मनाइयो जनैपूर्णिमा, देवालयमा भक्तजनको घुइँचो

मनाइयो जनैपूर्णिमा, देवालयमा भक्तजनको घुइँचो


समयपथ
23
Shares

काठमाडौं । आज जनैपूर्णिमा एवं रक्षा बन्धन । देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण, पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने प्रचलन छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, ललितपुरको बंगलामुखी मन्दिर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

जनैपूर्णिमाको अवसरमा ‘कोन्तिइ महाद्यः पुखुली तयेगु’ अर्थात कुम्भेश्वर पोखरीमा महादेवलाई राख्ने चलनअनुसार ललितपुरको कुम्भेश्वरमा मेला लागेको छ ।

बुधबार राति महादेवको मूर्ति मन्दिरबाट पोखरीमा राखिएको थियो । कुम्भेश्वर मन्दिर परिसरमा रहेको गोसाईकुण्डको जल प्रवाह भइरहेको मानिने करिब ३ फिट ब्यास र ३ फिट जति नै गहिराईको यही कुण्डको पानी जमेको पोखरीको बीचमा महादेवको मूर्ति राख्ने गरिन्छ । मेला भर्न गएका भक्तजनहरु आ–आफ्नो धार्मिक मान्यता अनुसार रक्षा बन्धन बाँध्ने, जनै फेर्ने गर्दछन् ।