हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार आफ्नै प्रतिबद्धता विपरीत १२ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । पाँचौँपटक विस्तार गरेको मन्त्रिपरिषद्मा रहेका एकजना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय टुक्राउनुको विकल्प छैन ।
राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारले १८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा हालका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री थिए । सत्ता टिकाउन पाण्डेले अनावश्यक मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । मुख्यमन्त्री नियुक्ती भएपछि जम्कट्टेलले शुसासन स्थापित गर्ने भन्दै मन्त्रालयको संख्या घटाए ।
प्रदेशका प्रमुख सचिवको नेतृत्वमा मन्त्रालयको संख्या निर्धारण गर्न सुझाव समिति गठन गरेका जम्कट्टेलले समितिकै सुझवबका आधारमा ११ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । एमालेसँगको गठबन्धनमा फेरबदल आउँदा पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या नबढ्ने दाबी गरिरहेका थिए । सत्ता साझेदार नेपाली कांग्रेसले ६ वटा र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय दाबी गरेपछि मुख्यमन्त्री दबाबमा परे । माओबादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय लिएको छ । सत्ता साझेदार दलले मागेको जति मन्त्रालय नदिए सरकारबाट फिर्ता हुने भन्दै दबाब बढाएपछि मुख्यमन्त्री मन्त्रालय टुक्रयाएर सरकार विस्तार गर्न तयार भए ।
प्रतिक्रिया