काठमाडौं । प्रतिनिधि सभाले1 १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरु गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया सुरू भइसकेको बताउनुभयो । उहाँले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताउनुभयो ।
पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताउनुभयो । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उहाँले जानकारी दिनुभयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले सबै समितिहरुको पहिलो बैठक एकैपटक बस्नसक्ने बताउनुभयो । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पार्नुभयो ।
प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताउनुभयो ।
प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरु रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहने गरी दुईवटा विषयगत समितिहरु पनि छन् ।
प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरु सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरुमा सदस्य तोकिने व्यवस्था छैन ।
प्रतिक्रिया