स्थापना दिवसमा सम्मान पुरस्कार प्रदान

स्थापना दिवसमा सम्मान पुरस्कार प्रदान


समयपथ
0
Shares

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले २२औं स्थापना दिवस मनाएको छ । राजधानीमा आइतबार सम्पन्न सम्मान तथा पुरस्कार प्रदान गर्दै वार्षिकोत्सव मनाइएको हो ।

समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, प्रेस काउन्सिल नेपाल अध्यक्ष बालकृष्ण बस्नेतलगायतले सम्मान तथा पुरस्कार प्रदान गरे ।

अढाई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताप्रति सर्मपित शान्तिप्रियलाई ‘रजत सम्मान २०८०’सहित ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, चलचित्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट कुबरे डंगोल र दीपज्योति थापालाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरियो । उनीहरूले दशक लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएकाले सो पुरस्कार प्रदान गरिएको संघ अध्यक्ष समिर बलामीले जानकारी गराए ।

राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट अग्रज रंग पत्रकार तुलसी गिरी ‘भावुक’लाई सम्मानित गरियो । तीन दशकदेखि चलचित्र पत्रकारिता गर्दै आएकाले उनलाई यो सम्मान गरिएको हो ।

त्यस्तै, चलचित्र पत्रकार संघ पोखरा शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ २०८० बाट सम्मानित गरिएको छ ।

यो वर्ष राष्ट्रिय मोफल चलचित्र पत्रकारिता पुरस्कारबाट चितवनका रवि अधिकारीलाई पुरस्कृत गरियो । उनलाई २५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

नयाँ पुस्ताबाट एक पत्रकारलाई प्रदान गरिँदै आएको चलचित्र पत्रकार प्रोत्साहन पुरस्कार २०८० सृष्टि पोखरेललाई प्रदान गरिएको छ ।

चलचित्र पत्रकार संघको स्थापनाको २५औं वर्ष पुगेको अवसरमा यसै वर्षबाट ६० वर्ष नाघेको सदस्य पत्रकारलाई ‘ज्येष्ठ चलचित्र पत्रकार सुरक्षा भत्ता’ घोषणा गरिएको छ ।

अग्रज रंग पत्रकार विजयरत्न तुलाधरलाई मासिक ४ हजार रुपैयाँका दरले सो भत्ता नियमित दिने घोषणासहित वैशाख र जेठ गरी दुई महिनाको भत्ता प्रदान गरिएको छ ।