काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडी किन्नका लागि बैंकबाट ऋण लिने व्यवस्था सहज बनाउन माग गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले शुक्रबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी यस्तो माग गरेको हो ।
अटोमोबाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरूमा छलफल गर्न आयोजित छलफलमा नाडाका अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरण व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरूलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकको रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग गरे ।
उनले बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा ऋण प्रवाह गर्ने पक्रियामा लोन टू भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि पनि अर्थमन्त्री महतको ध्यानाकर्षण गराए ।
नाडाले सदैव समस्याको रूपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरूसँग आवश्यक सल्लाह गरी यथार्थपरक मूल्य कायम गर्न पनि अर्थमन्त्री महतको ध्यानाकर्षण गराएको छ ।
नाडाले चालु पूँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको कर्जा वर्गीकरण सम्बन्धी नयाँ व्यवस्थाले समस्या थप हुने भन्दै संशोधनका लागि पनि अर्थमन्त्रीसँग आग्रह गरेको छ ।
यस्तो व्यवस्थाले कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनु पर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरूलाई समेत असर पर्न जाने थापाको भनाइ छ ।
प्रतिक्रिया