काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको धारणा राखेका छन् ।
ललितपुरमा सोमबार आयोजित कार्यकर्ता भेलामा उनले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने दाबी गरे । उनले नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान नमिल्ने जनाए ।
‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्तभन्दा बाहिर कोही पनि जान पाइँदैन,’ उनले भने, ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’
उनले सरकार चलाउन गाह्रो भयो भन्दैमा कानुन कसैले पनि मिच्न नहुने धारणा राखे । उनले भने, ‘सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन हुँदैन ।’ उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने जनाए । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुन मिच्न नहुने उनको सुझाव छ । ‘आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौं,’ थापाले भने । उनले राष्ट्रहितविपरीत गरिने निर्णयले भविष्यमा आफैंलाई पछुतो हुने दाबी गरे ।
‘कांग्रेस सत्ता र सरकारमा लिप्त भयो’
महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको जनाए । उनले आजका युवामा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । यस्ता गल्ती, गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने उनको भनाइ छ । उनले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने धारणा राखे ।
‘सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो । गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ । अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ, नेपाली कांग्रेस पार्टीले त्यहीँबाट सुरु गर्छ, पार्टीले गरेको गल्ती स्वीकार्दै आमजनतासँग माफी माग्दै आमपार्टीका सदस्यसँग माफी माग्दै यो कांग्रेस पार्टीले घोषणा गर्छ, यो कांग्रेसले अब जीवनमा चुनाव हारे हारिन्छ, दुई/तीनपटक हारे हारिन्छ, तर चुनावअघि जीवनमा कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।’
महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाए ।
महामन्त्री थापाले रेशम चौधरीबारे अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको धारणा राखे । उनले विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने जनाए । ‘अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार-हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गर्यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं । हामीलाई अफ्ठ्यारो परेका बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौं,’ महामन्त्री थापाले भने, ‘तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’
प्रतिक्रिया