पनौतीमा ‘पर्यटन सूचना केन्द्र’

पनौतीमा ‘पर्यटन सूचना केन्द्र’


समयपथ
46
Shares

काभ्रे । काभ्रे जिल्लाको सांस्कृतिक एवम् ऐतिहासिक नगरी पनौती घुम्न आउने पर्यटकलाई आवश्यक सूचना बाँड्ने उद्धेश्यले पनौती नगरपालिका वडा नम्बर ७ मा ‘पर्यटन सूचना केन्द्र’ सञ्चालनमा आएको छ ।

बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसको अवसर पारेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले पनौतीलाई धार्मिक रुपमा चिनाउनको लागि पर्यटकहरुको बसाई लम्याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी स्थानीय तहबाट भएको कार्यलाई प्राथमिकिकरण गर्दै पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई जोगाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भइरहेको बताउनु भयो ।

पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले पनौतीलाई धार्मिक रुपले परिचित गराउन भएका प्रयासहरुलाई संस्थागत गरी पटक पटक पर्यटकहरुको आगमन हुने गरी स्थानीय स्तरबाट हुन सक्ने सम्भावनालाई अघि बढाउँदै जाने बताउनुभयो ।

उहाँले पनौतीमा कति पर्यटक आउँछन्, कुन देशबाट आउँछन्, आएका पर्यटकहरुलाई पर्ने समस्याहरुको समाधानमा लाग्न पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाइने बताउनु भयो ।

पर्यटन विकास केन्द्रलाई पनौती नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चार लाख सहयोग गरेको थियो । चालु वर्षका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख रकम विनियोजन भएको छ ।