मजदुरका हकहित सम्वद्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा   

मजदुरका हकहित सम्वद्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा   


समयपथ
0
Shares

काठमाडौँ । नेपाली कांगे्रसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गरेका छन।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गरेका छन । मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएका छन् ।

सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताएका छन ।

“नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गरे।

विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइले अनेक समस्याहरुलाई बेहोरिरहन परेको उल्लेख गरेका छन। उहाँहरुको समस्यालाई समाधान गरेर मजदुर वर्गको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले उल्लेख गरेका छन।