कोशी अस्पतालमा पनि ३ सय ३० शैया निःशुल्क

कोशी अस्पतालमा पनि ३ सय ३० शैया निःशुल्क


समयपथ
0
Shares

विराटनगर ।वीर अस्पतालमा ७ सय शैया विपन्न विरामीका लागि निःशुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शैया निःशुल्क उपचार गर्ने निर्णय गराएका छन । आकस्मिक निरिक्षणको क्रममा मंगलबार विराटनगर पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतको निर्देशनपछि कोशी अस्पतालले आईसियू, एचडियू र क्याबिन बाहेकका ३ सय ३० शैया निःशुल्क गरिएको हो ।

स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागु गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार निःशुल्क गर्न आफुले निर्देशन दिएपछि कोशी अस्पतालले आजैदेखि निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले विपन्न विरामीका लागि शैयामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुने बताए। कोशी अस्पतालका प्रमुख डा. रविनराज सिंहले स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शैया निःशुल्क गरेको जानकारी दिए । मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शैया निःशुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविश्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताए। निःशुल्क उपचार पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।

कोशी अस्पतालको टिकट काउन्टरमा भिड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिएका थिए। निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल पनि सहभागी थिए । त्यसै बिच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तर समेत गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो । मन्त्री बस्नेतले मंगलबार नै विराटनगरको पथरी नगर अस्पताल, किओच बाल अस्पताल, दमक नगर अस्पताल र बिर्ता सिटी अस्पताल लगायतका अस्पतालहरुको निरिक्षण गरेर सहज रुपमा उपचार सेवा प्रदान गर्न अस्पतालका अधिकारीहरुलाई निर्देशन दिएका थिए ।