सिद्धकालीमा लक्ष्मीनारायण मन्दिर हस्तान्तरण

सिद्धकालीमा लक्ष्मीनारायण मन्दिर हस्तान्तरण


चैनपुर । संखुवासभाको चैनपुर नगरपालिका वडा नं ३ मा अवस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल सिद्धकाली मन्दिर परिसरमा लक्ष्मीनारायणको मन्दिर पुननिर्माण गरी धार्मिक अनुस्ठान र पूजा विधिका साथ एक कार्यक्रमका बीच मन्दिर हस्तान्तरण गरीएको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको लक्ष्मीनारायण भगवानको मन्दिर २०६३ सालमा स्थानीय चैनपुर ६ निवासी कर्णध्वज-धनकुमारी डाँगीका छोरा चन्द्रबहादुर डाँगी र वहाँकी धर्मपत्नी तेजकुमारी डाँगीले बनाएको मन्दिरलाई वहाँका छोरा हरिराम डाँगीको लगानीमा सो मन्दिरलाई पुरातात्विक तथा साँस्कृतिक मोडलमा प्यागोडा शैलीमा पुन निर्माण गरी एक कार्यक्रमका बीच चैनपुर नगरपालिकाका नगर उपप्रमुख एलिना श्रेष्ठले उद्घाटन गरिन। उद्घाटन कार्यक्रमको अवसरमा उपप्रमुख श्रेष्ठले सतीदेबीको दाहिने आँखा पतन भएको यस पवित्र तीर्थ स्थललाई स्थानीय सरकार चैनपुर नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा लिएको बताउँदै यस मन्दिरको विकास र उन्नयनका लागि सतीदेवीको बाँया आँखा पतन भएको स्थल भारतको नैनतालसँग भगिनी सम्बन्ध कायम गरी नेपाल र भारत बीचका धार्मिक पर्यटकहरुलाई समेत यो धार्मिक पर्यटकीय गन्तव्यसम्म ल्याउन चैनपुर नगरपालिका अगाडि बढेको बताइन। कार्यक्रममा सङ्‍खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सिद्धकाली मन्दिर पूर्वकै ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यो मन्दिरको समग्र विकासमा निजी क्षेत्रका धार्मिक व्यक्तिहरुले गरेको योगदानको कदर गर्दै मन्दिरको वृहत्तर विकासमा सरकारले मन्दिरको आवश्यकताको पहिचान गरी विकासमा जुट्न सम्बन्धित पक्षलाई ध्यान दिन आग्रह गरे। कार्यक्रममा चैनपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मन्दिरको विकासमा स्थानीय सरकार हातमालो गर्न तयार रहेको बताए। दाता हरिराम डाँगीले ३० लाख माथि खर्चेर मन्दिर निर्माण गर्दै आफ्ना माता पिताले गरेको धार्मिक क्षेत्रमा पुर्‍याएको योगदानको निरन्तरता दिएको बताउँदै सिद्धकालीको मूल मन्दिर भन्दा करिब २ सय मिटर तल रहेको पाँचघरेमा सतिदेवीको दाहिने आँखा पतन भएको यस पवित्र तीर्थस्थलमा समेत भगवतीको मूर्ति र दाहिने आँखाको प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा अराधना गर्दै २ सय ९२ वर्षपछि सो ठाउँलाई समेत मन्दिरको स्वरुप दिइएको छ । मन्दिरमा सतीदेवीको दायाँ आँखा पतन भइ सिद्धकाली देवी र प्रकाशेश्वर महादेव उत्पत्न भएको स्थान पाँचघरे पुण्यभूमिमा प्रतिमा प्रतिस्थापन भएपछि तीर्थयात्रीहरुको भीड लाग्न शुरु भएको छ ।

दाताहरु चन्दबहादुर डाँगीका छोराबुहारीहरु भरत डाँगी-मीरा डाँगी, हरिराम डाँगी-राधा डाँगी, शिव डाँगी-सरस्वती डाँगी¸ बद्री डाँगी-शुशिला डाँगी परिवारबाट मन्दिर स्थापना गरी सिद्धकाली मन्दिर संरक्षण सम्बर्द्धन समितिलाई एक कार्यक्रमका बीच हालै दाता परिवारका तर्फबाट चन्द्रबहादुर डाँगीले मन्दिर हस्तान्तरण गर्दै संरक्षण र संचालनको दायित्व मन्दिर समितिको भएको बताए । नव निर्मित लक्ष्मी नारायण मन्दिरलाई पूजा विधि र संरक्षण सम्बर्द्धनका लागि दाता हरिराम डाँगीले १ लाख ११ हजार १ सय ११ रुपैँयाको अक्षयकोष स्थापना गरी मन्दिरको संरक्षण र रेखदेखमा आफूहरु समेत सदैव जुटीरहने बताउँदै मन्दिर निर्माणदाता हरिराम डाँगीले मन्दिरको बृहत्तत विकासमा आफ्नो परिवार सकेसम्म लागी परिरहने बताए। सतीदेबीको दाहिने आँखा पतन भएको यो धार्मिक तिर्थस्थल लक्ष्मीनारायणको मन्दिर, दुर्गाको मूर्ति निर्माणसंगै यसको स्थपानाले धार्मिक र पर्यटकीय दृष्टिकोणले यसको महत्व बढ्दै गएको छ । यसले सिंगो जिल्ला, कोशी प्रदेश मात्र नभएर नेपाल लगायत अन्य देशका पर्यटकहरुलाई समेत आकर्षित गर्ने गरी मन्दिरको स्वरुप फेरिदै गएको छ ।

मन्दिर प्राङ्गणमा डाँगीकै जेष्ठ सुपुत्र भरतकुमार डाँगीले दुर्गादेवीको मूर्ति स्थापना गरी धार्मिक अनुस्ठान र प्राणप्रतिष्ठा गरी मन्दिरको स्वरुप दिएका छन् । मन्दिर दताहरुबाट भएको यस सराहनीय कार्यको प्रशंसा गर्दै लक्ष्मीनारायणको मन्दिर निर्माणदाताका परिवारको तर्फबाट चन्द्रबहादुर डाँगी र तेजकुमारी डाँगीलाई विशेष सम्मान गरिएको थियो । यसैगरी डागीँका छोराबुहारीहरु हरिराम डाँगी र राधा डाँगीलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगर उपप्रमुख एलिना श्रेष्ठ सहित प्रमुख जिल्ला अधिकारी कार्की र विशिष्ट अतिथि सहित सिद्धकाली मन्दिर समितिले भव्य रुपमा मन्दिर दाता डाँगी परिवारको सम्मान गरिएको थियो । यसैगरी दुर्गाको मूर्ति प्रतिस्थापन गर्ने दाता भरतकुमार डाँगी र मीरा डाँगीलाई समेत सम्मान गरिएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा संखुवासभाका प्रहरी नायव उपरिक्षक वीरेन्द्र गोदार¸ सँस्कृति तथा पर्यटन मन्त्रीका स्वकीय सचिव बाबुराम राई¸ नेपाली कांग्रेस जिल्ला सचिव कुमारबाबु अधिकारी¸ नेकपा एस पार्टीका स्थायी कमिटी सदस्य उमेशकुमार डाँगी¸ नेकपा एमालेका पार्टी प्रतिनिधि नेत्रबहादुर डाँगी लगायत सरकारी तथा गैरसरकारी संस्था तथा प्रमुखहरुको प्रतिनिधित्व रहेको कार्यक्रमको अध्यक्षता गणेशनाथ जोगीले गरेका थिए ।