उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही


समयपथ
92
Shares

काठमाडौँ । जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ। कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन्।

बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शङ्कर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तुलाई) साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। गुलाब मण्डल, शङ्कर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

‘शिवचन्द्र कुशवाहाले पार्टी अध्यक्षविरूद्ध नै गुटबन्दी गर्ने, लाञ्छना लगाउने काम गर्नुभयो। उहाँ पार्टीको सदस्य हुनुहु्न्थेन। उहाँ सदस्य नरहेको जानकारी गराउने निर्णय गरेका छौँ,’ एक नेताले भने।त्यस्तै, पार्टीको सचिवको जिम्मेवारीमा रहेका भोपेन्द्र यादवले रूपन्देहीको जिल्ला प्रशिक्षण भाँड्न लागेको बताइएको छ। गत असार २१ गते त्यहाँ प्रशिक्षण राखिएको थियो। भोपेन्द्रले जिल्लाका कार्यकर्तालाई सहभागी नहुने भनेकाले अनुशासन समितिले कारबाही गरेको बताइएको छ।

यता सप्तरीका गुलाब मण्डलले कंकालिनी मन्दिर व्यवस्थापन समितिको चुनावमा पार्टीविरूद्ध उम्मेदवारी दिएका थिए। त्यहाँ पार्टीले सेट नै जितेको तर मण्डलले उम्मेदवारी फिर्ता नलिएकाले एक वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको बताइएको छ। शङ्कर खड्काले पनि पार्टीविरूद्ध व्यवस्थापन समितिको चुनावमा बागी उम्मेदवारी दिएकाले कारबाही गर्नुपरेको जनमतले विज्ञप्तिमार्फत् बताएको छ।

भगवान दास यादवले पार्टीका बैठकमा होहल्ला गर्ने, पार्टीका काममा बाधा–व्यवधान खडा गर्ने र अनुशासनहीन गतिविधि देखिएकाले एक वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बनब गरिएको जनमतको भनाइ छ। ‘यो कारबाहीपश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुने छ,’ जनमतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।