बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख


समयपथ
0
Shares

सिन्धुली । ‘बिहेवारी २० वर्ष पारि’ । बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् ।

यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन । यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप रु एक लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुनेछन् ।

विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । उनका अनुसार गाउँपालिकाको शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ । स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ ।

सोही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही रु एक लाख हस्तान्तरण गर्‍यो । मरिण–७ का चारजना र वडा नं ६ की एकजना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो ।

अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझ्नुभएकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताइन । उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने बताउने उनले आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा छन् ।

“गाउँपालिकाको यस कार्यक्रमले बीचैमा पढाइ छोड्नेलाई फेरि पढ्न हौसला मिलेको छ । मैले परिवारको सहयोगमा स्नातक पास गरेँ, अब आफैँ कमाएर पढ्नु पर्ने, जागिर पाएकै छैन”, उनले भनिन् ।

मरिण महेश्वरताकी मनमाया कँडेल अहिले त्रिभुवन विश्वविद्यालयमा स्नाकोत्तर तेस्रो सेमिस्टार पढ्दै छन् । विसं २०७६ मा स्नातक तहको पढाइ मरिण बुहुमुखी क्याम्पसबाट पूरा गरेकी उनी र बहिनी चित्रकुमारी कँडेलले एकैसाथ गाउँपालिकाबाट एक-एक लाख प्रोत्साहन रकम पाए ।

चित्रकुमारीका अनुसार दाइ मित्रबहादुर कँडेलले १२ कक्षामात्र पास गरेका छन् । भाइले १० कक्षा उत्तीर्ण गरेर पढाइ छोडेका छन् । बहिनी चित्रकुमारीको साथमै रहेकी मनमायाले भनिन, “दाजुभाइले बीचैमा पढाइ छोडे पनि हामीले परिवारको सहयोगमा पढिरहेका छौँ ।

गाउँपालिकाले पैसास्वरूप दिएको यो सम्मानले थप पढ्न हौसला बढेको छ । पैसाभन्दा पनि गाउँपालिकाभित्रै रोजगार पाएको भए पढेर बेरोजार बस्नुपर्ने थिएन । यो उमेरमा आएर पनि बुबाआमासँग खर्च माग्नुपर्ने बाध्यता हट्ने थियो ।”

विसं २०७८ मा स्नातक उत्तीर्ण गर्नुभएकी मरिण–६ छापकी विमला तामाङ अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर पहिलो सेमिस्टारमा पढ्दै छन् । उनलाई मरिणको प्रोत्साहन कार्यक्रम राम्रो लाग्यो । जागिर नपाएर लोकसेवा पढ्न थालेको बताउने उनले गाउँपालिकाबाट पाएको रकम पढाइमै खर्च गर्ने सुनाइन ।

एक लाख प्राप्त गर्नुभएकी रजनी मैनाली शैक्षिक सुधारका लागि मरिण सरकारले थप नयाँ र दिगो हुने खालको कार्यक्रम ल्याउन आवश्यकता देख्छिन ।

सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सिर्जनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनले बताइन । भन्छिन–, “यो कार्यक्रमको ठूलो महत्त्व छ, अरू पालिकाले पनि सिक्छन् ।”

यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उनको धारणा छ ।

उनी भन्छन, “सन्तानलाई पढ्ने र अभिभावकलाई पढाउने रहर हुँदाहुँदै पनि आर्थिक समस्याले बीचैमा पढाइ छोडाएर कमाउन सहर पठाउनुपर्ने हाम्रो बाध्यता छ, सहरमा पनि रोजगारी नपाएपछि विदेश पठाउनुपरेको छ । स्थानीय सरकारले गाउँमा कमाउँदै गाउँकै स्कुलमा पढ्ने वातावरण बनाउनुपर्छ ।”