पाल्पा । सिद्धबाबा सुरुङमार्गको निर्माणको काम सुरु भएको छ । निर्माण कम्पनीले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुनु अगावै सुरुङमार्ग निर्माणको काम सुरु भएको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको अति जोखिमयुक्त मानिने सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको प्रारम्भिक काम अघि बढेको छ ।
सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ‘नर्थ पोर्टल’ तर्फ ‘रिब’ राखेर एंकरिङको काम गरिरहेको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालका अनुसार सडक विभागका कर्मचारी र स्विस सरकारको परामर्शदाताबीच खण्ड–खण्डको डिजाइन स्वीकृत गरेर काम अघि बढाएको हो । हाल उत्तरतर्फको प्रवेशद्वारलाई एंकरिङ गरेर त्यसको माथि कंक्रिटको काम सुरु भएको छ ।
केही सातादेखि ठूला फलामका पाइपलाई जोडेर एंकरिङको काम पनि भइरहेको आयोजनाले जनाएको छ । उत्तरतर्फ सुरुङ खन्ने कामका लागि सडक विभाग र स्विस कन्सल्ट्यान्टबीचको छलफलमा स्वीकृत भइसकेको सिद्धबाबा मन्दिरको पाल्पातर्फ पनि डाइभर्सनको काम र स्लोप कटिङमात्र भएको छ ।
स्लोप कटिङ र धर्मशालानजिक डाइभर्सनको काम मात्र हुनेछ । डीपीआर स्वीकृत हुनासाथ थप कामअघि बढ्ने आयोजनाले जनाएको छ । सिद्धबाबा सुरुङमार्ग साढे ५ वर्षभित्र बन्ने गरी ठेक्का लगाइएको छ ।
भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लागेको र ५८ करोड निर्माण व्यवसायीले पेश्की लगेको आयोजनाले जनाएको छ । ठेक्का लागेको ६६ महिनामा पूरा गर्नुपर्नेछ भने सुरुङ १ हजार १२६ मिटर मात्र बन्नेछ ।
प्रतिक्रिया