ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत


समयपथ
46
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको जनाएका छन् ।

राष्ट्रियसभा बैठकमा शुक्रबार राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको दाबी गरे । ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको तर्क छ । उनले आवश्यकताका आधारमा ऋण लिनुपर्ने जनाउँदै उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा जोड दिए ।

‘हामीले जुन ऋण उठाइराखेका छौं । त्यो हाम्रो आवश्यकताअनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने के-हो भने कति ऋण लियौं भन्ने भन्दापनि त्यो ऋण कहाँ खर्च गर्‍यौं ? कसरी खर्च गर्‍यौं ? त्यो महत्त्वपूर्ण कुरो हो । त्यसमा हामी गम्भीर हुनैपर्छ । र कतिपय अवस्थामा पछिल्लो समयमा पनि हामीले लिएको ऋण उपयुक्त ठाउँमा खर्च भएन । हाम्रो चासो र चिन्ता हुनुपर्ने त्यो विषय हो भन्ने मलाई लाग्छ ।

त्यसकारण अहिले हामीले ऋण लिने कुरा गर्दा विदेशी दाता होस्, या आन्तरिक बैंकहरुबाट राष्ट्र ऋण उठाउने कुरा होस्,’ उनले भने, ‘यसलाई प्राथमिकताका साथ हामीले उठाएका छौं । किन लिने र कहाँ खर्च गर्ने ? त्यसको प्रतिफल कसरी सुनिश्चित गर्ने ? त्यसमा हामी गम्भीर हुनुपर्छ । हामीले उत्पादन बढाउने हिसाबले ऋण लिनुपर्‍यो भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८० साउन १ गते सोमबार दिनको १:०१ बजे बस्ने गरी बोलाइएको छ ।