्रथम मुक्तककार हुन् र उनको ‘तनहुँ भकुन्डो’ (१८३९) रचना नै नेपालीको पहिलो मुक्तक हो । शक्तिवल्लभ अज्र्यालपछि पनि प्राथमिक कालीन कविहरू गुमानी पन्त, रघुनाथ पोखर्याल, भानुभक्त आचार्य, अगम दिलदास आदि र माध्यमिक कालीन कविहरू मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, वैयाकरण नेपाल, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँर आदिले पनि सशक्त रूपमा मुक्तकहरूको रचना गरेको पाइन्छ । नेपाली साहित्यमा मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भने भीमदर्शन रोका (१९८६–२०५९) हुन् । वि.सं. २०१० को ‘प्रगति’ (वर्ष–१, अङ्क–३) मा प्रकाशित रोकाका ‘केही मुक्तक’ नै नेपाली मुक्तक परम्परालाई आधुनिकतामा रूपान्तरण गर्ने कोसेढुङ्गा साबित भएको देखिन्छ । यसपछि टेकबहादुर नवीनको ‘केही चोइटा’ (२०१६) नेपाली मुक्तकहरूको पहिलो पुस्तकाकार कृति हो ।
यसरी लामो इतिहास र सर्जकहरूको अविछिन्न सिर्जनाको निरन्तरताको यात्रा पूरागर्दै ‘मुक्तक’ले नेपाली साहित्यको वर्तमानको अवस्थामा यात्रा गरिरहेको छ । यसै सन्दर्भमा नविन ‘मुक्तक’ सङ्ग्रहको रूपमा यसैवर्ष ‘इसारा’ प्रकाशनमा आएको छ । मुक्तककार राजेन्द्र घिमिरे ‘सागर’द्वारा रचित मुक्तक सङ्ग्रह ‘इसारा’ प्रकाशक देविपन्त घिमिरेले प्रकाशनमा ल्याएका हुन् । पहिलो प्रकाशित कृति ‘आखाँका भाषाहरू’ नामक गजल सङ्ग्रहमार्फत् काव्य क्षेत्रमा प्रवेश गरेका घिमिरेको यो दोस्रो काव्यकृति हो । तर डेढ दशकदेखि नेपाली साहित्यका कविता, गजल, गीत, हाइकु र मुक्तक विधामा अनवरत कृयाशील रहँदै आएका घिमिरे एक चर्चित कवि हुन् । अहिले भने उनैको नवीन कृति मुक्तक सङ्ग्रह ‘इसारा’का भाव भंगीहरूलाई नियाल्ने कोशिस गरौं । उदाहरण :
जीवन जगत दसाई दिन्छु मुक्तक लेखेर
जाली फटाहा तर्साइ दिन्छु मुक्तक लेखेर
प्रिय मान्छे तिमी भने सामिप्यमै रहनु
म प्रेमको वर्षा बर्साइ दिन्छु मुक्तक लेखेर ।
उदाहरणको रूपमा साभार गरिएको यो मुक्तक शीर्षक सङ्ग्रहको पहिलो मुक्तक हो । जीवन जगत देखाउने, सामाजिक विकृतिप्रतिको विरोध, सद्भाव र प्रेमको भावनाले यो सानो मुक्तकको पङ्क्ति भरिपूर्ण देखिन्छ । अर्थात् यो हरफबाटै मुक्तककार घिमिरेले कृतिभित्र समेटेका मुक्तकहरूका भावना, विषय, प्रस्तुती र शैलीहरूलाई प्रतिविम्वित गरेको छ । थप केही सारांशहरूलाई उदाहरणका रूपमा हेरौं :
हिरामा चमक र फलाममा खिया देखेर अचम्म लाग्छ
मान्छेलाई गुलाम बनाउने रुपियाँ देखेर अचम्म लाग्छ
हुनेखानेका पछाडि जमात हुन्छ गरिब दुःखी सधैं एक्लै
र त यस्तै यस्तै यो स्वार्थी दुनियाँ देखेर अचम्म लाग्छ ।
०००
आफ्नै कमाइमा जिएर हेर आनन्द आउँछ
आस गर्नेलाई केही दिएर हेर आनन्द आउँछ
कसैको यादले बेस्सरी छटपटि चल्यो भने
मदिरा टन्न पिएर हेर आनन्द आउँछ ।
०००
एकैछिन आज यसो भेट्न पाए हुन्थ्यो
पोख्नलाई दुखेसो भेट्न पाए हुन्थ्यो
चियो चर्चो गर्नेहरू छेउछाउमै हुनसक्छन्
मिलाएर कुनै मेसो भेट्न पाए हुन्थ्यो ।
निरन्तर रूपमा सामाजिक अन्तरक्रियामा संलग्न व्यक्तिहरूको समूह हो समाज । व्यक्ति व्यक्तिबिच मिलेर बनेको समाज सदियौँदेखि समाज संस्कार र सस्कृतिबाट चलायमान छ । संस्कार र संस्वृmति परिवर्तनको मूल धैर्य नै समाजको आन्तरिक व्यवस्थापनलाई मानिन्छ । सामाजिक स्थितिलाई परिवर्तन गर्नका लागि प्रत्येक नागरिकको पहुँच समान हुनुपर्छ । समाजभित्र सामाजिक मापदण्डहरू हुन्छन् । ती मापदण्डहरू क्रमश : परिवर्तन हुँदै जान्छ । सुन्दर, शान्त र समृद्व समाज निर्माणका लागि मानव सोच सकरात्मक हुनुपर्छ । रिस, राग र द्वेष चरित्रको हावीले गर्दा समाज विकृतितर्फ उन्मुख छ । समयमा नै यथार्थको पहिचान गर्न सकेमा समाज स्वर्गतुल्य बन्छ भन्ने भावले ओतप्रोत मुक्तक घिमिरेले लेखेका छन्–
पत्याउन सकिने कुनै यस्तो आधार दिनुपर्छ
समाज बिउँझाउने सुन्दर विचार दिनुपर्छ
समाज प्रवृति र प्रेम समेटेर मुक्तकबाट
यथार्थको पहिचान गरी कडा प्रहार दिनुपर्छ ।
जीवन प्रवृmतिको सुन्दर उपहार हो । मानिस आफ्नो चाहानाले न जन्मिन्छ न नचाहँदैमा जन्मबाट वञ्चित हुन्छ । त्यसैले जीवन एउटा संयोग मात्रै हो । तापनि मान्छे जन्मदेखि मृत्युपर्यान्त भोग्ने सुख दुःखको सम्पूर्ण घटनाव्रmमलाई आफ्नै उत्तरदायित्वको रूपमा ग्रहण गर्छ । यद्यपि यी सबै सापेक्षिक विषय हुन् । जीवनमा इच्छा पूर्तिका साथ जिउने कलाले महत्व राख्दछ । गुणस्तरहीन र बेकारको जीवन बाँच्नेढाँचालाई अभिशापका रूपमा दिने गरिन्छ यद्यपि त्यो एउटा गहन अनुभूति मात्रै हो । मान्छेले जीवनलाई सफलिभूत बनाउनका लागि इच्छा, ज्ञान र कर्मजस्ता शक्तिको भरपुर सदुपयोग गरेको हुन्छ । जीवन र प्रेमलाई अन्योन्याश्रित सम्बन्धको रूपमा लिएको हुन्छ । प्रेमलाई गणित र विज्ञानका सूत्रले प्रमाणित गर्न सकिँदैन न प्रयोगशालामा यसलाई परीक्षण गरेर प्रमाणित गर्न सकिन्छ । प्रेमका कारणले नै हामीले जीवन जगत पाएका छौं । मुक्तककार राजेन्द्र घिमिरेले जीवन र प्रेमभित्रको गहनतालाई मूक्तक मार्फत यसरी सार्वजनिक गरेका छन् :
जीवन हो कर्कलाको पानी अझके भनाैँ
हाँसो खुशीनै छ जिन्दगानी अझ के भनौँ
आउ चलाउ अब आफ्नो राजकाज
यो दिल छ प्रेमको राजधानी अझ के भनौँ ।
एकोहोरो मन लिएर बाँचेको जीवन सदैव आशामा अल्झिरहन्छ । दिनरात तडपिएको मन बोझिलो जीवन बाँच्दछ । मनभित्र गुम्सेको अनुभूतिले सदैव पिरोल्छ । स्वतन्त्रपूर्वक जिउने इच्छालाई भुलभलैयामा पारेर अलमलाउन खोज्ने तत्त्व पनि जीवनमा हुन्छ । धेरै मानिसहरू जीवनको यो प्रवृतिबाट आजित भएका हुन्छन् तर पनि जीवनको सुख चाहिँ क्षणिक नै हुन्छ । नक्कली अभिनय लामो समय टिक्दैन । कैदी बन्न खोजेको मन अन्ततः स्वतन्त्रका लागि विद्रोही बनी चराझैं खुल्ला आकाशमा उड्न आतुर छ–
बोकेर मनमा भय कति दिन चल्छ
लुकाएर यथार्थ अभिनय कति दिन चल्छ
सूर्य चन्द्र त आफ्नै गतिमा हिँडिरहन्छन्
तिम्रो अधिनमा समय कति दिन चल्छ ।
अन्तरात्माले चाहेको वस्तु प्रिय लाग्छ । दोहोरा होस् वा एकोहोरो संसाराबाट प्राप्त गर्ने हरेक कुरामध्ये मन नै सर्वोपरि हुन्छ । सम्झनामा रहिरहने सबैभन्दा खुसीको प्रेम कथा अन्त्य नभएपछि मरेतुल्य हुन्छ जीवन । प्रेममा जोडिनु दुबैजनाको हृदयसँग आकर्षित हुनु हो । दुबैबाट प्रतिबद्धता र प्रयास हुनु पर्छ । दुःखले मात्र होइन खुसीले पनि यहाँ हरेक पल मानिसलाई सताउँछ ः
अति गोप्य पत्रको खाम छैन सवाल उठेको छ
पठाउने र पाउनेको नाम छैन सवाल उठेको छ
मुटु कलेजोको कुनामा जो बसिरहन्छ हरपल
उसैले भनेपछि तेरो काम छैन सवाल उठेको छ ।
नेपाल राणा शासन, प्रजातन्त्र, हुँदै गणतन्त्रमा प्रवेश गर्याे । राजनैतिक परिवर्तनका लागि धेरै नेपाली वीरगतिका साथै अङ्गभङ्ग भए । ती सहिद र अपाङ्गहरूलाई राज्यले व्यवास्था गरेको यथार्थलाई उनले मुक्तकमार्फत यसरी घचघच्याउने प्रयास गरेका छन्–
सम्झनुपर्ने मुख्य कुरा सम्झँदैन सरकार
अधुरा कामलाई गर्न पूरा सम्झँदैन सरकार
देशका लागि रगत बगाएर जो सहिद भए
ती परिवारका अवला टुहुरो सम्झँदैन सरकार ।
मुक्तक सङ्ग्रह ‘इसारा’ भित्रका मुक्तकहरू मानवीय संवेदनालाई झक्झक्याउनका लागि माहिर छन् । यस्तै प्रखर शब्द तरंग, चोटिलो प्रहार र मीठो अनुभूति प्रदान गर्न यस सङ्ग्रहभित्रका मुक्तकहरूसक्षम छन् । विषय, भावनाका संयोजन र प्रस्तुतीकरणका हिसावले घिमिरेका मुक्तकहरूमा विद्युतीय प्रवाह छ । जीवन र जगतलाई सूक्ष्म रूपले हेर्ने, सामाजिक विषयवस्तुलाई टपक्कै टिपेर शब्दद्वारामिठास भर्ने उनको कविचेत निकै सबल रहेको छ र यस प्रकारका विशेषता उनका मुक्तकमा स्पष्ट नै देखिन्छ । प्रकृति प्रेम, भावनात्मक प्रेम, सामाजिक परिवेश, विद्रोह र वेदनाका भावनाहरू पनि उनका मुक्तकमा सहजै प्रस्फुटित भएका पाइन्छन् । पुस्तकका सन्दर्भमा डा. देवी नेपाल भन्नु हुन्छ— ‘राजेन्द्र घिमिरेका मुक्तकहरू विद्युत् तरङ्ग बोकेर आएका हुन्छन् । विन्दुमा सिन्धु खिच्न सक्नु नै साँचो मुक्तक लेख्नु हो । त्यो क्षमता राजेन्द्रमा पाइन्छ । सिङ्गो जीवन र समग्र जगतलाई हेर्ने सूक्ष्म दृष्टिकोण र त्यसलाई प्रस्तुत गर्ने मुक्तकशास्त्रको सिद्धान्त दुवैको आदर्श पालनाका साथै भावनाको मितव्ययी अभव्यक्ति र संवेदनाको खारिएको प्रस्तुतिबाट पाठकका हृदयमा एक अद्भुत झट्का दिनसक्ने क्षमताले गर्दा नै उनका मुक्तकहरू नामले मुक्तक नभएर कामले मुक्तक बनेका हुन् ।’ यस्तै डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले राजेन्द्र घिमिरे समसामयिक मुक्तक परम्पराका एकजना सशक्त हस्ताक्षर हुन् भनेका छन् । घिमिरेका मुक्तक आल्हादात्मक र प्रहारात्मक दुवै किसिमका छन् ।
भाषाशैली र प्रस्तुति क्षमतालाई हेर्दा मुक्तकको सिर्जनामा घिमिरे पोख्त र एउटा क्षमतावान मुक्तककार हुन् भन्नेमा कुनै सन्देह मान्नु पर्दैन । उनी मुक्तक लेखनमा सिपालु सर्जक हुन् भन्ने प्रष्टता यस कृतिले प्रष्ट्याएको छ । मुक्तक सङ्ग्रहमा थोरैमा धेरै कुरा दिन सक्ने मुक्तकहरू सङ्ग्रहित छन् । संरचना, भाषा, लय, विचार, भाव वा सन्देश सबै कुरामा घिमिरेका मुक्तकहरू पूर्ण देखिन्छन् । त्यसैले प्रस्तुत मुक्तक सङ्ग्रह ‘इसारा’ एक पठनीय मुक्तक सङ्ग्रहको रूपमा आएको छ । यो पुस्तकले कवि राजेन्द्र घिमिरेलाई एक सफल मुक्तककारका रूपमा चिनाउने छ भने उनले प्रकाशित गरेको यो कृतिले नेपाली साहित्यको मुक्तकको विकासमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्न सकिन्छ ।
प्रतिक्रिया