काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी केन्द्रीय समिति र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गत मंसिरमा भएको निर्वाचन समीक्षा अहिलेसम्म नगरेको तथा पार्टी र प्रमुख भ्रातृ संगठनहरूका केन्द्रीय समितिलाई पूर्णता नदिएको भन्दै नेतृत्वको आलोचना बढ्दै गएका बेला पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
सभापति शेरबहादुर देउवा निवासमा बिहीबार पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा शुक्रबारसम्म नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका केन्द्रीय समितिलाई पूर्णता दिने समझदारी बनेको छ । शुक्रबार बिहान पुनः छलफलमा बसेर निर्णयमा पुग्ने समझदारी पदाधिकारीहरूबीच भएको जानकारी एक नेताले दिए ।
पार्टीभित्रका सबै गुट र समूहलाई समेटेर समितिहरू गठन गर्न नाम माग्दा नदिइएकाले अब नकुर्ने निष्कर्षमा पुगेको बताउँदै एक नेताले भने, ‘जति नाम आएका छन्, तिनैबाट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समिति बनाउने प्रयास हुन्छ ।’
प्रतिक्रिया