विचारमा स्पष्टता अनि व्यवहारमा आदर्श बोकेका नेता र समर्थकले बनाएको पार्टी हो, नेपाली कांग्रेस ! भौतिकवादी विश्वेश्वर कोइराला र अध्यात्मवादी कृष्णप्रसाद भट्टराईको संयोजन थियो, कांग्रेसमा । निस्पृह र निष्कलंक भएकैले कृष्णप्रसाद भट्टराईले २०४७ को संयोजनकारी संविधान जारी गराए; सुशील कोइरालाले २०७२ को नयाँ संविधान ल्याउन नेतृत्व पाए । कांग्रेसको चर्चाबाट यी दुई विशिष्ट पात्रहरू किन हराए ?
भट्टराई आफू चुनाव हारेर पनि पार्टीलाई जिताउन सक्थे; कृतघ्न सहयात्रीको समेत हित चिताउन सक्थे ।
विचारमा सुस्पष्ट र व्ववहनरमा आदर्श पुरुष किसुनजीलाई देखाएर दुई-दुईपल्ट पर्याप्त बहुमत ल्याएको इतिहास कांग्रेसले किन बिर्सियो ? कुशल संगठक गिरिजाबाबुले मध्यावधि निर्वाचन गराउनुभयो; आफूले जित्नुभयो तर पार्टीलाई हराउनुभयो ।
गिरिजाबाबुले नेकपा माओवादीलाई मूल धारको राजनीतिमा ल्याएर नाम कमाउनुभयो भन्नेहरूले उहाँले नै माओवादीलाई जन्माउनुभयो र हिंसात्मक बनाउनुभयो; भन्न चाहिँ किन नसकेको ?
दुईतिहाइ मत ल्याएर पनि अपदस्थ बनाइएका बिपी त्यसपछि आजीवन सत्ताबाट बाहिरै रहनुभयो; उहाँकै भाइ जिपी चाहिँ अल्पमतमा हुँदा पनि सत्तामा गइरहनुभयो । कुशल संगठक र स्पष्ट विचारकमध्ये कांग्रेसले कसलाई नेता बनाउन खोजेको छ ?
पार्टीलाई दुईतिहाइ मतसहित विजयी गराएर प्रजातन्त्रमाथि प्रतिबन्ध लाउन सघाउने जोशिला विश्वेश्वरप्रसाद कोइरालालाई बिर्सनुहोला । राष्ट्रिय मेलमिलापका माध्यमबाट निरङ्कुश राजालाई सहमत गराएर २०३६ को जनमत संग्रह गराउन सफल होशिला विश्वेश्वर कोइरालालाई मात्र सम्झनुहोला ।
क्रियाशील सदस्य बढाउँदै र मतदाताको संख्या घटाउँदै गरेको कांग्रेसका आशा लाग्दा युवानेताहरू लाखौँको संख्यनमा क्रियाशील सदस्यता थप्ने उद्घोष गरेर आफूलाई धुरीमा चढ्दै छन् । क्रियाशील सदस्यता नवीकरण नगरीकन सत्याग्रह आन्दोलन गर्ने म र मजस्तालाई सदस्यता नवीकरण गर्न बाध्य बनाउने सुस्पष्ट विचार अनि सुशासन जगाउने व्यवहार कुन चाहिँ नेतासँग छ ?
कांग्रेस पार्टी सबै तहको सत्तामा छ । उसका मन्त्री, मुख्य मन्त्री, मेयर, उपमेयर, प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू जनजीविका र रोजगारी पस्किने भान्सामा छन्; सुशासन, पारदर्शिता र प्रगतिशीलता प्रस्तुत गरेर नारायणकाजी श्रेष्ठ, बालेन्द्र शाह र हर्क साम्पाङसँग स्वस्थ प्रतिस्पर्धा गर्न तिनलाई कसले रोकेको छ ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरू नै अख्तियार दुरुपयोगका अभियुक्त छन्; सम्मानित सर्वोच्च अदालतका प्रधान न्यायाधीश आफैँ अन्यायका परिभुक्त छन्; महाभियोगका अभियुक्त छन्; यी त प्रतिनिधि दृष्टान्त मात्रै हुन्, विधिको शासन रहेको कुनै एक निकायको नाम थाहा भए गगन र विश्वप्रकाश भाइहरूले भनून् ।
संघीय संसद् र त्यसका समितिहरूबाट शक्तिपृथकीकरण अनि विधिको शासनका लागि अनुकूल विधान बनाउन किन विलम्ब गरियो ? कांग्रेसका बहुसंख्यक सांसदहरू एक्लो जस्ता ज्ञानेन्द्र शाहीसँग सुस्वस्थ र शालीन प्रतिस्पर्धा गर्न किन डराउँछन् ?
गगन र विश्वप्रकाशले दलका नेतृत्व तथा संसदीय दलका नेतृत्वसमेतबाट अधिकार त खोस्लान् तर आदर्श, वस्तुपरक विचार, विवेकशील कर्तव्यले पार्टीलाई कहिलेदेखि पोस्लान् ? गुट बनाउँदै र गुटको विरोध गर्दै हिँड्नुभन्दा संसद्-बैठकबाट विधिसङ्गत सुशासन, स्पष्ट परराष्ट्रनीति, तात्कालिक जनजीविका र दीर्घकालिक मौलिक विकासका अकाट्य विचार दिनुपर्ने होइन ? तपाईंहरू हप्तामा कति घण्टा विषय-विज्ञसँग विचार-विमर्श गर्नुहुन्छ ? दिनको कति घण्टा ध्यान र चिन्तन गर्नुहुन्छ ? तपाईंहरूले थप्ने क्रियाशील सदस्यलाई कति लाखका दरले किन्नुहुन्छ ? तपाईंका पार्टीमा विनापैसा सक्रिय हुन सक्ने दस जना सदस्यको नाम भन्न सक्नुहुन्छ ? तपाईंहरूले थप्न लाग्नुभएको पाँच लाखभन्दा बढी क्रियाशील सदस्यमध्ये कति सयले कांग्रेसका उमेदवारलाई भोट हाल्लान् ।
अन्तर्घातका सूत्रधार गिरिजाबाबुलाई सम्झिएर भन्नुहोस्; अन्तर्घात गर्न नचाहने निष्ठावान् कार्यकर्ता कांग्रेसमा कति जना बाँकी छन् ? कांग्रेसको क्रियाशील सदस्यता छोडूँ-छोडूँ गरेर बसेकालाई जोगाउनुहोस्; तिनीहरूलाई तिनकै निवासमा गएर भेट्नुहोस्; क्रियाशील सदस्यको संख्या बढाएर आफू र पार्टी बलियो हुने भ्रम मेट्नुहोस् ।
पार्टीलाई दुईतिहाइ मतसहित विजयी गराएर प्रजातन्त्रमाथि प्रतिबन्ध लाउन सघाउने जोशिला विश्वेश्वरप्रसाद कोइरालालाई बिर्सनुहोला । राष्ट्रिय मेलमिलापका माध्यमबाट निरङ्कुश राजालाई सहमत गराएर २०३६ को जनमत संग्रह गराउन सफल होशिला विश्वेश्वर कोइरालालाई मात्र सम्झनुहोला । एक वर्षसम्म जनताका घर-घरमा गएर बहुदलीय प्रजातन्त्रको प्रचार-प्रसार गर्नु नै वास्तविक जन-आन्दोलन थियो । त्यो आन्दोलन नितान्त राष्ट्रिय र मौलिक थियो । २०४६ र २०६३ का दुवै आन्दोलनमा परराष्ट्रको प्रत्यक्ष संलग्नता थियो; त्यही संलग्नताले दीर्घरोग पनि दियो । निश्चित शहरहरूमा लगाइएका जिन्दावाद र मूर्दावादका नाराका बलमा आएका परिवर्तनभन्दा सम्पूर्ण जनतालाई सुसूचित गराउने आन्दोलन सकारात्मक र दीगो हुन्छ । सामाजिक सञ्चार-माध्यमबाट नेपाली कांग्रेसलाई तत्काल जनहृदयमा स्थापित गर्न सक्ने विचार आध्यात्मिक चिन्तन, योगध्यान र पारमार्थिक विवेकबाट मात्र आउँछ; आवेग र उत्तेजनाबाट किमार्थ आउँदैन ।
अनेकौँ सञ्चार माध्यमबाट तत्काल जनताका हृदयमा पुग्ने इमानदार कार्यकर्ता तपाई्का सुस्पष्ट विचार, विवेकपूर्ण नेतृत्व अनि अनुसरणीय आदर्श व्यवहारहरू मात्रै हुन् । बाँकी कुरा गर्दै गरुँला ! जय नेपाल !
डा. बलदेव/ गाउँले बलदेव
प्रतिक्रिया