कविता

काव्य-कला प्रवाह

काव्य-कला प्रवाह


समयपथ
115
Shares

शोभा छ तिन्को तनमा तुनामा
झङ्‌कृत माया मनको कुनामा
छ लालची लोचन आसमा त्यो
श्रृङ्गार हो रोचक खासमा त्यो l१l

के कल्पना त्यै सुख सिर्जना हो ?
सौन्दर्य के वैभव तिर्सना हो ?
के काव्य धारा लतिका लता हो ?
कि विम्ब त्यो दिव्य कला छटा हो ? l२l

आएर तन्द्रासित खेल तुन्ने
झस्काउँदै प्रेमिल मेल बुन्ने
चुमी दुबै ओठ उठाउने को ?
ल्याई मिठो काव्य चखाउने को ? l३l

पाखा-पखेरा वन कुञ्जनेर
फकाउँदै निर्जनमा लगेर
छल्को झझल्को रमिता कुँदेर
सजाउने को कविता बुनेर ? l४l
आँखा खुलून् मानवता उचालून्
दया दिऊन् होस हवास हालून्
समाजका दुर्गति डाह घाहा
बगाइदे काव्य-कला प्रवाह ! l५l

निरास हुन् नाश प्रकाश ल्याऊन्
विलाप फाली कवि आस ल्याऊन् !
विचार अग्ला शशिघाम छोऊन्
निस्सारता व्यग्र पखालिदेऊन् l६l

----------000----------

मादी, सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर ।