काठमाडौँ । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।
दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ ।
अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो । अनि नक्कली बिल बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौँ मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए ।
प्रतिक्रिया