नुवाकोटका सन्तोषीले घरमै पाए नागरिकता

नुवाकोटका सन्तोषीले घरमै पाए नागरिकता


समयपथ
0
Shares

त्रिशूली । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् ।

जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

उक्त वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उनलाई प्रजिअ थापा, सहायक प्रजिअ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।

शारीरिकरूपमा पूर्ण अशक्त भएकी रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाले बताए । शारीरिकरूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उनले बताए ।

नागरिकता प्राप्त भएपछि खुसी भएका सन्तोषीका बुवा तोयबहादुरले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताए । ‘राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन’, उनले गुनासो गरे, ‘छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ । एक जना हेरालु खटिनुपर्छ । दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो ।’