काठमाडौं । एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया थुनामुक्त भएका छन् ।
शुक्रबार हिमालय एयरको उडानबाट चीन जान लागेका दुई चिनियाँलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबीलाई) बुझाएको थियो ।
राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक ली जियालिङ र लिउ फुयानलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमनले पक्राउ गरेको थियो । शुक्रबार बिहान ९ बजे चीन उड्न लाग्दा विमानस्थलबाट उनीहरु पक्राउ परेका थिए ।
सुन प्रकरणमा उनीहरुको संलग्नता नदेखिएको भन्दै सीआईबीले शनिबार थुनामुक्त गरेको जनाएको छ । यस्तै व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई पनि शनिबार छाडिएको सीआईबीले जनाएको छ ।
राजस्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेपनि सीआईबीले बुझ्न नमानेपछि रोहन थुनामुक्त भएका हुन् । शुक्रबार दिल्लीबाट आएका उनलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो । सुन तस्करी काण्डमा उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन ।
यही प्रकरणमा यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक अर्का चिनियाँ नागरिक पक्राउ परेका थिए । तिब्बती मूलका बेल्जियन नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया