गृहमन्त्री श्रेष्ठसँग किन आक्रोसित भए सभापति देउवा

गृहमन्त्री श्रेष्ठसँग किन आक्रोसित भए सभापति देउवा


समयपथ
69
Shares

काठमाडौं । सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बोलाएको सर्वदलीय बैठकमा सभापति देउवाले गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठमाथि खनिए ।

कसैको बयानका आधारमा पूर्वगृहमन्त्री एवं आफ्नो पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गरिएको भन्दै सभापति देउवाले आक्रोश पोखेका थिए।

‘भेप’भित्र सुन लुकाएर ल्याउने तस्करसँगको साँठगाँठमा संलग्न हुँदा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा पक्राउ नपरेको भन्दै आइतबारको बैठकमा देउवा जंगिएका थिए । सुन तस्करसँग महराको साँठगाँठ रहेको कुरा छापा तथा सीआईबीको रिपोर्टमा आउँदासमेत छानबिन नगरिएको भन्दै देउवा कड्किएको बैठकमा सहभागी एक नेताले जनाए ।

‘कसैको बयानका आधारमा बालकृष्ण खाणलाई ल्याएर थुन्ने, छानबिन गर्ने ? तर यतिको छापामा आउँदा, सीआईबीको रिपोर्ट, सबैतिर हुँदा पनि महरालाई ल्याएर छानबिन किन नगर्ने ? मैले पार्टीमा जवाफ दिनु पर्दैन ?’ भनेर देउवा कड्किएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई यातना दिएर बयान लिएको उल्लेख गर्दै देउवाले आक्रोश पोखेका थिए । यस्तै विमानस्थलबाट ६० केजी सुन बाहिरिँदा प्रहरीको जानकारीमै नहुनुमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने कि नपर्ने भन्ने प्रश्न पनि देउवाले गरेका थिए ।

माओवादी नेतालाई जोगाउने र अरुलाई पक्राउ गर्ने गृहमन्त्रीको भूमिकालाई लिएर असन्तुष्ट देउवा पछिल्लो समय थप सशंकित बनेका छन् । सभापति देउवा गृहमन्त्री श्रेष्ठको भूमिका निस्तेज बनाउने वा विकल्प खोज्नेतिर केन्द्रित देखिएको माओवादी नेताहरु बताउँछन् ।