कोशीका मुख्यमन्त्री थापाले लिए विश्वासको मत

कोशीका मुख्यमन्त्री थापाले लिए विश्वासको मत


समयपथ
69
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्।

उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौं गएकी थिइन्। उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भएका थिए।

कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरेर सुनाए।

गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो ।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त भएका थिए । असार २२ मा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर गरेपछि साउन १६ मा थापा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।