बुबा

बुबा


समयपथ
0
Shares

खिलाप मेरा सब टार्न सक्ने
विलाप दुर्भाव सपार्न सक्ने।
द्रष्टा उनै दीक्षक हुन् पिताजी
सन्तानका आँसु निखार्न सक्ने।१ ।

मिलाप बुन्ने घरबारभित्र
रानाे मुली रक्षक घारभित्र ।
खाता खजाञ्ची सुचरित्रदाता
पिता ! दया सागर जन्मदाता ।२।

खेती किसानी समुदाय न्यानाे
घरायसी अड्चन आड छानाे ।
खुसी फुटाएर जुटाउने काे ?
प्रसन्न पार्ने फल-बाेट काे त्याे? ।३।

पगाल रे ईश्वर भावमा छ
नपाल रे दुष्ट सभा समाज !
सुमार्ग देखाउन च्याप्प च्यापी
हिंडाउने तागत हाै पिताजी!।४ ।

आमा र बा पालक प्रेमधारा
उन्मुक्तिका सङ्कटका सहारा
दयार्द्र दानी करुणा निधान
कल्याणका बीजन रामवाण।५।

बाबाविनाकाे धरती अँधेराे
बा ! हाै तिमी आयुद आयु मेराे ।
आशीष ली ढाकर ढाेग्न पाऊँ
गुरुत्व हाै जाँगर जाेड्न पाऊँ ।६।

पिता महामान्य गराैँ पुकार
साैभाग्य बर्सा गर बारबार !
सन्तान हाे ! पार पिता प्रसन्न
मिष्टान्न सेवा थप टन्न टन्न ।७।

रुँदा बुबा सन्तति दुख्छ भाेलि
आमा दुखे क्रन्दन फुट्छ बाेली
आमाबुबा प्राण दिने दुखेमा
सन्तान काे हाँस्छ वसुन्धरामा ? ।८।
———-000———-

पदम दाहाल
मादी,सङ्खुवासभा
हाल: लाेकन्थली,भक्तपुर।