पहरीहरूको संस्कार एक अध्ययन

पहरीहरूको संस्कार एक अध्ययन


समयपथ
0
Shares

नेपाल ७७ जिल्ला सात प्रदेशमा विभक्त छन् भने भौगोलिक दृष्टिकोणले हिमाली, पहाड, भित्री मधेस र तराईसमेत गरी चार खण्डमा विभाजित छ । माथि उल्लिखित जिल्ला, प्रदेश एवं खण्डहरूमा अनेकन् जनजातिहरू बसोबास गर्दै आइरहेका छन् । ती जनजातिहरूले आफ्नो लोकसंस्कृति, रीतिरिवाज, परम्परा, वेशभूषालाई निरन्तर जीवान्त राख्दै आइरहेका छन् । अझ कैयौँ जिल्लाका जनजातिहरूले परम्परादेखि चलिआएका उत्सवहरू, मेलाहरू, चाडपर्व, लोकनृत्य, लोकसङ्गीत, लोकगाथा र सामाजिक मूल्य एवं मान्यतालाई ओझेलोमा पर्न दिएका छैनन् । यी जनजातिहरू नै हाम्रा देशका सम्पत्ति हुन् । यिनै जनजातिहरूमध्ये पहरी पनि एक हो । पहरी जातिको आफ्नो छुट्टै परिचय, अस्तित्व, मान्यता र विशेषता रहिआएको छ ।

उत्पत्ति र नामकरण

यस जातिको उत्पत्ति र नामकरण सम्बन्धमा विभिन्न भनाइ रहेको छ । ती भनाइहरू एकआपसमा मेल भने खाएको पाइँदैन । एक थरीको भनाइमा पहरी जातिको मूलरूप नेवार भनेका छन् भने अर्को थरीको भनाइमा पहरी जातिको मूलरूप क्षत्री भनेका छन् ।

पहरी जातिका बूढापाकाहरूको कथनअनुसार धेरै वर्ष पहिले यी जाति शहरमा बसोबास गर्दै आइरहेका थिए । शहरमा अन्य स्थानबाट मान्छेहरू बसाइँ सर्ने क्रम ओइरोनै लाग्यो । आर्थिक स्थिति कमजोर भएका नेवारहरू आफ्नो जीवन गुजारा चलाउन नसकेपछि बसाइँ सर्ने क्रममा शहर छाडी पहाडतिर लागे, पहाडमा तामाङ जातिसँग हेलमेल हुने क्रममा बिहेबारी पनि चल्यो । यसरी ती बसाइँ सर्ने नेवारहरूको विवाह तामाङसँग भएको हुँदा पहरी जात रहन गएको भन्ने भनाई छ ।

पहरी जातिको मूल रूप नेवार नै भएको प्रायः जसो विद्धानहरूको भनाई छ । भक्तपूरको तलेजु भैरवमा रहेको शिलालेखले पनि पुष्टी गर्दछ । पलाञ्चोकमा बसोबास गर्ने केही नेवारहरूको आर्थिक स्थिति नाजुक भएका कारण आफ्नो पुख्यौली बस्ती छाडेर पहाडतिर बसाई सरें । पहाडी तामाङ जातिको रहनसहनसँग सामीप्यता रहन गयो । अन्तत तामाङ जातिसँग बैबाहिक सम्बन्ध जोडिन गयो । तामाङसँग सम्वन्ध जोडिएको कारणले नेवारबाट पहरी पतन भएको भनाई सान्दर्भिक लाग्छ ।

यसरी पहरीहरू पनि नेवार र तामाङ जाति जस्तै इतिहास बोकेका पुराना जाति हुन सक्ने कुरातर्फ माथिका विद्वान्हरूले सङ्केत गरेका छन् । नेपाली समाज अनेक जातिको सम्मिश्रणबाट बनेको छ । कुनै पनि समाज वा जाति सधैँ एकै प्रकार रहन सक्दैन । त्यो समयअनुसार बदलिँदै जान्छ । बेग्लाबेग्लै प्रजातिको संयोगबाट जुन सन्तान हुन्छ, त्यस्ताको सन्ततिलाई मिश्रित अभिजाति भनिन्छ । मिश्रित अभिजातिमा एउटा प्रजातिको मात्र गुण नभएर दुवै प्रजातिका गुण आउँछ (जनकलाल शर्मा) ।

पहिले पहरीहरू मल्ल राजाका भान्छे थिए । खानेकुरा मीठो गरेर पकाउने हुनाले नै पहरीलाई दरबारमा भान्छेमा नियुक्ति गरेका हुन् । दरबारका एक जनाले पहरीहरूले कसरी मीठो गरेर खानेकुरा बनाउँदा रहेछन् भनेर चियाए । दाल–तरकारी हातमा राखेर चाखेको देखे । पहरीहरूको जुठो मल्ल राजाहरूलाई खुवाएको हुँदा भान्छेलाई फोहरी भनियो । तिनीहरूलाई पहाडतिर धपायो । पहाडतिर बस्ने भएकाले तिनीहरूलाई पहाडी भनियो । बोलिचालीको क्रममा पहाडीबाट पहरी भनिएको स्थानीय भनाइ रहेको छ ।
पहरीहरू बहादुरी तथा लडाकु थिए । मल्लकालमा कीर्तिपुरमा पहरी जातिका मान्छेहरू सेनामा कार्यरत थिए । पहरी सेनाको बहादुरले गर्दा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा विफल भएका थिए ।

बसोबास क्षेत्र र जनसङ्ख्या
अहिलेसम्मको जानकारी भएअनुसार काठमाडौँ, ललितपुर, रामेछाप, मकवानपुर काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका केही स्थानहरूमा बसोबास गर्दै आइरहेका छन् पहरीहरू । नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले पहरी जातिको सङ्ख्या १३, ६१५ देखाएको छ । जसमा महिला ६ हजार ९ सय ४५ र पुरुष ६ हजार ६ सय ७० रहेको छ । ललितपुर जिल्लाको चापागाउँ, गोदावरी, बडीखेलमा जम्मा ५० घरधुरी र काभ्रेपलान्चोक जिल्लाको दाङघाट, किटानी, पलान्चोकमा जम्मा २८० गरी जम्मा २३० घरधुरी रहेको अनुमान गरिएको छ । यसका अलावा धेरै जिल्लामा छरिएर रहेको हुन सक्ने अनुमान गरिएको छ । जातीयताको हिसाबले पहरीहरू आफूलाई उपल्लो जातको मान्दछन् । यसरी समग्र रूपमा तथ्याङ्कलाई हेर्दा पहरी जातिको सङ्ख्या ज्यादै न्यून रहेको छ ।

पहरीहरू पुस्तौँपहिले दोलखा र खोपासीबाट आएका हुन् भनिन्छ । पछि पनौतीबाट पनि आई पहरीहरूका चेलीबेटीसँग विवाह गरी यही स्थायी रूपमा बसोबास गरेका हुन् भन्ने कुरा यिनीहरूसँगको कुराकानीबाट स्पष्ट हुन्छ । यसकारण यी पहरीहरूका तीन समूह छन् । यस समूहलाई विभाजित गर्न सकिने आधार एक मात्र छ । त्यो हो—यिनीहरूको दसैँ चाड मनाउँदा आँगनमा एक समूहकाले भाले कुखुरा काट्ने गर्छन् भने अर्को समूहकाले भाले कुखुराको साथै पोथी हाँसको पनि बलि दिने चलन छ । तेस्रो समूहहरूले पोथी हाँसको मात्रै बलि दिने परम्परा छ । यस्तो छुट्टाछुट्टै रिबाज भए तापनि यिनीहरूको एकआपसमा बिहेबारी चल्दछ । यिनीहरूले आफ्ना थर लेख्दा वा भन्दाखेरि पनि तीनै प्रकारको अर्थात् १) पहरी, २) पाहारी वा पहाडी र ३) नगरकोटे भन्ने गरेको पाइन्छ, तर पाटनका नेवारहरूले यिनीहरूलाई ‘पही’ भन्ने गर्छन् (डा रूद्रलक्ष्मी श्रेष्ठ) ।

परिवार
पहरी जाति आफ्नो थाकथलोमा मिलिजुली अर्थात् संयुक्त परिवारमा नै बस्छन् । परिवारमा तीनपुस्ते हजुरबुबा, हजुरआमादेखि नातिनातिनीका सदस्यहरू हुन्छन् । घरभित्रका काम महिलाले र घरबाहिरका काम पुरुषले गर्दछन् । परिवारका जेष्ठ सदस्य नै घरमूली हुन्छन् । तर यस जातिमा महिलाको महŒवपूर्ण भूमिका रहन जान्छ । अन्य समाजको देखासिकीले गर्दा विवाह गर्नासाथ छुट्टिएर बस्ने पनि गर्दछन् ।

भाषा
यस जातिको छुट्टै भाषा रहेको छ तर लिपि भने भेटिएको छैन । पहरीहरूको बोलीचालीलाई सुन्दा नेवार भाषासँग सामीप्य रहेको देखिन्छ । बोलीचाली नेवारी भाषसँग सामीप्य रहे तापनि बोल्ने तरिका तामाङ जातिसँग मिल्दछ । यिनीहरू बोल्दा लस्काएर बोल्ने गर्छन् । पहरी भाषालाई नेवारी भाषाको उप–भाषिकाका रूपमा लिन सकिने कुरा ग्रियर्सनको तर्क छ । त्यस्तै ह्यामिन डर्फले पहरीहरू तामाङसँग मिल्दोजुल्दो हुने र भोटबर्मेली परिवारअन्तर्गतको भाषा बोल्ने जाति पहरी भनेका छन् । पहरी भाषाका केही नमुना ः

नेपाली भाषा                     पहरी भाषा
मान्छे                                       मुन्छि
बच्चा                                        मुन्छिचा
युवक                                       ल्वज्व
दिदी                                         ता
भिनाजु                                      बुरू
साथी                                         पासा
मामा                                         पाजु
माइजू                                       निनी
आमा                                         मा
बुबा                                           वा
घर                                             चे
भात                                           जा्
एक                                          थिपा
दुई                                          निस्पा
तीन                                        सोप्पा
चार                                         पिपा
पाँच                                         भोप्पा
दश                                          जिर्का
रातो                                         मा
आफू                                       थू
म                                            जि
हामी                                       जा
तिमी                                       चि
माकुरो                                     मुगाचा
बाख्रा                                       दुगाचा
भैँसी                                        हिम्सा
कुकुर                                      कुजु
हाँस                                         हुँइ
चरा                                        झुडा
बाँस                                       पुरा
झ्याल                                    झ्याखा
ढोका                                     ल्वखा
पानी                                      लुखु

स्रोत : स्थानीय भाषी

रूपरङ
पहरीहरू मोटाघाटा, पुड्का, काला कदका र फूर्तिला हुुन्छन् । यिनीहरूको शारीरिक संरचनालाई नियाल्दा तामाङ जातिसँग मिल्दोजुल्दो देखिन्छ ।

वेशभूषा
पुरुषहरू भोटो, सुरुवाल, इस्टकोट र महिलाहरू धोती र चोली लगाउँछन् । साथै महिलाहरूले गहनाको हकमा नाकमा फूली, बुलाकी, सिन्दूरपोते, तिलहरी, पुङ्गी आदि लगाउँछन् । अहिले आधुनिक तरिकाको पहिरन पहिरिन थालिसकेका छन् पहरीहरू ।

थर विभाजन
पृथ्वीनारायण शाहले उपत्यका विजयपछि युद्धमा आफूलाई हायलकायल पार्ने बहादुर पहरी सेनालाई बरखास्त गरी उपत्यकाको तीन सहरबाट बाहिर निकाले । यसरी निकाला पर्ने एक जना पहरीका पाँच छोरा थिए । तिनै छोराहरूले अपनाएका पेसाका आधारमा राजपहरी, सुनपहरी, पाखापहरी, खोलापहरी र घ्याम्पेपहरीका रूपमा चिनिन थाले । जीविकोपार्जनका लागि यत्रतत्र लागेका पाँच भाइ छोरामध्ये एकले काभ्रेको सिमथलीमा ठूलो ख्याति कमाई राजकीय ठाँटबाँठसँग बसे । उनी र उनका सन्तान राजपहरी भए । मन्दिरमा पुजारी भई जीविकोपार्जन गर्ने सुनपहरी र डाँडापाखामा सिकार र खेती गर्ने पाखापहरी भए । खोलाकिनारमा बसेर माछा मारेर पेट पाल्ने खोलापहरी भए भने घ्याम्पामा जाँड हालेर सधैँ जाँड खाएर हल्लिनेहरू घ्याम्पेपहरी भए । यसरी पहरीहरूका पाँच थर भनिए पनि थर किटान गरेर बोलाउने चलन छैन (अन्तर्वार्ता : देवराज नगरकोटी पहरी र मुकुन्द पहरी) । यी सबै पहरीमा ठूलो–सानोको भेदभाव छैन । पहरीहरूले आफूलाई नगरकोटी भने पनि उनीहरू पहरी नै हुन् । एकै परिवारभित्र पहरी र नगरकोटी पाइन्छन् । यिनीहरूले गर्ने सामाजिक व्यवहार र संस्कारहरूमा कुनै भिन्नता छैन (केशवप्रसाद अधिकारी) ।
चाडपर्व
हिन्दू धर्मावलम्बी भएका कारण सबै जनजातिले सदियौँदेखि मनाउँदै आएका दसैँ, तिहार, श्रीपञ्चमी, ठूलो एकादशी, गाईजात्रा, रामनवमी आदि चाडपर्व मनाउँछन् भने भूमेपूजा, गुठी पूजा र देवाली पूजा धूमधामले मनाउँछन् पहरी जाति । विशेषतः पहरीहरू देवाली पूजा धूमधामले मनाउँछन् ।

देवाली पूजाको दिन उनीहरूले तीनवटा देवीदेवताहरूको पूजा गर्छन् । तिनीहरू सरस्वती, बनिज खाने र गम्वार हुन् । देवाली पूजा गर्ने अघिल्लो दिन सबैले नङ, कपाल काटी चोखो हुन्छन् । त्यस दिन केही पनि खाँदैनन् । भोलिपल्ट चामलको रोटी (चटाचमरी) पकाई पूजाका सामानहरू लिई पूजा गर्ने ठाउँमा जान्छन् । मुख्य पूजा गर्ने अधिकार उनीहरू समाजको जेठो व्यक्तिको हुन्छ । मुख्य पूजा गरिसकेपछि प्रत्येक घरको जेठो व्यक्तिले आआफ्नो किसिमको पूजा गर्छन् । बोका, कुखुराको भाले, हाँस बलि दिन्छन् । सबैले त्यही नै बसी भोज खान्छन् । सबै पहरीहरूको देवाली पूजा गर्ने ठाउँ एउटै भए तापनि भोजभतेर भने परिवार–परिवारको बेग्लाबेग्लै हुन्छ ।

लोक संस्कृति
पहरी जातिमा लोकसंस्कृतिको प्रभाव महŒवपूर्ण छ । यस जातिको लोकसंस्कृतिमा विशेषतः खे, कैभ्, मुस्या, धिमा आदि लोकबाजा प्रयोग गर्ने गरेको सङ्गीतकार बुलु मुकारुङ बताउँछन् ।

आर्थिक स्थिति र पेसा
पहरी जातिका पुरुषहरू घरबाहिरका काम गर्दछन् भने महिलाहरू घरभित्रका काम गर्छन् । ब्यापार, नोकरीतिर त्यति लागेको देखिँदैन । काभ्रेपलान्चोक र ललितपुर जिल्लामा बसोबास गर्दै आएका पहरी जातिको आर्थिक स्थितिलाई नियाल्दा ललितपुरको भन्दा केही हदसम्म काभ्रेमा बसोबास गर्ने पहरीहरूको आर्थिक स्थिति सम्पन्न रहको देखिन्छ । ललितपुरमा बसोबास गर्ने पहरीहरूभन्दा काभ्रेमा बसोबास गर्ने पहरीको आर्थिक स्थिति किन राम्रो भयो भन्दा काभ्रेमा बजार पनि नजिक हुनुका साथै यातायात सुविधा पनि छ ।

त्यसो हुनाले उत्पादन गरेका अन्नपातहरू विक्री सजिलैसँग गर्न सक्ने भएको हुँदा काभ्रेका पहरीहरू मेहनती, परिश्रमी छन् । पहरीहरूको प्रमुख पेसा भनेको नै कृषि हो । यिनीहरूले आधुनिक तरिकाबाट खेतीपाती गरी जीवन गुजारा जेनतेन चलाउन सकेका छन् । अहिले यिनीहरू थप आय आम्दानीको लागि कुखरा, भैँसी, राँगा, भेडा, बाख्रा आदि पाल्नतर्फ अग्रसर देखिन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा उपलब्ध बास, निगालो, क्यातुकेआदिबाट, डोको, नाम्लो, थुन्चे, भकारी, दाम्लो, डोरी, मान्द्रो, डालो आदि बनाएर आफू पनि प्रयोग गर्छन् भने बढी भएको स्थानीय बजारमा लगी बेचबिखन पनि गर्दछन् ।

सामाजिक संस्कारहरू
मानव समाजले आफ्नो शुद्धता, परिष्कृति एवम् उन्नतिका लागि विशेष अवसरका रूपमा सम्पन्न गर्ने पर्व वा व्यवहारविशेष नै संस्कार हो । संस्कार जति स्पष्ट एवम् सरल देखा पर्छ, केही त्यत्तिकै जटिल पनि हुन्छ । परिवार, कुल कुटुम्ब र गोत्रको सम्मुन्नति तथा मानिस र अदृश्य काल्पनिक शक्तिका बीचमा सामञ्जस्य राख्न संस्कार गरिन्छन् । प्रतिकूल परिस्थिति र परिवेशलाई आफू अनकूल पार्न संस्कारको ठूलो भूमिका हुन्छ (प्रेमकुमार खत्री) ।

नेपालका अन्य जनजातिहरूले जस्तै पहरी जातिमा न्वारान, कान छेड्ने, अन्नप्राशन, व्रतबन्ध, विवाह, मृत्यु आदि संस्कारहरू गर्छन् ।

न्वारान
पहरी जातिको महिलामा गर्भ रहेपछि पोसिलो खानेकुरा खान दिनुका साथै गह्रुङ्गो काम गर्न लगाउँदैन । गर्भ रहँदाको बेला गर्भवती महिलाको लोग्नेले काटमार गर्न हुँदैन ।

यदि काटमार गरेमा जन्मेको बालक अपाङ्ग हुने धारणा रहेको छ । बच्चाको जन्म भइसकेपछि सुत्केरी महीलालाई पराल बिछ्याएको सुकुलमाथि राखिन्छ । सुत्केरी र बच्चालाई चोख्यान नगरेसम्म कसैले छुन हुँदैन । ७ दिनको दिन सुत्केरी आमा र बच्चालाई कोठाबाट बाहिर ल्याई चोख्याइन्छ । पहरीहरूको रीत र परम्पराअनुसार घरको आँगनमा गाईको गोबरले लिपपोत गरी पुरोहित (ब्राह्मण) द्वारा धार्मिक कार्य गरी गाईको गहुँतले सुत्केरी, जन्मेको बच्चा र परिवारका अन्य सदस्यहरूलाई छर्कनुका साथै खान दिइन्छ । यसो गरेपछि चोखिन्छ । ब्राह्मणले राशि र जन्मेको बारलाई मिलाई बच्चाको नाम राखिन्छ । त्यस बेला नाउद्वारा परिवारका सबै सदस्यहरूको हात र खुट्टाको नङ काटिन्छ । यस्तो कार्यलाई पहरी भाषामा नङछुरी भनिन्छ । नङछुरी गरिदिने नाउलाई त्यस बेला ज्यालाबापत अन्नका साथै केही रकम पनि दिइन्छ । कसैले नाउलाई काममा लगाउने र त्यसबापत प्रत्येक वर्ष बाली भर्ने पनि चलन छ ।

कान छेड्ने काम
अन्य जनजातिको जस्तै पहरी जातिमा समय पुगिसकेपछि बच्चालाई भात खुवाइन्छ । भात खुवाउँदा छोरा र छोरीलाई पृथक् समयमा खुवाइन्छ । छोरा भए छ महिनामा र छोरी भए पाँच महिनाको अन्तरालमा । भात खुवाउने कार्यअगाडि बच्चालाई नुवाइधुवाइ गराई जग्गेअगाडि राखिन्छ । जग्गे घरको कोठामै बनाइन्छ । घरको मूलीले सर्वप्रथम भात खान दिई लुगा लगाइदिन्छ । एवं रीतले सो बच्चालाई परिवारका सबै सदस्यहरू, मावली, इष्टमित्र, गाउँले पाहुनाहरूले टीका लगाइदिनुका साथै दक्षिणा दिई भात खुवाइदिने कार्य गर्छन् । भात खुवाउन उपस्थित पाहुनाहरूलाई सम्मानपूर्वक भोज खान दिन्छन् ।

व्रतबन्ध
केटाको उमेर ७-८ वर्ष पुगेपछि व्रतबन्ध गरिन्छ । माघे पूर्णिमा (स्वस्थानी पूर्णिमा) को दिन यिनीहरूको देवाली पूजा गर्दछ । यसै समयमा व्रतबन्ध गर्ने ठीक एक दिनअगाडि परिवारका सदस्यहरूलाई नाउद्वारा हातखुट्टाको नङ काट्नुका साथै कपाल खौरिदिन्छन् । त्यसपछि नुवाइधुवाइ गरी चिउरा, माछा, उखु आदि सामग्रीहरूलाई पूजाआजा गरी एउटा दियो बत्ती बाल्छन् । सो बत्तीलाई निभ्न दिँदैनन्, रातभरि तेल हाली जाग्राम बसी बत्तीलाई जगाउँछन् । बिहानीपख व्रतबन्ध गर्ने भान्जाको घरमा मामा आउँछन् । परिवारका सबै सदस्यहरू सो बत्ती र पूजाआजा गरेको सामग्रीलाई देवाली पूजा गर्ने ठाउँमा लान्छन् । सबै परिवारका सदस्यहरू जम्मा भई कुलदेवताको पूजापाठ गर्छन् । खास गरी सरस्वती, वनिज खाने र गम्वारलाई कुलदेवता सम्झी पूजा गर्छन् । पूजा गर्दा कुलदेवतालाई आफ्नो १३ दिने दाजुभाइ जेष्ठताको आधारमा लाइनमा बसी कुलदेवताको पूजा गरिन्छ । कुनै परिवारका सदस्य विवाह, बच्चा जन्मँदा र अन्य शुभकार्यको भाकलस्वरूप कालो बोका कुलदेवतालाई बलि चढाउने चलन छ । कुलदेवताको पूजापाठ सकिएपछि व्रतबन्ध गर्ने केटालाई सेतो फेटा र धोती लगाई दक्षिणाको साथै टोपी पनि दिने चलन छ ।

पहरी जातिको व्रतबन्धमा बिहेको जस्तै खर्च हुन्छ । उनीहरूले व्रतबन्धमा परम्परादेखि चल्दै आएको संस्कार धान्नका लागि मात्र कम्तीमा चारदेखि पाँच लाख रुपियाँ खर्च लाग्छ । विशेष गरी व्रतबन्धमा लत्ताकपडा बाँड्नुपर्ने, मासुसहितको भोज खुवाउनुपर्ने, बाजागाजा बजाउने र भाँडाकुँडा किनमेल गर्नुपर्ने परम्परा रहेकाले खर्चिलो हुने गरेको छ । पहरीले हरेक वर्ष माघ महिना स्वस्थानी समाप्तिको अन्तिम दिन देवालीमा व्रतवन्ध गर्ने गर्छन् । यता नेवार समुदायमा भने यो चलन छैन । पहरी जातिमा विवाहको भन्दा बढी महव व्रतबन्धको हुन्छ । बिजोर वर्ष पारेर छोराको व्रतबन्ध गर्ने गर्छन् । व्रतबन्ध गर्छु भनी भाकेको वर्ष कुनै कारणले छेकथुन भएमा उनीहरूले अर्को दुई वर्षपछि बिजोर वर्षका लागि सार्ने गर्छन् (सुभानु आचार्य) ।

विवाह
पहरी जातिमा चोरीविवाह, मागीविवाह र प्रेमविवाह गर्ने गरिन्छ । तर विधवाविवाह गर्ने चलन छैन । विधवाविवाहलाई समाजले ग्रहण गर्दैन । यस जातिमा प्रचलित रहँदै आएको छ मागीविवाह । सर्वप्रथम विवाह गर्ने बेलामा केटा पक्षबाट कुरा चलाइन्छ ।

कुरा मिलेपछि परिवारका जेठाबाठा र गाउँका जान्नेसुन्ने र केटालाई लिएर केटीको घरमा जान्छन् । कुरा छिन्न जाँदा साथमा सुनको औँठी, सुपारीहरू र भेटीस्वरूप केही रुपियाँ पैसा लगी केटीको बुबालाई जिम्मा दिई विवाहको कुरा टुङ्ग्याउँछन् । त्यसपछि केटीले दूबोको माला लगाइदिन्छन् । विवाह गर्ने दिन निश्चित तय भएको दिन दुलाहा पक्षका जन्तीहरू दुलहीको घरतर्फ प्रस्थान गर्छन् । विवाहको कार्य गर्न जग्गेको आवश्यकता पर्दैन । कुनै एक ठाउँमा लगी विवाहको कार्य सिद्ध्याउँछन् । त्यसपछि दुलाहा र दुलहीलाई एउटा कोठामा राखिन्छ । काँसको डबकामा सुपारी खेलाउने कार्य सुरु हुन्छ । सुपारीको सङ्ख्या ७ वटा हुन्छ । दुलाहा र दुलहीले पालैपालो सुपारी खेलाउँछन् । अन्ततोगत्वा सुपारी दुलहीले लिन्छ । पहरी जातिमा विवाह कार्यअन्तर्गत कन्यादान दिने कार्य अन्य जनजातिको भन्दा पृथक् रहेको छ । कन्यादान दिने बेलामा दुलाहा र दुलहीको हात एउटै काँचको धागोले बाँधिन्छ र दुलाहाका बुबा वा जेठा दाइले कुखुराको भाले काटी रगत हातमा चुहाइन्छ । उक्त कार्य सकिएपछि सिन्दूर हाल्ने काम सुरु हुन्छ । सिन्दूर हाल्नुपूर्व दुलाहाले दुलहीको आमाको दूधको भारोबापत कपडा र केही गच्छेअनुसारको दक्षिणा दिइन्छ । दक्षिणा दिएपछि दुलाहाले पानसबाट दुलहीको शिरसम्म राखिएको कपडामा सिन्दूर हालिदिन्छ ।

मृत्यु
पहरीहरू सुत्ने गरेको ओछ्यान मृत्यु हुन दिन हुँदैन भनेर घरको अाँगनमा गाईको गोबरले लिपपोत गरि बिरामीलाई राखिन्छ । सिकिस्त बिरामीलाई कुर्न आफन्तहरू आलोपालो गर्छन् । पहरी जातिमा एक गुठी हुन्छ । गाउँमा कोही मर्नासाथ गुठीका मानिसहरूलाई खबर गराइन्छ । लासलाई घरको आँगनमा सेतो कपडाले छोपी बाँसद्वारा बनाइएको घारोमा राखिन्छ । लास लानुअघि घरको बलेसीको कुनामा तीनवटा ढुङ्गा राखी धान भुट्छन् । लास खोलामा लाने क्रममा अगाडिअगाडि भुटेको धान छर्दै हिँड्ने चलन छ । दाहसंस्कारका लागि घरबाट नै आवश्यक पर्ने दाउरा लैजान्छ । लासलाई जलाउँदा धुवाँ निस्केको घरबाट देखिनुपर्छ भन्ने मान्यता रहिआएकाले मसानघाट घरनजिकैको वनपाखामा बनाएको हुन्छन् । लास जलाई घर फर्कने बेला धूपी सुँघ्नुका साथै बाटोमा ऐँसेलुको बोटलाई टेकी फर्कने चलन छ । मलामी जाने व्यक्तिलाई मृतकको घरमा आइसकेपछि चिउरा खान दिइन्छ । १३ दिनमा चोखिने कार्य गर्दछ भने १३ दिनमा नाउलाई डाकी कपाल, नङ काटिन्छ । १३ औँ दिनमा घ : शु गर्ने गरिन्छ । घ : शु भन्नाले चोख्याउने कार्य हो । ब्राह्मण र किरियापुत्री नदीमा जान्छन् । धार्मिक कार्यहरू गरी घर फर्कन्छन् । घरको मूलीद्वारा गाईको गहँुतले घर चोख्याउने काम हुन्छ । पुनः मलामीहरूलाई डाकी श्रद्धापूर्वक भोज खान दिन्छन् । बरखी एक वर्षसम्म बारिन्छ । बरखी बार्नेले कोदो, केरा, कालो दाल, सुपारी, भटमास खाँदैनन् । वर्ष दिन पुगेपछि बरखी फुकाइन्छ । वार्षिक पुण्य तिथिमा श्रद्धा गरिन्छ ।

पहरी समुदायमा कडा रोगबाट ग्रसित, गर्भवती महिला र छेवर नगरेको व्यक्तिको मृत्यु भएमा लासलाई नजलाई गाड्ने चलन छ ।

उपसंहार
नेपालको काठमाडौँ, ललितपुर, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका केही स्थानमा बसोबास गर्दै आइरहेका पहरीहरूको जम्मा जनसङ्ख्या १३, ६१५ रहेको छ । यस जातिको आफ्नै रीतिरिबाज, भाषा–वेशभूषा, रहनसहन, खानपिन रहेको छ । पहरीको बोलीचाली नेवारी भाषासँग सामीप्य रहे तापनि बोल्ने तरिका भने तामाङसँग मिल्दछ । ग्रियसनले पहरी भाषालाई नेवारी भाषाको उप-भाषिकाको रूपमा लिएको छ भने ह्यामि डर्फले भोटबर्मेली परिवारसँग मिल्ने तर्क पेस गरेका छन् । पहरीहहरू मल्लकालका बहादुर सेनाको रूपमा चिन्दथे ।

पृथ्वीनारायण शाहले उपत्यका आक्रमण गर्दा यिनै पहरी सेनाले विफल तुल्याएको थियो । पृथ्वीनारायण शाह पहरी सेनादेखि आजित भएका थिए । पहरी हिन्दू धर्मालवम्बी भएकाले धार्मिक, रीतिरिबाज चाडपर्व यथास्थितिमा पुज्ने गर्दछन् । यस जातिले देवाली पूजालाई धूमधामले मनाउँछन् । विशेषतः देवाली पूजामा त्रिदेवी, सरस्वती, बनजि खाने र गम्बार हुन् । देवालीको अघिल्लो दिन कपाल तथा नङ काटी नुवाइधुवाइ गर्छन् । देवाली गर्ने ठाउँ सबैको एकै ठाउ हुन्छ । देवाली पूजा गर्दा कुखुरा, बोका, हाँसको बलि दिइन्छ । यिनीहरू कृषि पेसामा नै आश्रित छन् ।

आधुनिक तरिकाबाट खेतीपातीका कारण यिनीहरूको आर्थिक स्तरमा वृद्धि भएको छ । थप आम्दानी जुटाउन, कुखुरा, भैँसी, राँगा, भेडा, बाख्रा, पाल्नुका साथै थुन्चे, भकारी, डाम्लो, डोरी, मान्द्रो, डालो बनाई स्थानीय बजारमा विक्री गर्छन्् । पहरी जातिमा जन्मेदेखि मृत्युसम्म गरिने सामाजिक संस्कार आफ्नै खाले रहेको छ । यस समाजमा गरिने सामाजिक संस्कार भड्किलो भएको हुँदा पहरीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन ।