काठमाडौं । रेखा शाहको गीत सिमसिमे पानीमा… स्वामित्वबारे पटक पटक विवादमा प¥यो । यो गीतबारे प्रेमराजा महत र रेखा शाहबीच विवाद भएको थियो । अन्ततः गीतको स्वामित्व रेखाकै भएको प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयबाट पुष्टि भयो ।
यो गीतको पूर्ण स्वामित्व आफ्नो रहेको प्रमाणित भएपछि गायिका रेखा शाहले यो गीतलाई मुम्बईमा फेरि रेकर्ड गरी नयाँ भिडियो बनाएर यतिबेला रिलिज गरेकी थिइन् ।
सात वर्षअघि पनि उनले यो गीतलाई आफ्नो स्वरमा रिमिक्स गरेर नयाँ भिडियोसहित रिलिज गरेकी थिइन् । उनले यो गीतलाई तेस्रोपटक रेकर्ड गरेर यति बेला भिडियोमा ल्याएकी हुन् । यसरी एउटै गीत एउटै गायिकाको स्वरमा तेस्रोपटक रेकर्ड भएको सम्भवतः यो नै पहिलो हुनुपर्छ ।
सुरुमा २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, संगीत र स्वरमा यो गीत रेकर्ड गरेकी थिइन् । त्यतिबेला रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी लोकगीत प्रतियोगितामा सिमसिमे पानी गीतले प्रथम स्थान हाँसिल गरेको थियो । त्यसपछि यो गीत सदावहार बन्यो ।
यही गीतलाई उनले सात वर्षअघि रेकर्ड गरेर नयाँ म्युजिक भिडियो बनाउँदै दर्शकमाझ ल्याएकी थिइन् । यो गीत रेकर्ड भएको तीन दशक पुगेको अवसरमा उनले यतिबेला फेरि रेकर्ड गरेकी हुन् ।
यसपटक मुम्बईस्थित यशराज स्टुडियोमा रेकर्ड गरिएको सिमसिने पानीमाको अडियोमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । रेखा शाह फाउन्डेसनको प्रस्तुतिमा रेखा शाह अफिसियल युट्युब च्यानलबाट यो गीत दर्शकमाझ आएको छ । यो गीतले दर्शकमा ऊर्जा थप्ने गायिकाको दाबी छ ।
गीतबारे गायिका शाहले भनिन्, ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ ।’ सिमसिमे पानीमाको लयलाई सहनाईले ध्वनिमा उतारेकाले स्रोतालाई नयाँ स्वाद दिने गायिका शाहको दाबी छ ।
सो गीतका दुईवटा म्युजिक भिडियो पनि एकैसाथ सार्वजनिक गरिएको छ । गीतलाई कथानकसँग बुनेर बनाइएको भिडियोमा गायिका शाहले अभिनेता महेश त्रिपाठीसँग अभिनय गरेकी छन् । रुपेश थापाको छायांकन र निर्देशन रहेको सो गीतमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । नेपाली कलाकारिता क्षेत्रको एउटा कथालाई सो भिडियोमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, सोही गीतको स्टुडियो भर्सनको भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा प्रयोग भएका वाद्यवादकलाई दृश्यमा उतारिएको छ, जहाँ गायिका शाहले आकर्षक डिजाइनको स्टुडियोमा लाइभ गीत गाइरहेकी छन् । यस भिडियोको छायांकन र निर्देशन पनि रुपेश थापाले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माकै रहेको छ ।
प्रतिक्रिया